डा. विमलको उपचार अनुभव : गोडा सुन्निएर अस्पताल आएकी गर्भवतीको ज्यान जोगाउन गर्भपतन गराउनुपर्यो
प्रा.डा. विमल पाण्डेय मिर्गौला रोग विशेषज्ञ हुन्। मिर्गौला रोगको समस्या भएका हजारौं बिरामीको उपचार गरेका उनी औषधि उपचार गर्दाका केही क्षणहरू कहिल्यै भुल्दैनन्। बिरामीसँग भएका साक्षात्कारका यस्तै केही प्रसङ्ग डा. विमलले उकेरासँग साटे।
तीन वर्षका बालकको हेमोडाइलाइसिस
प्रसङ्ग सन् २०१३ तिरको हो। लक्ष्मी पूजाको दिन थियो। चितवनको एक अस्पतालमा करिब तीन वर्षका बालकको एपेन्डिक्सको शल्यक्रिया भएको रहेछ। शल्यक्रिया सफल पनि भएछ।
तर, शल्यक्रियापछि बालकको एकाएक मिर्गौला फेल भएछ। मिर्गौलाले काम गर्न छाड्दै गएछ। मिर्गौला फेल भएपछि बालक भरतपुरबाट पाटन अस्पतालमा रिफर भएछन्। बालकलाई बुवाआमाले पाटन अस्पतालमा ल्याए।
बालकलाई अस्पताल ल्याएपछि डा. विमललाई खबर पुग्यो। त्यसपछि उनी लक्ष्मी पूजाकै दिन अस्पताल पुगे। स्वास्थ्य परीक्षणबाट मिर्गौला फेल भएको थाहा भयो।
तर, डा. विमललाई याद भएसम्म त्यो बेलासम्म नेपालमा बच्चाको हेमोडाइलाइसिस गरिँदैनथ्यो। साना बालबालिकाको मिर्गौला फेल भए डाइलाइसिस गर्न विदेश लैजानुपर्थ्यो। लैजान नसक्नेले मृत्यु कुर्नुपर्थ्यो।
बालकका बुवाआमाको आर्थिक अवस्था कमजोर भएकाले विदेश लैजानसक्ने अवस्था थिएन। कुनै उपाय भएन। पाटन अस्पतालमा उपचार नभए बालकको ज्यानै जोखिममा पर्ने देखियो।
अस्पतालमा डाइलाइसिस गरेको खण्डमा नै बालकको ज्यान बाँच्नसक्ने उनले निष्कर्ष निकाले। त्यसपछि बुवाआमाको सहमतिमा बालकको डाइलाइसिस पाटन अस्पतालमै सुरु गरे।
३÷४ पटक हेमोडाइलाइसिस गरेपछि बालकको मिर्गौलाले सामान्य रूपमा काम गर्दै जान थाल्यो। त्यसपछि डा. विमललाई पनि आश बढ्दै गयो।
करिब एक हप्ताको उपचारपछि त बालकको मिर्गौलाको समस्या नै ठिक भयो। बालकको ज्यान बाँच्यो। केही दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरेर डा. विमलको टिमले बालकलाई घर पठायो।
‘लक्ष्मी पूजाको दिन घरबाट आएर, जोखिम लिएर डाइलाइसिस गरेपछि बालकको ज्यान बाँच्यो’, उनले भने।
फलोअपमा आएकी भए गर्भ खेर जाँदैनथ्यो कि!
