कुवेतसँगको खेलपछि रोहन मुस्तफाले भने– ‘दर्शक नआएर राम्रै भयो’

कुवेतसँगको खेलपछि रोहन मुस्तफाले भने– ‘दर्शक नआएर राम्रै भयो’

काठमाडौं : युएईका अलराउन्डर रोहन मुस्तफाले कुवेतविरुद्धको खेलमा दर्शक नआएर राम्रो भएको बताएका छन्।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुस्तफाले दर्शक नआएर राम्रो भएको बताएका हुन्।

‘दर्शक नआएर राम्रै भयो, उनीहरूले मलाई खेलका दौरान बोलाइरहन्छन्,’ उनले ठट्यौली शैलीमा हाँस्दै भने, ‘तर जहिले पनि नेपाल आउँदा एकदमै रमाइलो लाग्छ।’

मुस्तफाले दर्शक नआए पनि आफ्नो इस्टाग्राममा नेपाली फ्यानहरूले म्यासेज गर्ने गरेको उनले बताए।

‘दर्शक आए पनि नआए पनि, उनीहरूले मलाई माया गर्छन्, इन्स्टाग्राममा म्यासेज गर्छन्,’ उनले अगाडि भने, ‘केही कामका कारण दर्शक आउन नपाएका होलान् तर मलाई सधैँ माया गर्छन्।’

युएईमा भएको विश्वकप लिग–२ को खेलमा सन्दीप लामिछानेसँग मैदानमा सामान्य खटपट भएपछि उनी विवादमा आएका थिए।

एसीसी प्रिमियर कपमा युएई समूह ‘बी’ मा छ भने नेपाल समूह ‘ए’मा छ। समूह चरणमा नेपालले युएईसँग खेल्ने कुनै सम्भावा छैन।

यद्यपि दुवै टोली सेमिफाइनलमा पुगेको अवस्थामा भने यी दुई टोलीबीच खेल सम्भव छ। यसअघि लिग–२ अन्तर्गत नेपाल र दुवईबीचको अन्तिम खेलमा त्रिवि मैदानमा ३० हजारभन्दा बढि दर्शक सहभागी भएका थिए।

वैशाख ६, २०८० बुधबार १८:२४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।