कर्णालीका चार मन्त्रीले लिए बुधबार रोकिएको शपथ

कर्णालीका चार मन्त्रीले लिए बुधबार रोकिएको शपथ

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख तिलक परियारले कांग्रेसका तीन र माओवादीका एक मन्त्रीले बिहीबार शपथ ग्रहण गराएका हुन्।

कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेलले सामाजिक विकासमन्त्री, जाजरकाेटका पार्टी सभापति बेदराज सिंहले आर्थिक मामिला तथा योजना मन्त्री, दैलेखका पूर्व पार्टी सभापति कृष्णकुमार बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र माओवादीबाट डाेल्पाकी जलस्रोत तथा उर्जा विकास मन्त्री ऊर्मिला विश्वकर्माले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्।

विश्वकर्मा यसअघि भाैतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन्। माओवादी र कांग्रेसबीच जलस्रोत र उर्जा विकासलाई छुट्टै मन्त्रालय बनाउने सहमति भएपछि उनले मन्त्रीकाे शपथ लिएकी हुन्।

नेपाली कांग्रेस कर्णाली प्रदेश सभामा सिनियर नेतालाई ‘बाइपास’ गरी अन्य नेतालाई सिफारिस गरेकाे भन्दै असन्तुष्ट सांसदले केन्द्रमा गुनासाे गरेपछि बुधबार हुने भनिएकाे शपथ राेकिएकाे थियाे।

वैशाख ७, २०८० बिहीबार १३:२६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।