समलिङ्गी निरञ्जनको प्रश्न : केटाकेटीको सम्बन्धबारे नसोध्ने समाजले गे को यौन सम्बन्धबारे किन सोध्छ?
काठमाडौं : सर्वोच्च अदालतले २०६४ मा समलिङ्गी विवाह सम्बन्धी कानून बनाउन सरकारलाई आदेश नदिएको भए निरञ्जन कुँवर नेपाल फर्कन्थेकी फर्किदैनथेँ यसै भन्न सकिन्न।
२०५५ मा अध्ययनको लागि अमेरिका गएका कुँवरले ८ वर्ष अमेरिकी विद्यालय तहमा पढाए। अमेरिकामा बालबालिकालाई सिकाउने तरिका देखेर हौसिएका कुँवरलाई नेपालका विद्यालय तहमा पनि अमेरिकी तरिकाले सिकाउन पाए केही सहयोग हुन्थ्यो की भन्ने लागिरह्यो।
नेपाल फर्केर शिक्षा क्षेत्रमा आफूले सकेको काम गर्ने हुटहुटी यसरी जाग्यो की २०७२ मा उनी नेपाल फर्किए।
मैले नेपाली साहित्य खासै पढेको छैन। सानैबाट अंग्रेजी भाषा सहज हुँदै गयो।अंग्रेजी साहित्य पढ्दा त्यहाँ समलिङ्गी पात्रबारे पनि हुन्थ्यो। त्यो देख्दा म अति खुसी हुन्थेँ।
नेपाल फर्कनुको कारणबारे केही हप्ताअघि कुराकानी गर्दा कुँवरले भनेका थिए, ‘केही देशमा क्वेर समुदायकालाई सरकारले मारिदिन्छ। नेपालमा त कानून बलियो नै छ भनेर नेपाल फर्किन आँट आयो। म गे भएकै कारणले सरकार मार्न त आउदैन नि भन्ने लाग्यो।’
कानून ठिक भए पनि समाज त पुरातन नै छ। कानून परिर्वतन हुँदैमा सबै परिर्वतन किन हुन्थ्यो र?
‘नेपाल फर्किए बिट्वीन क्वीन एण्ड द सिटिज’ पुस्तक लेखेर उनले आफू गे भएको सार्वजनिक गरे। सार्वजनिक हुँदा सहज भने भएन। लामो समय उनी एन्जाइटीमा गए।
तर परिवारका अन्य सदस्यले सहजै स्वीकारे। बुबासँग अझै कुराकानी जारी छ।
साहित्य पढ्दा समलिङ्गी पात्रको खोजी
१८ वर्षको हुँदा उनले आफू पुरुष समलिङ्गी (गे) रहेछु भन्ने थाहा पाए। सन् १९९९ मा अमेरिका जानुअघि नै उनले आफैँलाई चिने। काठमाडौंको बानेश्वरमा जन्मिएका उनले बुढानिलकण्ठ स्कुलमा पढे। उच्च शिक्षा हासिल गर्न अमेरिका जाने अवसर मिल्यो।
तर खुला समाज मानिने अमेरिकामा पनि उनलाई खुल्न असहज भएन। नेपाली साथीले बुझ्ने हो की होइन भन्ने डर थियो उनमा। धेरै समय लगाएर उनले भने।
सानैदेखि पुस्तक पढ्ने बानी भएका उनले अंग्रेजी साहित्य धेरै पढे। ती पुस्तकमा समलिङ्गी पात्रबारे पनि लेखिएको हुन्थ्यो। उनी खुसी हुन्थे।
‘मैले नेपाली साहित्य खासै पढेको छैन। सानैबाट अंग्रेजी भाषा सहज हुँदै गयो,’ उनले भने, ‘अंग्रेजी साहित्य पढ्दा त्यहाँ समलिङ्गी पात्रबारे पनि हुन्थ्यो। त्यो देख्दा म अति खुसी हुन्थेँ।’
उनलाई समलिङ्गी पात्रबारे पढ्दा आफूबारे पनि साहित्य उल्लेख भएको देख्दा अपनत्व महसुस हुने रहेछ। विज्ञान पढ्नुपर्छ भन्ने पारिवारिक मान्यता भए पनि उनले मानविकी रोजे। अमेरिका गएर पढाउने पेशामा लागे।
न्यूयोर्कमा ८ वर्ष पढाउँदा उनले पढ्ने शैलीमा धेरै फरकपन पाए। मान्छेको मन न हो, आफूले त्यही कुरा सिकाउँदा कसरी सिकेको थिएँ अनि उता कसरी सिकाइरहेको छु भन्ने तुलना गर्न मन लाग्थ्यो उनलाई।
नेपालको विद्यालय तहको पढाइमा कसरी पढाइ हुन्छ अनुगमन नै छैन। उनीहरूले के-के सिके भन्नेमा कसैको ध्यान गएको देखिँदैन।
