२० वर्षपछि भेरी किनारमा आधुनिक शहर बनाउने उपप्रधानमन्त्री खड्काको प्रतिबद्धता
सुर्खेत : उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २० वर्षपछि भेरी किनारमा आधुनिक शहर निर्माण गरेर नयाँ पुस्तालाई सुम्पने बताएका छन्।
शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिकामा भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर परियोजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ पुस्तालाई भेरी नदी किनारमा सुन्दर बस्ती बसाएर नासोका रूपमा हस्तान्तरण गर्ने बताए।
उनले स्थानीय नागरिकहरूसँग छलफलपछि मन्त्रिपरिषद्ले गुरूयोजनालाई कानुनको रूप दिने बताए।
सरकारले आर्थिक वर्ष ०६८÷०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक शहर निर्माणको घोषणा गरे पनि झण्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको हो।
रक्षा एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका खड्काले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माणको काम अघि बढिरहेको बताए। उनले गुरूयोजना अनुसार तीन तहका सरकारले भेरीगंगा उपत्यकामा आधुनिक शहर बनाइने बताए।
उनले नयाँ शहरमा सबै किसिमका सुविधा नागरिकहरूलाई उपलब्ध गराइने बताए।
‘मानिसको जीवनमा सबै खालका सुविधा र अवसरहरू यो शहरबाट उपलब्ध गराउने उद्देश्य हामीले लिएका छौं,’ उनले भने, ‘देशका अन्य क्षेत्रले भेरी किनारको नयाँ शहरबाट सिक्ने र आफ्नो क्षेत्रमा लागू गर्न सक्ने बनाउँछौं।’
उनले स्थानीय तहलाई गुरूयोजना अनुसार काम गर्न निर्देशन दिए।
‘विकास निर्माणका कामहरू गर्दा कम्तिमा एक सय वर्षलाई सोचेर स्थानीय तहहरूले काम गर्न जरूरी छ,’ उनले भने, ‘अहिले स्थानीय तहले गरेका विकास–निर्माणका कामहरू दीर्घकालीन छैनन्।’
उनले भेरी किनारमा निर्माण हुन लागेको नमूनाको आधुनिक शहरका लागि बजेटको अभाव नहुने बताए।
‘आधुनिक शहरका लागि स्वदेशी मात्रै होइन्, विदेशबाट पनि स्रोत जुटाउँछौं,’ उनले भने, ‘बजेट अभावका कारण आधुनिक शहर निर्माणको काम रोकिदैन् ।’
भौतिक पूर्वाधार शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माण अन्तिम चरणमा रहेको बताए। उनले २१०० सालभित्रमा आधुनिक शहर निर्माणका कामहरू सम्पन्न हुने बताए।
वैशाख ८, २०८० शुक्रबार २१:३५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।