ब्याच नम्बर ६९ : ४० लाखमा तीन सय वर्ष पुरानो आकाश भैरवको मूर्ति किन्दा
पछिल्लो समय नेपालका मन्दिरहरूमा रहेको धार्मिक अनि पूरातात्विक महत्वका मूर्तिहरू हराएको सूचनाहरू बढेका छन्। स्तुपा नै फोडेर मूर्ति चोरी भएका समाचार हालसालै आएको थियो। सँगै विदेशका म्युजियम अनि व्यक्तिगत संकलनमा रहेका नेपालमा मूर्तिहरू पनि सामाजिक सञ्जालहरूबाट सार्वजनिक भइरहेका छन् नै।
पछिल्लो समय त नेपालबाट चोरी भएर विदेशका म्युजियममा पुगेका मूर्तिहरू नेपाल पनि फर्किएका छन्। तर, अहिलेसम्म नेपालका यस्ता मूर्तिहरू चोरीमा कुन तहका व्यक्तिहरू संलग्न छन् भन्ने खुल्न सकेको छैन। हिजो दरबार सक्रिय रहँदा दरबारका सदस्यहरूको नाम सार्वजनिक छलफलको विषय हुने गरेको थियो। तर, अनुसन्धानले पुष्टि गरेको पनि होइन। त्यो बेलामा दरबारमा शक्तिशाली सदस्यहरूबारे अनुसन्धान गर्नसक्ने अवस्था पनि थिएन।
मूर्ति किन्ने व्यक्ति बनेको हाम्रो मान्छे गएपछि उनीहरूसँग बार्गेनिङ शुरू भयो। ४० लाखमा किन्ने डिल भएपछि उनीहरूले मूर्ति ल्याए अनि पक्रेर कार्यालयमा ल्याइयो।
तर सबै मूर्ति चोरीमा संगठित समूह अनि यसको महत्वबारे जानकारहरू नै संलग्न हुन्छन् भन्ने पनि नहुने रहेछ। मूर्ति महंगोमा बिक्री हुन्छ भन्ने सुनेको भरमा सामान्य चोरहरूले पनि मूर्ति चोरी गर्दा रहेछन्। तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखामा काम गर्दा एउटा यस्तै घटनाको अनुसन्धान गर्नु परेको थियो। आज त्यही लेख्न मन लाग्यो।
प्रहरीमा अनेक जिम्मेवारी तोकिएका कार्यालयहरू रहे पनि अपराध अनुसन्धानको जिम्मेवारी तोकिएका अनि नतोकिएका कार्यालयहरूमा पनि एकै कामको डुप्लिकेशन हुने रोग पुरानै हो। म प्रहरी संगठनमा हुँदा पनि यो रोग थियो। अहिले पनि छ।
जस्तो उपत्यकाको अपराधको अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय छ। यसले अपराधको अनुसन्धान गर्छ अनि गर्नु पनि पर्छ। योसँगै केन्द्रीय तहमा लागुऔषध हेर्न लागुऔषध ब्यूरो छ। आतंकवाद अनि अन्तर्देशीय अपराध हेर्न विशेष ब्यूरो छ। संगठित अपराध हेर्न केन्द्रीय अनुसन्धान ब्यूरो छ। अहिले त मानव वेचविखन हेर्ने ब्यूरोसँगै साइबर क्राइम हेर्ने ब्यूरो समेत बनिसक्यो।
स्थानीय क्षेत्र अनुसारको अपराधको अनुसन्धान पनि हुनुपर्छ। तर अपराधको प्रकृतिअनुसार कुन घटनाको अनुसन्धान कसले गर्ने भन्ने निश्चित हुनैपर्छ। जस्तो चोरी भनौँ। कुन प्रकृतिको अनि कति तह सम्मको चोरी घटना कसले हेर्ने?
