मन्दिरमा काम गर्ने मुस्लिम कर्मचारी हटाउन आदेश

मन्दिरमा काम गर्ने मुस्लिम कर्मचारी हटाउन आदेश

एजेन्सी : मन्दिरमा काम गर्ने मुस्लिम कर्मचारीलाई हटाउन भारतको मध्यप्रदेशको धार्मिक ट्रस्ट एण्ड एन्डोमेन्ट विभागले निर्देशन दिएको छ।

सतना जिल्लाको प्रसिद्ध मैहर माता मन्दिरमा काम गर्ने तीन जना मुस्लिम कर्मचारीहरूलाई विभागले दोस्रोपटक आदेश दिएको हो।

पहिलो पटक जनवरी १७ मा सतना कलेक्टरलाई पत्र पठाएर यस विषयमा परीक्षण गरेर रिपोर्ट दिन भनिएको थियो।यससँगै सहरमा मासु र मदिरा बिक्री वितरण बन्द गर्न पत्र लेखिएको छ।

यसबारे कुनै कारबाही नभएको भन्दै विभागका उपसचिव पुष्प कुलेशले मंगलबार फेरि पत्र पठाएर ३ दिनभित्र प्रतिवेदन पठाउन आग्रह गरेका छन्।

जानकारीका अनुसार विश्व हिन्दू परिषद् र बजरंग दलका नेताहरूले मैहरको मासु मदिरा पसल हटाउन र माँ शारदादेवी मन्दिर व्यवस्थापन समितिका मुस्लिम कर्मचारीलाई हटाउन माग गरेका थिए।

यसका लागि उनले प्रदेशका संस्कृति, धार्मिक कोष तथा बन्दोबस्त मन्त्री उषासिंह ठाकुरलाई ज्ञापनपत्र समेत दिएका थिए।

त्यसपछि उषा ठाकुरले धार्मिक कोष तथा बन्दोबस्त विभागका अतिरिक्त मुख्य सचिवलाई पत्र लेखेर कारबाही गर्न निर्देशन दिएकी थिइन्।

यसबारे अतिरिक्त मुख्य सचिव डा.राजेशकुमार राजौराले यस्तो आदेश नआएको बताउँछन्।

अर्कोतर्फ, सतनाका कलेक्टर अनुराग वर्माले पत्र प्राप्त भएको र परीक्षण गरेपछि नियमानुसार कारबाही गरिने बताएका छन्।

माता शारदादेवी मन्दिर व्यवस्थापन समितिको नियमअनुसार कर्मचारी नियुक्तिमा धर्मलाई आधार बनाउने व्यवस्था छैन।

वैशाख ६, २०८० बुधबार १९:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।