बुटवलका विद्यालयले ऐन विपरीत शुल्क उठाएपछि अनेरास्ववियुको ज्ञापनपत्र

बुटवलका विद्यालयले ऐन विपरीत शुल्क उठाएपछि अनेरास्ववियुको ज्ञापनपत्र

बुटवल : शिक्षा निर्देशिका ऐन विपरीत संस्थागत तथा सामुदायिक विद्यालयले शुल्क उठाएको भन्दै एमालेनिकट अनेरास्ववियु रुपन्देहीले बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ।

रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयहरूले चर्को मूल्य उठाएर विद्यार्थी भर्ना गरेको भन्दै अनेरास्ववियुले तत्काल छानबिन गरि कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेर उपमहानगरको शिक्षा तथा जनस्वास्थ्य महासाखा प्रमुख मित्रमणि खनालाई ज्ञापन पत्र बुझाएको हो।

शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ ले संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड  निर्देशिका २०७२ तथा संस्थागत विद्यालयको मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को प्रावधान विपरीत मनोमानी ढङ्गले चर्को शुल्क असुल्ने, तोकिएको पसलमा सामान किन्न पठाउनु अराजक गतिबिधी भएको पत्रमा भनिएको छ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष शेषकान्त पोखरेलले विद्यालयहरूले प्रवेश परीक्षाको नाममा चर्को मूल्य लिएको, विद्यालयमा वर्षैपिच्छे भर्ना शुल्क लिने गरेको भन्दै अविलम्ब रोक्न माग गरे।

साथै उनले साुदायिक विद्यालयमा विद्यार्थीलाई सहज रूपमा भर्ना गरि अध्ययन अध्यापन गराउने वातावरण मिलाउनसमेत आग्रह गरे।

शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले संस्थागत तथा सामुदायिक विद्यालयले नगरपालिकाले तोकेको मापदण्ड विपरीत चर्को मूल्य लिएको भेटिए तत्काल कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

वैशाख ८, २०८० शुक्रबार १९:४७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।