कोरोनाको समय थियो। धादिङकी करिब २७ वर्षकी कोरोना संक्रमित गर्भवती महिलालाई पाटन अस्पताल पुर्याइयो। उनमा श्वास फेर्न कठिन त भएको थियो नै, हातगोडा पनि सुन्निएको थियो। मिर्गौलाले काम नगर्ने अवस्थामा पुगिसकेको थियो।
‘उहाँको किड्नी सटडाउन भइसकेको रहेछ’, डा. विमलले सुनाए।
कोरोना संक्रमित भएकाले महिलालाई आइसोलेशनमा राखेर उपचार गरियो। केही दिनपछि कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो। कोरोना मुक्त भएपछि वार्डमा राखेर उपचार गरियो।
ती महिलालाई करिब ३५ दिन अस्पतालमा राखेर १६ पटक डायलाइसिस गर्नुपरेको डा. विमलले सुनाए। त्यसपछि विस्तारै महिलाको मिर्गौलाले सामान्य अवस्थामा काम गर्दै जान थाल्यो।
मिर्गौलामा भएको समस्या पहिचानका लागि डा. विमलको टिमले मिर्गौलाको बायोप्सी (परीक्षण) गर्यो। गर्भवस्थामा मिर्गौलाको बायोप्सी गर्नु जोखिम त थियो तर रोग पत्ता लगाउनुको विकल्प थिएन।
बायोप्सी रिपोर्टमा मिर्गौला रोगको समस्याको कारण देखियो। रोगको पहिचान भएपछि चिकित्सकको टिमले त्यहि अनुसारको उपचार अपनायो। समस्या ठिक हुँदै गयो।
बायोप्सीको रिपोर्ट आएपछि औषधि मिलाउनुपर्ने भएकाले फलोअपमा अस्पताल आउन सल्लाह दिँदै डा. विमलको टिमले ती महिलालाई डिस्चार्ज गर्यो।
तर, चिकित्सकले दिएको समयमा महिला फलोअपका लागि अस्पतालमा गइनछन्। महिला एकैचोटी गर्भवती भएको ३५ हप्ता पुगेपछि पेटमा बच्चा चलेन भनेर पाटन अस्पताल पुगिछन्।
अस्पताल पुगेपछि चिकित्सकको टिमले महिलाको स्वाथ्य परीक्षण गर्दा पेटभित्र बच्चाको मृत्यु भइसकेको थाहा भयो। त्यसैले चिकित्सकको टिमले गर्भको त्यो मृत बच्चा निकालिदियो।
जोखिम मोलेर डायलाइसिस गर्नुका साथै मिर्गौलाको बायोप्सी (नमुना परीक्षण) गरेर उपचार गरिएकी ती महिलाको गर्भको बच्चा बचाउन नसकेको त्यो क्षण सम्झँदा भने डा. विमलको मन खिन्न हुन्छ।
चिकित्सकले भनेको समयमा नै फलोअपका लागि अस्पताल पुगेकी भए गर्भको बच्चा पनि बचाउन सकिन्थ्यो की भन्ने डा. विमलको मनमा अझै खड्किरहन्छ।
अहिले पनि ती महिला फलोअपमा रहेको र मिर्गौलाले सामान्य रूपमा नै काम गरिरहेको डा. विमलले बताए।
‘अहिले उहाँको रोग करिब निर्मूल भइसकेको छ’, उनले सुनाए।
‘ती २७ वर्षीया बैंकरलाई बचाउन सकिएन’
केही वर्षअघि बैंकमा काम गर्ने महिलालाई बचाउन सफलता नमिलेको घटना डा. विमलको मानसपटलमा ताजै छ।
करिब २७ वर्षीया महिला रिफर भएर पाटन अस्पताल पुगेकी थिइन्। महिलाले एउटा अस्पतालमा होलबडी चेकअप गरेकी रहिछन्। होलबडी चेकअप गर्ने क्रममा जन्डिस देखिएछ।
जन्डिसको औषधि सेवन गर्न थालेको एक हप्तापछि टाउको दुख्न थालेछ। त्यसपछि पाटन अस्पतालको आकस्मिक कक्षमा पुगिन् ती महिला। परीक्षण गर्दा उच्च रक्तचापको समस्या देखियो।
भर्ना गरेर उपचार गर्न थालेपछि रक्तचापको समस्या त नियन्त्रित हुँदै गयो तर भर्ना गरेको २–३ दिनमा नै रक्तचापका कारण मिर्गौला, मुटु र श्वासप्रश्वासमा समस्या निम्तियो। १५ दिनअघि स्वास्थ्य समस्या ठिकठाक भएकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्यो।
‘२–३ दिनपछि उहाँलाई एकदमै गाह्रो भयो। प्रेसर त कन्ट्रोल भयो तर, किड्नीमा हानिसकेको थियो’, डा. विमलले सुनाए।
मिर्गौलाको थप परीक्षण गरियो। नियमित डायलाइसिस गरियो। यति गर्दागर्दै पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ती महिलालाई आइसीयूमा सारियो। तर, सुधार भएन। स्वास्थ्य अवस्था झन् जटिल बन्दै गयो।
परिवार सम्पन्न भएकाले भारतका अस्पतालमा पनि परिवारले परामर्श लिए। तर, उनलाई गरिने उपचार पद्दती भारत र नेपालमा एकै किसिममको भन्ने थाहा पाएपछि पाटन अस्पतालमै उपचार गराए।
थप उपचारकै क्रममा महिलामा निमोनियाको समस्या भयो। एन्टिबायोटिक औषधि चलाउँदा समेत ठिक भएन। उपचार थालेको करिब डेढ महिनामा उनले अस्पतालमा प्राण त्यागिन्।
अथक उपचार प्रयास गर्दासमेत बचाउन नसकेको त्यो घटना सम्झँदा डा. विमलको मन भारी हुन्छ।
आईभीएफ असफल भएकी महिला गर्भवती हुँदा...
