यमनमा ९ डलरको दान लिन भागदौड मच्चिँदा ७८ जनाको मृत्यु

यमनमा ९ डलरको दान लिन भागदौड मच्चिँदा ७८ जनाको मृत्यु

एजेन्सी : यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रमजानका लागि वितरण भइरहेको दान लिने क्रममा भाडदौड मच्चिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ।

सहरको बाब–अल–यमन क्षेत्रमा भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा मानिसहरू आतंकित भएर भागिरहेको देखिन्छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार सयौं मानिस विद्यालयमा दान संकलन गर्न भेला भएका थिए। यहाँ प्रतिव्यक्ति करिब ९ डलर (करिब ११ सय ७० रूपैयाँ) रकम दिइँदै आएको थियो।

चन्दा दिनेलाई हिरासतमा लिई अनुसन्धान भइरहेको त्यहाँका गृहमन्त्रीले जानकारी गराएका छन्।

सन् २०१५ मा देशको सरकार अपदस्थ भएदेखि नै यो शहर हुथी विद्रोहीको नियन्त्रणमा छ। यमनमा सन् २०१५ देखि युद्ध चलिरहेको छ।

यो वर्ष हुथी विद्रोहीले सरकारलाई धपाएर देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका थिए।

वैशाख ७, २०८० बिहीबार ०७:४५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।