५० औं एकदिवसीय खेल सुखद बनाउने नेपालको लक्ष्य, भिडन्त ओमानसँग
काठमाडौं : नेपालले आज एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा प्रतियोगिताको बलियो मध्येको एक टिम ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
यो खेल नेपालको ५० औं एकदिवसीय (ओडीआई) खेल हो। सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट एकदिवसीय मान्यता पाएको नेपालले आज ५० औं एकदिवसीय खेल खेल्न लागेको हो।
नेपाल र ओमान दुवै यो प्रतियोगिताको उपाधिका प्रबल दाबेदार टिम हुन्। त्यसैले पनि बिहान ९ बजे टियु क्रिकेट मैदानमा हुने यस समूह चरणको खेललाई समेत निकै महत्वका साथ हेरिएको छ।
यी दुवै टिमले पहिलो खेलमा जित निकालेका थिए। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले कतारलाई ४० रनले पराजित गरेको थियो।
यस समूह ए मा नेपाल र ओमानसँगै कतार, मलेसिया र साउदी अरब रहेका छन्। आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ।
नेपाल र ओमानबीच हालसम्म ६ एकदिवसीय खेल भएकोमा नेपाल २ खेल मात्र जितेको रेकर्ड छ।
सन् २०१८ मा नेदरल्यान्ड्ससँग पहिलो एकदिवसीय खेल खेलेको नेपाल यस ५० औं खेललाई जितका साथ सुखद बनाउन चाहन्छ। हालसम्म ४९ एकदिवसीय खेलमा नेपालले २६ खेल जितेको छ।
एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ। जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
यस प्रतियोगितामा १० टिम सहभागी छन्। यी १० टिमलाई दुई समूहमा बाँडिएको छ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।
जसअनुसार समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह बी मा भने यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
खेलहरू कीर्तिपुर स्थित टियु मैदान र मूलपानीमा भइरहेको छ।
वैशाख ८, २०८० शुक्रबार ०८:१५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।