विद्यार्थी मूल्याङ्कन तरिका देखेर चकित परेछन् उनी। नेपालमा मुल्याङ्कन गर्दा नम्बरमा ध्यान दिने, उता अमेरिकामा सिकाइमा।
सानो कक्षामा पढ्ने विद्यार्थीले पनि उनीहरूको उमेर समूह अनुसारको पुस्तक पढ्ने, त्यसको समीक्षा गर्ने गर्थे। उमेर समूहअनुसार कुरा जोडिएको हुन्थ्यो पुस्तकहरूमा। जसले साना बालबालिकाले पनि अपनत्व महसुस गर्छन् पुस्तकमा।
उनी अमेरिकामा पढ्ने अनि पढाउने काममै व्यस्त भए।
नेपाली चलचित्रमा केही लैङ्गिक अल्पसंख्यकलाई देखाइए पनि हियाउने गरी देखाइन्थ्यो। समलिङ्गी अनि तेस्रोलिङ्गीबारे आम जनमानसमा जानकारी नै थिएन।
अमेरिकामा खुला नै थियो। विद्यालय तहमा प्राथामिक तहकोलाई प्रजनन स्वास्थ्यबारे सिक्नेबेला भएपछि लैङ्गिकताबारे समेत सिकाइन्थ्यो।
निरञ्जनलाई परिवारबारे प्राथमिक तहमा सिकाउने तरिका भने रोचक लागेछ। अमेरिकामा आमा अथवा बाबुको सम्बन्ध विच्छेद र अन्यसँगको सम्बन्ध सामान्य नै हो। विविध किसिमको परिवार भनेर पढाइन्थ्यो। अमेरिकी संस्कार अनुसारको परिवारबारे जानकारी दिइएको हुन्थ्यो।
अमेरिकामा जिन्दगी ठीकठाकै चले पनि उनलाई नेपाल आउने हुटहुटीले छाडेन। उनी घर आए। परिवारको आस न हो। छोरा आओस् कुनै महिलासँग विवाह गरोस् अनि परिवार बसाओस् भन्ने सोचिनै हाल्छन्।
तर उनी महिलासँग विवाह गर्ने सोच्न पनि सक्दैनथेँ। उनले यो कुरा परिवारलाई भने। अन्य सदस्यले सहजै स्वीकारे पनि उनको लैङ्गिकताबारे।
निरञ्जनलाई नेपाली समाजको एउटा बानी फिटिक्कै मन नपर्ने रहेछ। थाहा भइभइ ‘किन हो छोरोले विवाह नगरेको भनेर सोध्ने। अनि अनौठो प्राणी आए जसरी हेर्ने।’
यो देखेर उनी हैरान हुँदा रहेछन्। त्यसैले उनी जमघटमा भन्दा पुस्तकमै हराउन मन पराउँछन्।
लैंङ्गिकतामा खुल्दै नेपाल
२३ वर्षअघि ब्लु डाइमण्ड सोसाइटी खुल्यो। अमेरिकामै खबर सुने निरञ्जनले। उनलाई अब ‘एलजीविटिआइक्यू’ समुदाय खुल्छ नेपालमा भन्ने लाग्यो।
ब्लु डाइमण्ड सोसाइटीका संस्थापक अध्यक्ष सुनिलबाबु पन्त लगायतकाहरू रिटमा सर्वोच्चले समलिङ्गी विवाहलाई मान्यता दिन आवश्यक कानून बनाउन समीति गठन गर्न आदेश दियो अनि समितिको प्रतिवेदन अनुसार काम गर्न भन्यो। यो निरञ्जनको लागि खुसीको कुरा भयो।
पत्रपत्रिका तथा मिडिया हाउसले एलजीबिटिआइक्यू समुदायलाई सदाशयता राखेर कसरी लैङ्गिकताबारे थाहा भयो भन्नेबाहेक माथि उठेर उनीहरूको इस्यू उठाएको देखिँदैन। मिडियाले यो इस्यू किन देख्दैनन् छक्क पर्छु म।
नेपाल फर्केपछि कामै पाउँदिन कि भन्ने डरकाबीच नेपाल फर्केका निरञ्जनले किताब लेखे। अहिले विभिन्न पुस्तकको अनुवाद गरिरहेका छन्। उनले प्राथमिक तहमा पढाउने तरिकाबारे तालिम पनि दिइरहेका हुन्छन्।
नेपालमा कक्षा सातको पुस्तकमा मात्रै ‘एलजिबिटिआइक्यू’ बारे खुलेर लेखिएको। कक्षा आठमा त झन् यौनिकता अनि लैङ्गिकताबारे थप विस्तृत हुनुपर्ने हो नि! तर छैन। यसले विद्यार्थी अन्योलमा पर्छन्।
नेपालमा कतिपय विद्यालयमा यौन शिक्षाबारे गतिलो पढाइ नै हुँदैन। त्यसमा लैङ्गिकताबारे कसरी पढाई होला!