त्यसो त करिब ६ वर्षअघि करिब ३५ वर्षकी पहिलो पटक गर्भवती भएकी महिला अस्पताल पुगेको प्रसङ्ग पनि डा. विमल कहिल्यै भुल्दैनन्।
गर्भवती भएको करिब १८ हप्तामा गोडा सुन्निएपछि स्वास्थ्य परीक्षणका लागि ती महिला पाटन अस्पताल पुगिन्। परीक्षणको क्रममा उनको मिर्गौलामा खराबी देखियो। भर्ना गरेर उपचार सुरु भयो।
उपचारका क्रममा महिलाको फोक्सोमा समेत पानी जम्यो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आमालाई बचाउनका लागि गर्भपतन गरेर बच्चालाई निकालियो।
त्यसपछि महिलाको स्वास्थ्यमा केही सुधार हुन थाल्यो। तर, गर्भपतन गरेको आठौं दिनमा महिलाको अत्याधिक पेट दुखेछ।
एमआरआई गरेर हेर्दा मिर्गौलाको बायाँतर्फको नसामा रगत समेत जाम भएको रहेछ। त्यसपछि रगत पातलो बनाउने औषधि दियो चिकित्सकको टिमले। थप स्वास्थ्य परीक्षण र उपचार गरियो।
करिब ६ महिनापछि महिलाको स्वास्थ्य समस्या ठिक भयो। स्वास्थ्य सामान्य अवस्थामा फर्कियो। एक वर्षसम्म रगत पातलो गर्ने औषधि सेवन गर्नुपरेको थियो ती महिलाले।
त्यसपछि बच्चा जन्माउनका लागि आईभीइएफ (इन भिट्रो फर्टिलाईजेशन) विधि अपनाइछन्। तर, गर्भधारण भएनछ। करिब ६ महिनापछि फेरि ती महिलाको स्वास्थ्य समस्या बल्झियो। त्यो बेला पनि डा. विमलले औषधि उपचार गरेपछि समस्या ठिक भयो।
दुई पटक रोग बल्झिसकेको हुनाले ती महिला र उनका श्रीमान्ले सन्तानको आशा मारिसकेका थिए। त्यसैले गर्भधारण गरेर रोग नबल्झाउने पक्षमा पुगेका थिए उनीहरू।
तर, अहिले तिनै महिना पुनः गर्भवती भएकी रहिछन्। ६ महिनाको गर्भ रहेछ। आईभीएफसमेत असफल भएकी महिला गर्भवती हुँदा परिवार निक्कै खुसी रहेको डा. विमलले सुनाए।
जन्म दाङमा एमबीबीएस चीनमा
दाङको घोराहीमा जन्मिएका विमल तीन कक्षादेखि काठमाडौंमा बसेर पढ्न थाले। विमलले २०५१ मा ललितपुरको लिटिलएन्जल्स स्कुलबाट एसएलसी गरे। एसएलसीपछि भारतको सितामणिस्थित किसान कलेजबाट सन् १९९७ मा आइएस्सी गरेर उनी नेपाल फर्किए।
डाक्टर पढ्ने इच्छाका कारण सन् १९९९ मा एमबीबीएस अध्ययनका लागि उनी चीन पुगे। एक वर्ष चिनियाँ भाषा अध्ययनपछि चीनको चङचउ मेडिकल कलेजमा एमबीबीएसका लागि भर्ना भएका विमलले सन् २००५ मा एमबीबीएस अध्ययन पूरा भयो अनि नेपाल फर्के।
पाटनमा जागिर, छनोटमा मिर्गौला रोग
नेपाल फर्केपछि सन् २००६ सम्म एक वर्ष विमलले पाटन अस्पतालमा इन्टर्नसीप गरे। इन्टर्नसीप सक्नासाथ उनी मेडिकल अधिकृतका रूपमा स्थायी चिकित्सकको रूपमा त्यहिँ जागिरे भए।
पाटन अस्पतालबाट नै सन् २०१० मा थप अध्ययनका लागि उनले चीन जाने मौका पाए। त्यसैले डा. विमल चीन पुगेर तालिया मेडिकल युनिभर्सिटीमा स्नातकोत्तर तहको नेफ्रोलोजी (मिर्गौला रोग) विषयमा एमडी अध्ययन गर्न थाले।
‘२०१० देखि २०१३ सम्म मलाई पाटन अस्पतालले पढ्न पठायो’, उनले भने।
मिर्गौला रोग विषयमा एमडी अध्ययन गरेपछि डा. विमल नेपाल फर्किए। पाटन अस्पतालमा नै उनको काम निरन्तर चलिरह्यो।
डा. विमल हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा सहायक प्राध्यापक तथा मिर्गौला रोग विशेषज्ञका रूपमा कार्यरत छन्। उनी पाटन अस्पतालको एक्लो मिर्गौला रोग विशेषज्ञ हुन्।
वैशाख ९, २०८० शनिबार १८:४२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।