सामान्य घटनाको भए जिल्लाले नै हेर्नसक्छ। अलि संगठित प्रकारको हो भने उपत्यका प्रहरी कार्यालय जस्ता अलि विशिष्टिकृत गरिएका युनिटले हेर्नसक्छ। त्यसमा ठूलै गिरोह छ अनि अन्तरराज्य तथा अन्तर्राष्ट्रिय संगठित प्रकृतिको छ भने सीआईबीले हेर्नुपर्छ।
अब सबै प्रकृतिको घटनाको अनुसन्धान सबै युनिटबाट सम्भव हुन्न भनेरै विशेष प्रकृतिको युनिट बनाउने त हो। यस्तोमा आफ्नो क्षेत्रमा भएका अपराधका घटनाको प्रकृतिअनुसार अन्य कार्यालयलाई खबर गर्दा राम्रो हुन्छ। तर, त्यस्तो संस्कार अझै बस्नै सकेको छैन।
आकाश भैरवको मूर्ति तीन सय वर्ष पुरानो थियो। धार्मिक रूपमा निकै महत्वपूर्ण। पुरातात्विक सामग्रीको अनुमानित मुल्य पनि भन्छ विभागले। उनीहरूले त्यो मूर्तिको न्यूनतम मूल्य दुई करोड निकाले।
मेरो बानी चाहिँ कार्यालयमा बसेको बेलामा विभिन्न कार्यालयमा कार्यरतहरूसँग यस्ता विषयमा छलफल गर्ने थियो। उपत्यका प्रहरी कार्यालयका इन्टेलिजेन्स प्रमुख तत्कालीन एसएसपी केदारमानसिंह भण्डारीसँग भेट भइरहन्थ्यो र उनलाई मैले संवेदनशील अधिकारीका रूपमा लिन्थेँ। मौकाले हामीले केन्द्रीय अनुसन्धान ब्यूरोमा पनि सँगै काम गरेका थियौं पछि।
प्राय उनीसँग विभिन्न विषयमा छलफल भइरहन्थ्यो। भेटमा प्रहरीका कार्यालयबीचको अनुसन्धानमा भइरहेको डुप्लिकेशनबारे छलफल पनि हुन्थ्यो। एकै काम सबैले गर्न खोज्दा समयको पनि दुरूपयो हुने अनि स्रोत र साधनको पनि दुरुपयोग हुने। एकातिर प्रहरीसँग जनशक्ति अनि स्रोत पनि पुगेन भन्ने अर्कोतिर एकै काममा सबैको साधनस्रोत प्रयोग गर्ने काम हुँदैन भन्ने हामीले बुझेका थियौं।
विशेष प्रकृतिको काम गर्न बनेका कार्यालयमा त्यही प्रकृतिको अपराधको अनुसन्धान पठाउने गर्दा सहज अनि प्रभावकारी हुन्छ भन्नेमा सोछ थियो हामी दुवै।
केही दिनपछि एसएसपी भण्डारीले फोन गरेर एक मूर्ति चोरीको घटनाबारे मलाई जानकारी दिए। उनीहरूको सूचना संकलकमध्ये कसैसँग चोरीको मूर्ति बेच्न चाहने व्यक्ति सम्पर्कमा आएका रहेछन्। मूल्य त्यही ४०-५० लाख पाए बेच्ने भन्ने रहेछ। उनले ती व्यक्तिलाई हाम्रो सम्पर्कमा ल्याउने काम गरे र हामीले संयुक्त टोली गठन गर्यौं अपरेशनका लागि।
यस्तोमा प्रहरीले गर्ने अनुसन्धान अण्डरकभर नै हो। मूर्ति बेच्न चाहने व्यक्ति छन् भनेपछि प्रहरी उनीहरूको सम्पर्कमा पुग्ने मूर्ति किन्ने व्यक्ति बनेरै हो। यसको अनुसन्धानका लागि टोली गठन गरेर बार्गेनिङ गर्न पठायौँ।
जुन मूर्ति थियो, त्यो चोरी भएको दुई वर्ष भइसकेको रहेछ। मूर्ति चोर्न त चोरिहाले तर अब कसलाई बेच्ने अनि कसरी बेच्ने भन्ने थाहै नपाएर उनीहरूले दुई वर्षसम्म लुकाएर राखेछन्। अब प्रहरीले खोज्न छाड्यो होला भनेर मूर्ति किन्ने व्यक्ति खोज्न थालेछन् उनीहरूले।