‘नेपालको विद्यालय तहको पढाइमा कसरी पढाइ हुन्छ अनुगमन नै छैन। उनीहरूले के-के सिके भन्नेमा कसैको ध्यान गएको देखिँदैन,’ कुँवर भन्छन्, ‘शहरका केही विद्यालयमा सिकाइ उपलब्धीबारे छलफल भए पनि सामुदायिक र अन्य निजी विद्यालयमा छलफल भएको देखिँदैन। यो सुधार हुन जरुरी छ।’
दक्षिण एसियामा नै नेपाल उदार भए पनि कानून नबनेको र लैंगिकताबारे शिक्षामा समावेश विषय अपूर्ण भएकाले लैंगिक अल्पसंख्यक समुदायको लागि धेरै काम गर्न बाँकी रहेको उनको बुझाई छ।
सामाजिक बुझाइमा ग्याप
पाठ्यक्रममा बल्ल सुरूवात भएको छ लैङ्गिक अल्पसंख्यककाबारे। कानून बनाउन सरकारले अटेर गरिरहेको छ। तर समाजमा समलिङ्गी अनि तेस्रोलिङ्गीहरू खुल्ने, आपसी सहमतिमा विवाह गरेर बस्नेसम्मका कामहरू भइरहेका छन्।
सर्वोच्चको आदेशलाई नमान्ने सरकार र यौनिक लैङ्गिक अल्पसंख्यकहरूप्रति सकारात्मक नै भए पनि इस्यू उठान नगर्ने मिडियाप्रति भने गुनासो छ निरञ्जनको।
‘थोरै नै भए पनि अनुसन्धान केन्द्रहरू छन् तर लैङ्गिक अल्पसंख्यकहरूको सम्पूर्ण पाटो उधिन्ने गरी अनुसन्धानै भएको छैन,’ उनी भन्छन्, ‘पत्रपत्रिका तथा मिडिया हाउसले एलजीबिटिआइक्यू समुदायलाई सदाशयता राखेर कसरी लैङ्गिकताबारे थाहा भयो भन्नेबाहेक माथि उठेर उनीहरूको इस्यू उठाएको देखिँदैन। मिडियाले यो इस्यू किन देख्दैनन् छक्क पर्छु म।’
कोही केटा र केटीको सम्बन्धलाई कसरी सम्बन्ध राख्नुहुन्छ भनेर सोधिन्छ र? यो त सिधै ह्युमिलेशन भएन र? प्राकृतिक कुरालाई ठूलो बनाउने काम भइरहेको छ।
समलिङ्गी (समानलिङ्गीप्रति आर्कषित), तेस्रोलिङ्गी (जैविक रूपमा महिला भए पनि आफूलाई पुरुष ठान्ने र जैविक रूपमा पुरुष भए पनि आफूलाई महिला ठान्ने समूह) अन्तर्लिङ्गी (एकै व्यक्तिमा महिला पुरुष-दुबैको लिङ्ग हुने) यस समूदाय भएकै आधारमा घरपरिवारबाट निकाला हुनुपरेको घटना सार्वजनिक भइरहन्छन्।
शिक्षा तथा स्वास्थ्यबाट बञ्चित हुनुपरेको, सम्पत्तिबाट बेदखल गराइएको विषयहरू टन्नै छन्। तर यस्ता विषय मिडियाले उठाउन कन्जुस्याइँ गरिरहेको निरञ्जनको गुनासो छ।
त्यस्तै यो समुदायको मान्छेलाई धेरैले यौनका लागि मात्रै त हो भनेर गलत अर्थ लगाउने गरेको बताउँछन् उनी। सेक्स मानव समुदायका जुनसुकै लैङ्गिक पहिचान भएकाहरूबीच भए पनि बढि आरोप भने लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै पाएको उनको बुझाइ छ।
‘जसरी केटा र केटीबीचको यौनसम्बन्धलाई सहजताका साथ लिइन्छ, त्यसरी नै कुनै व्यक्ति-व्यक्तिबीच हुने यौन सम्बन्धलाई प्रश्न गरिरहनु नपर्ने हो,’ उनले भने, ‘यहाँ त कसैले म गे अथवा लेस्बियन भन्यो भने अरु त ठीक छ सम्बन्ध चाहिँ कसरी राख्नुहुन्छ भनेर सोधिन्छ।’
निरञ्जनको प्रश्न छ- ‘कोही केटा र केटीको सम्बन्धलाई कसरी सम्बन्ध राख्नुहुन्छ भनेर सोधिन्छ र? यो त सिधै ह्युमिलेशन भएन र? प्राकृतिक कुरालाई ठूलो बनाउने काम भइरहेको छ।’
केही बौद्धिकले लैङ्गिक अल्पसंख्यक समुदायलाई अझै पनि मेन्टल इलनेस हो कि भनेर शंका गर्ने गरेको उनको अनुभव छ। समाज पितृसत्तात्मक भएकाले अन्य लैङ्गिकता नस्वीकारिएको बताउँछन् उनी। सेक्स मेल-फिमेल होला तर लैङ्गिकता त धेरै प्रकारका हुन्छन् भनेर बुझाउनै सकस भएको उनको आँकलन छ।
( यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको समस्याबारे नियमित सामाग्री प्रकाशित गर्न उकेराले मध्यम धार कोलम सुरु गरेको छ। यो कोलम हरेक शुक्रवार प्रकाशित हुनेछ।)
मध्यमधारका सामाग्री
वैशाख ८, २०८० शुक्रबार १७:०३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।