गण्डकीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, पक्षमा जम्मा २४ मत

गण्डकीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, पक्षमा जम्मा २४ मत

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत पाउन असफल भएका छन्।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथि मतदान भएको थियो।

प्रदेश सभामा शनिबार भएको मतदानमा अधिकारीको प्रस्तावको पक्षमा केवल २४ मत पाए।

६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि न्यूनमत ३१ मत पाउनुपर्ने थियो।

मतदानमा ५९ सांसद सहभागी भएको सभामुख कृष्णप्रसाद धितालले जानकारी गराए। विपक्षमा भने ३५ मत परेको छ।

पुस २५ गते मुख्यमन्त्री नियुक्त भई त्यसै दिन सपथ लिएर कार्यभार सम्हालेका मुख्यमन्त्री अधिकारीले शनिबार दोस्रो पटक विश्वासको मत लिएका हुन्।

माओवादी केन्द्रले गत चैत १० गते सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिएका हुन्।

यसअघि मुख्यमन्त्री अधिकारीले पुस २९ मा विश्वासको मत लिएका थिए। त्यतिबेला विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्तावको पक्षमा ३१ मत खसेको थियो। विपक्षमा भने २७ मत खसेको थियो।

वैशाख ९, २०८० शनिबार १८:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।