मूर्ति किन्ने व्यक्ति बनेको हाम्रो मान्छे गएपछि उनीहरूसँग बार्गेनिङ शुरू भयो। ४० लाखमा किन्ने डिल भएपछि उनीहरूले मूर्ति ल्याए अनि पक्रेर कार्यालयमा ल्याइयो।
मूर्ति साह्रै सुन्दर थियो। कहाँको भनेर खोज्दा उनीहरूले नै ललितपुरको हो भनेर भने। तर ठाउँ एकिन भन्न सकेनन्। प्रहरी युनिटमध्ये कसैकोमा रिपोर्ट परेको छ कि भनेर खोज्दा ललितपुरमा दुई वर्ष अगाडि एउटा मूर्ति हराएको सूचना आयो।
कहिलेकाहीँ गम्भीर प्रकृतिको अपराधमा पनि सामान्य अपराध गर्नेहरू संलग्न हुनसक्छन्। त्यसैले अनुसन्धान गर्दा सबैतिर दृष्टि पुर्याउन आवश्यक हुन्छ। अनि मात्र अनुसन्धान सफल हुनसक्छ।
अब त्यो मूर्ति कस्तो हो भनेर बुझ्न पुरातत्व विभागमा पठायौँ। अनि मात्र थाहा भयो त्यो कति मूल्यमान रहेछ भनेर। आकाश भैरवको मूर्ति तीन सय वर्ष पुरानो थियो। धार्मिक रूपमा निकै महत्वपूर्ण। पुरातात्विक सामग्रीको अनुमानित मुल्य पनि भन्छ विभागले। उनीहरूले त्यो मूर्तिको न्यूनतम मूल्य दुई करोड निकाले।
मूर्ति चोर्नेहरूले ४० लाखमै बेच्न राजी भएकाले उनीहरूलाई त्यो मूर्ति कति महत्वपूर्ण हो भन्ने थाहै नभएको देखियो नि यसबाट।
सोधखोज गर्दा त्यो मूर्ति ललितपुरबाट दुई वर्ष अगाडि हराएकै मूर्ति भएको थाहा भयो। दुई वर्षसम्म हराएको मूर्ति फेला नपरेपछि नियमित पूजामै व्यवधान हुने भन्दै सम्बन्धित गुठीले त्यसको प्रतिलिपि बनाएर तान्त्रिक विधिबाट पूजा गरेर अर्को मूर्ति बनाएर स्थापना गरिसकेका रहेछन्।
जब सम्बन्धित गुठीका व्यक्तिहरूले दुई वर्षपछि भए पनि चोरी भएको मूर्ति फेला परेको चाल पाएर प्रहरी कार्यालयमा आएर हेरे। अनि उनीहरू निकै खुसी भए।
अब चोरीमा पक्राउ परेको व्यक्तिलाई अदालतमा बुझाउँदा दशी प्रमाणसहित बुझाउनुपर्छ। त्यो सामान्य सामान नभई मूर्ति थियो। मुद्दा अन्तिम टुंगो नलागेसम्म राख्ने कुरा भएन। अनि अदालतसँग छलफल गरेर हामीले सम्बन्धित गुठीलाई नै मूर्ति हस्तान्तरण गर्यौँ।
यो घटनाले गम्भीर प्रकृतिको अपराधमा सधैँ संगठित समूह अनि जानकार समूह मात्रै संलग्न हुन्छन् भन्ने हुन्न भन्ने देखायो। कहिलेकाहीँ गम्भीर प्रकृतिको अपराधमा पनि सामान्य अपराध गर्नेहरू संलग्न हुनसक्छन्। त्यसैले अनुसन्धान गर्दा सबैतिर दृष्टि पुर्याउन आवश्यक हुन्छ। अनि मात्र अनुसन्धान सफल हुनसक्छ।
(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
ब्याचका पुराना अंक
वैशाख ६, २०८० बुधबार २०:०५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।