एकै दिन तीन फिल्म रिलिज गर्ने नेपाली निर्माताले सलमानको फिल्मसँग डराएर कुनै फिल्म रिलिज गरेनन्
काठमाडौँ : वैशाखको पहिला साता हलमा एकै पटक तीन नेपाली फिल्म प्रदर्शनमा आए। अनि तेस्रो साता दुई फिल्म एक आपसमा जुध्दैछन्। तर वैशाख दोस्रो साता हलमा कुनै नयाँ फिल्म रिलिज भएन। कारण सलमान खान अभिनीत ‘किसीका भाइ किसीकी जान’ फिल्म।
इदको अवसर पारेर रिलिज भएको सलमानको फिल्म भारतमा मात्रै ४ हजार ५ सय बढी स्क्रिनमा रिलिज भयो। फिल्म नेपालसहित एक सय बढी देशमा एकै पटक रिलिज भयो।
सलमानले प्रायः इदको अवसरमा आफ्ना फिल्म रिलिज गर्ने गर्छन्। तर केही फिल्मले बक्स अफिसमा खासै चमत्कार गर्न सकेनन्। त्यो रेकर्ड यो फिल्मले ब्रेक गर्ने आस निर्माण पक्षमा देखिन्छ।
फरहाद सामजीले निर्देशन रहेको फिल्ममा सलमानसँगै दग्गुबती वेंकटेश, पूजा हेगडे, जगपति बाबु ,शहनाज गिल, पलक तिवारी, सिद्धार्थ निगम, विनाली भटनागर, राघव जुयाल र जस्सी गिलको अभिनय छ।
नेपालमा यो फिल्म मनोज राठीको समूहले ल्याएको हो। दाबीअनुसार गोपीकृष्ण समूहसहित रहेका उनीहरूले यो फिल्म एक करोड ५० लाखमा ल्याएका छन्। तर दाबी गरिएको रकमभन्दा सक्कली रकम बढी नै हुनसक्छ।
नेपालमा आज शुक्रवार हलिउड फिल्म ‘ईभिल डेथ राइज’ समेत रिलिज भएको छ। ली क्रोनिनको निर्देशन रहेको यो फिल्म हरर जनरामा बनेको हो। फिल्ममा एलिसा सदरल्याण्ड, लिली सुलिवान, नेल फिशर र मोर्गन डेभिसको मुख्य भूमिका छ।
शुक्रवार नयाँ नेपाली फिल्म भने रिलिज भएन। नयाँ नेपाली फिल्म रिलिज नहुँदा ‘जारी’लाई फाइदा भएको देखिन्छ।
वैशाख ८, २०८० शुक्रबार १४:०९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।