आईपीएल : राजस्थानलाई लखनऊले १० रनले हरायो तर उछिन्न भने सकेन

आईपीएल : राजस्थानलाई लखनऊले १० रनले हरायो तर उछिन्न भने सकेन

एजेन्सी : इन्डियन प्रमियर लगि (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चौथो जित निकालेको छ।

बुधबार राति राजस्थानको जयपुरमा भएको रोमाञ्चक खेलमा लखनऊले घरेलु टोली राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकालेको हो।

पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो।

१५५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो।

राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४४ रन बनाए। जोस बट्लरले ४० तथा देवदत्त पाडिक्कलले २६ र रियान परागले १५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

राजस्थानविरुद्ध लखनऊका आभेस खानले ३ तथा मार्कस स्टोनिसले २ विकेट लिए। 

लखनऊले १५४ रन बनाउने क्रममा कायल मेयर्सले सर्वाधिक ५१ रन बनाए। अर्धशतकीय पारी खेल्ने क्रममा उनले ३ छक्का र ४ चौका प्रहार गरे।

कप्तान केएल राहुलले ३९ रन बनाए भने निकोलस पूरनले २९ र मार्कस स्टोनिसले २१ रन बनाए।

लखनऊविरुद्ध राजस्थानका रभिचन्द्रन आश्विनले २ तथा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र जासोन होल्डरले समान १–१ विकेट लिए।

लखनऊसँग हारे पनि ६ खेलमा चारमा जितसहित ८ अंक जोडेको राजस्थान रन रेटका आधारमा अंक तालिकाको शीर्ष स्थानमा कायमै छ।

६ खेलमा ४ जित निकालेर समान ८ अंक बटुलेको लखनऊ दोस्रो स्थानमा छ।

वैशाख ७, २०८० बिहीबार ०७:२६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।