अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि समातिएनन् मिलेमतोमा राजमार्गका रुख काट्ने गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरू

अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि  समातिएनन् मिलेमतोमा राजमार्गका रुख काट्ने गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरू

बुटवल : गैरकानुनी रुपले राजमार्ग किनारका रुखहरु कटान गरेको भन्दै लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका अध्यक्ष सहित अन्य ३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको १५ दिन बढि भइसक्दा पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन्। 

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टसहित वडा नम्बर १ का अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरी, र वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

आपसी मिलेमतोमा राजमार्ग किनारका रुखहरु गैरकानुनी रुपले कटान गरेको भन्दै उनीहरुविरुद्ध दाङ जिल्ला अदालतले चैत १९ र २३ गते पक्राउ पुर्जी जारी गरेको थियो।

तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानी बुटवलबाट दाङ स्थानान्तरण हुनुअघि राप्ती गाउँपालिकाका स्थानीयलाई सरसफाइ गर्न निर्देशन दिएका थिए।

पक्राउ पुर्जी जारी भए पनि उनीहरुलाई बन कार्यालय प्रमुख राजु क्षेत्रीले बोलाएर सामान्य सोधपुछ मात्र गरेको स्रोतले बताएको छ।

त्यही समयमा गत मंसिर २० गते सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ३१/३१ मिटरभित्र रहेका संरचना हटाउन सडक डिभिजन कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो।

त्यही बेला सडक डिभिजन कार्यालयले सूचना निकालेपछि सोही सूचनाको दुरुपयोग गर्दै गाउँपालिका अध्यक्ष विष्टसहित वडा अध्यक्षहरुको संलग्नतामा स्थानियले धमाधम सडक र वनको भोगाधिकार क्षेत्रका रुखहरू काटेका थिए।

पूर्व पश्चिम राजमार्ग किनारमा रहेका सिसौ, बकाइनो, वर, पिपल गरी करिब साढे २७ सय रुख कटान भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रुख कटान बारे उजुरी परेको थियो।

सोही उजुरीपछि अनुसन्धानका क्रममा कटान गरिएका रुखहरु सबै गैरकानुनी तवरबाट काटिएको भन्दै गाउँपालिका अध्यक्षसहित अन्य ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

प्रारम्भिक अनुसन्धानमा पालिका अध्यक्ष प्रकाश विष्टसँगै वडा अध्यक्षहरु गेमबहादुर खड्का, वीरबहादुर चौधरी र देवप्रसाद चौधरीको संलग्नता देखिएपछि डिभिजन वन कार्यालय देउखुरीले उनीहरुविरुद्ध ८१ लाखको बिगो दाबीसहित मुद्दा दायर गरेको छ। 

समस्या देखिएपछि मात्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पुसको पहिलो साता डिभिजन वन कार्यालय लमहीसँग छपान र कटान अनुमति मागेको थियो।

दाङ जिल्ला अदालतले चैत १९ र २३ गते पालिका अध्यक्ष र तीनैजना वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरेको डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत छोटेलाल चौधरीले बताए।

पक्राउ पुर्जी जारी भए पनि उनीहरुलाई बन कार्यालय प्रमुख राजु क्षेत्रीले बोलाएर सामान्य सोधपुछ मात्र गरेको स्रोतले बताएको छ। गैरकानुनी काम गरेका गाउँपालिका अध्यक्ष विष्ट सहितका ३ जनालाई बन कार्यालयका प्रमुख क्षेत्रीले चैत २२ र २४ गते सोधपुछ गरी छाडेको बन कार्यालयकै कर्मचारीहरु बताउँछन्।

कार्यालय प्रमुखले सोधपुछ गरेर छाडे पनि गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको बारे केही थाहा नपाएको बताए। 

यस्तै राजधानी व्यवस्थापनका नाममा देउखुरीमा राप्ती प्राविधिक शिक्षालयले हुर्काएका सयौं रुख तत्कालीन मुख्यमन्त्री केसीकै निर्देशनमा कटान गरिएको थियो। लुम्बिनी प्रदेशको राजधानीका लागि शिक्षालयले उपलब्ध गराएको संरचनाले नपुग्ने भएपछि थप संरचना निर्माणका लागि भन्दै शिक्षालय परिसरभित्रका ३ सयभन्दा बढी रुख काटिएको थियो।

मंसिर अन्तिम साता त्यहाँ रुख कटान गरिएको थियो। त्यसपछि नव निर्वाचित सांसदहरुले सपथ ग्रहण गरेपछि प्रदेश सभा भवन अगाडि लामबद्ध रहेको रुखहरु काटिएको थियो। सुरुमा रुख कटान गर्दा जिल्ला वन कार्यालय दाङको अनुमतिबिना नै रुख काटिएपछि विरोध भएको थियो।

शिक्षालयको रुख कटान गरेको मुख्यमन्त्रीको आवास क्षेत्र नजिकै सभामुखका लागि आवास बनाउने तयारी भएको छ। त्यस्तै प्रदेश सभाको उत्तरपूर्व क्षेत्रमा सयौं आँप, खयर, सिसौ र सिमलका रुख काटिएका छन्।

समस्या देखिएपछि मात्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पुसको पहिलो साता डिभिजन वन कार्यालय लमहीसँग छपान र कटान अनुमति मागेको थियो।

तर, प्रक्रिया र अनुमतिबिना नै त्यहाँ साल, आँप, खयर, सिसौ, सिमल, जामुन, गोलमाल, मसला, सिरिसलगायत झन्डै एक दर्जन प्रजातिका रुख काटिएको हो। वन कार्यालयले भने पुस दोस्रो साता मात्र २ सय ४० रुख छपान गरी कटान अनुमति दिएको थियो।

वन कार्यालय लमहीका सहायक वन अधिकृत छोटेलाल चौधरीले मन्त्रालयले ढिलो गरी अनुमति मागेको र कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी ५ हजार २ सय २५ दशमलव ३ क्युफिट काठ र १३ हजार २ सय ८७ दशमलव १६ क्युफिट गैरकाठ कटानका लागि अनुमति दिएको बताए। शिक्षालय परिसर भित्रका रुख काटिएपछि अहिले परिसर उजाड बनेको छ।

शिक्षालयको रुख कटान गरेको मुख्यमन्त्रीको आवास क्षेत्र नजिकै सभामुखका लागि आवास बनाउने तयारी भएको छ। त्यस्तै प्रदेश सभाको उत्तरपूर्व क्षेत्रमा सयौं आँप, खयर, सिसौ र सिमलका रुख काटिएका छन्। त्यहाँ मन्त्रालयले प्रदेश सभाको सचिवालय भवन बनाउने गरी टेन्डर प्रक्रिया नै अघि बढाएको छ।

लुम्बिनीको राजधानी व्यवस्थापनका लागि प्रदेश पूर्वाधार प्राधिकरणले विस्तृत गुरुयोजना बनाएर काम गरिरहेको छ। गुरुयोजना अनुसार शिक्षालयभित्र ठूला पूर्वाधार निर्माण गर्ने नक्सा छैन। तर, त्यहाँका रुख धमाधम कटान गर्दै त्यही नै संरचना निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।

रुख कटानको विषयमा प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले परिसरभित्रका सबै रुख प्रक्रिया पूरा गरेर मात्र कटान भएको बताए। परिसरका २ सय ४० रुखको डिभिजन वन कार्यालयले छपान गरेको र अहिले त्यति नै कटान भएको उनको दाबी छ।

वैशाख ९, २०८० शनिबार ०८:५३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।