कतारमाथि साउदी अरेबिया शानदार जित, नेपाल तालिकाको शीर्ष स्थानमै
काठमाडौं : ओपनर अब्दुल वहिदको शतकमा साउदी अरेबियाले एसीसी प्रिमियर कपमा कतारलाई ७ विकेटले पराजित गरेको छ।
साउदीले पहिलो जितका साथ सेमिफाइनल पुग्न सक्ने समीकरण कायमै राखेको छ। जितको लागि २ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
साउदी अरेबियाको जितमा ओपनर अब्दुल वहिदले १ सय ८ बलमा २१ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेले। टोलीलाई जितको लागि मात्रै दुई रन चाहिँदा खुराम शाहजादको बलमा बोल्ड भएका थिए।
साउदीलाई ओपनर अब्दुल र वाकर उल हसनले १७.५ ओभरमा १ सय १८ रनको सानदार शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थिए।
उल हसन ५५ बलमा ९ चौकासहित ५५ रनमा क्याच आउट भए। साद खान शून्यमा बोल्ड आउट भए। कप्तान हिशम शेख ३८ बलमा २ चौकासहित २१ रनमा अविजित रहे। कतारका इक्रमाउल्लाह खानले दुई विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतार ४९.५ ओभरमा २ सय १६ रनमा अल आउट भएको थियो।
कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन। ओपनर कमरान खान ३९ बलमा ७ चौकासहित ३६ रनमा आउट भए।
साउदीका तीव्र गतिका बलर अतिफ उर रहमानले ओपनर जाहिर इब्राहिमलाई एक रनमा बोल्ड आउट गरेका थिए। अतिफकै बलमा कामरन खान क्याच आउट भए।
विकेटकिपर इमाल लियांगे ३१ बलमा ६ चौकासहित ३१ रनमा आउट भए। कप्तान मोहम्मद रिजलान ३९ बलमा ४ चौकासहित २८, इक्रामउल्लाह खान १४ र आमिर फारुक ४ रनमा आउट भए।
तल्लोक्रमका खुराम शाहजाद ४३ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा आउट भए। सनदुन विथानागे १५ बलमा २ चौकासहित १४ रनमा अविजित रहे।
साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९.५ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिए।
समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन्। साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो। समूह तालिकमा नेपाल अहिले पनि ४ अंकसहित शीर्ष स्थानमा छ। साउदी भने २ अंकसहित चौथोमा।
उता दुई खेल हारेको कतार तालिकाको पुच्छारमा छ।
साउदीले तेस्रो खेल सोमबार घरेलु टोली नेपालसँग मुलपानी मैदानमा खेल्नेछ। कतार पहिलो खेलमा ओमानसँग ४० रनले पराजित भएको थियो। कतारले तेस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ।
समूह ‘बी’ मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन्। हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
वैशाख ९, २०८० शनिबार १७:१३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।