शाहीले फोन नउठाएपछि रिसाए देउवा, मुख्यमन्त्रीलाई फोन गरेर भने- ‘शपथ रोक्नुस्’
सुर्खेत : कांग्रेसभित्रको आन्तरिक विवादका कारण कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको छ।
कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सिनियर नेतालाई ‘बाइपास’ गरी आफ्ना नजिककालाई मन्त्रीमा सिफारिस गरेको र समावेशीतालाई ध्यान नदिएको भन्दै केन्द्रमा गुनासो गरेपछि बुधबार तीन बजे हुने मन्त्रीहरूको शपथ अनिश्चित बनेको हो।
जाजरकोटबाट प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह र सुर्खेतबाट समानुपातिक निर्वाचित सांसद जानकी सिंहले मन्त्री सिफारिसको विषयलाई लिएर केन्द्रमा गुनासो गरेपछि केन्द्रकै निर्देशनमा शपथ रोकिएको हो।
संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेसभित्र सिनियर नेता हुँदाहुँदै ‘बाइपास’ गरेर मन्त्री सिफारिस गर्दा समस्या भएको कांग्रेसकी असन्तुष्ट सांसद् जानकी सिंहले बताइन्। पार्टीको विधानअनुसार मन्त्रीमा नाम सिफारिस हुनुपर्ने भए पनि मनलाग्दी गरिए पछि समस्या भएको उनको तर्क छ।
‘पार्टीभित्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने निर्वाचित केन्द्रीय सदस्यहरू छन्। कमसेकम उनीहरूसँग पनि त छलफल गर्न सकिन्छ। एकैपटक मिडियामा आएपछि मात्रै जानकारी हुने? विधान र प्रदेश कमिटीको निर्णय एकातिर, दलका नेताको निर्णय अर्कोतिर हुँदा विवाद आएको हो,’ सिंहले भनिन्।
शाहीले दलको नेता हुँदा र सरकारलाई विश्वासको मत दिँदा मात्रै आफूहरूसँग सल्लाह गर्ने र अन्य विषयमा उपेक्षा गरेको सांसद् सिंहको आरोप छ।
‘केन्द्रदेखि सबै ठाउँ दलका ठूला नेताको नेतृत्वमा सरकारी पठाइन्छ, तर कर्णालीमा त्यो देखिएन। सिनियरहरूको सम्मान खोइ?, महिला सहभागितालाई किन ध्यान नदिएको? यो दलका नेताले एकलौटी मनोमानी तरिकाले जुनियरको टिमलाई मन्त्री मण्डलमा पठाउँदाको परिणाम हो।’
कांग्रेस स्रोतका अनुसार सांसदद्वय सिंह र शाह सभापति देउवालाई यही कुराको रिपोर्टिङ गर्न सुर्खेतदेखि काठमाडौं गएका छन्।
उनीहरूले पार्टी सभापति देउवालाई फोनमार्फत जानकारी गराएपछि सभापतिले पहिला सचिवालयमार्फत र पछि आफैँले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन गरेको सांसद् सिंह बताउँछिन्।
उनका अनुसार दुवै पटक दलका नेता जीवनबहादुर शाहीले सभापतिको समेत फोन नउठाएपछि देउवाले सिधै मुख्यमन्त्रीलाई फोन गरेर शपथ रोक्न लगाएका थिए।
‘पहिला सचिवालय मार्फत र पछि केन्द्रीय सभापतिले सिधै दलका नेतालाई फोन गर्नुभएछ, तर उहाँले उठाउनुभएन,’ सिंहले भनिन्, ‘पछि सिधै मुख्यमन्त्रीज्यूलाई नै फोन गरेर शपथ रोक्न लगाउनु भएको हो।’
मंगलबार कांग्रेस संसदीय दलको बैठकले सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्ण विसीलाई सिफारिस गरेको थियो।
पोखरेल र सिंह कांग्रेसभित्रको संस्थापन समुहका नेता हुन् भने विसी इतर समूहका नेता हुन्।
मन्त्री सिफारिसको विवाद कांग्रेसभित्र उत्कर्षमा पुगेको छ। जसकारण दलका नेता शाहीलाई केन्द्रीय सभापति देउवाले दबाव दिने देखिएको छ।
कांग्रेसले माओवादीबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिइरहँदा माघ ६ गते कर्णाली प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्मालाई नेता शाहीले विश्वासको मत दिएका थिएनन्। त्यतिबेला पनि नेता शाहीले केन्द्रको निर्देशन अटेर गरेका थिए।
पटक–पटक आफ्नो निर्देशन नमानेको र फोनसमेत नउठाएपछि देउवा शाहीसँग रिसाएको एक सांसद्ले बताए। पछि भने शाही र देउवाबीच मिनेट कुराकानी भए पनि सौहार्दता नदेखिएको ती नेताको भनाइ छ।
वैशाख ६, २०८० बुधबार १९:३५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।