ओमानमाथि नेपालकाे शानदार जित : कुशल र सन्दीपको कीर्तिमान

ओमानमाथि नेपालकाे शानदार जित : कुशल र सन्दीपको कीर्तिमान

काठमाडौं : अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसीसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको जित हात पारेको छ।

३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा समेटिएसँगै नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको हो।

घाइते हुँदा अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए। अकिब ओमानका प्रमुख ब्याटर हुन्। उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन्।

तर चोटका कारण उनी सुरुवात देखिनै ब्याटिङमा आएका थिएनन्। पछि क्रिजमा नआई उनी रिटायर्ट आउट भएपछि नेपाल विजयी भयो।

ओमानका लागि मोहम्मद नदीमले ६५, सन्दीप गौडले ४६, आयान खानले २९, कश्यप प्रजापतिले २५, फयाज बटले १९, जतिन्दर सिंहले १५ र अदिल सफीकले १३ रन लिए।

नेपालका सन्दीप लामिछाने र करण केसीले समान तीन–तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए।

यो तीन विकेटसँगै लामिछानेले कम खेलमा १ सय ओडिआई विकेट लिने अफगानिस्तानका रशिद खानको कीर्तिमान तोडेका छन्। खानले ४४ बलमा १ सय रन पूरा गर्दा लामिछानेले ४२ बलमा सय विकेट लिएका हुन्।

त्यसअघि टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो। अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १०८ रन जोडे। यति कम बलमा एकदिवसीय शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनको यो पहिलो शतक हो।

सोमपाल कामीले अविजित रहँदै ६८ रनको अर्धशतकीय पारी खेल्दा करण केसीले पनि उनलाई अन्तिम बलसम्म २९ रन बनाएर साथ दिए।

यस्तै, भीम सार्की ३३, आरिफ शेख २९ र कप्तान रोहित पौडेल २३ रन बनाउँदा सन्दीप लामिछानेले ८, दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए। ओपनर कुशल मल्ल र अशिफ शेख ० रनमै आउट भए।

ओमानका आयान खानले दुई तथा जतिन्दर सिंह, अकिल इलयास, फयाज बट, जीसान मकसुद, कलीमुल्लाह र बिलाल खानले समान एक–एक विकेट लिए।

जितसँगै नेपाल समूह ए को शीर्षस्थानमा कायमै रहँदा ओमान पनि तेस्रो स्थानमा यथावत नै छ।

समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन्। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ।

समूह ‘बी’ मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन्। हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन्।

वैशाख ८, २०८० शुक्रबार १७:२५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।