केन्द्रमा फोन गएपछि कर्णालीमा मन्त्रीको शपथ रोकियो
सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेश सभामा सिनियर नेतालाई ‘बाइपास’ गरी अन्य नेतालाई सिफारिस गरेकाे र समावेशीतालाई ध्यान नदिएकाे भन्दै केन्द्रमा गुनासाे गएपछि मन्त्रीहरूको शपथ राेकिएकाे छ।
केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्यद्वय जाजरकोटबाट प्रत्यक्ष निर्वाचित राजीवबिक्रम शाह र सुर्खेतबाट समानुपातिक निर्वाचित जानकी सिंहले केन्द्रमा गुनासाे गरेपछि बुधबार दिउँसो तीन बजे हुने भनिएकाे शपथ राेकिएकाे हाे।
‘केन्द्रीय सदस्यद्वयलाई बाइपास गरेर मन्त्री सिफारिस गर्दा उहाँहरूले पार्टी सभापति शेरबहादुर देउवालाई गर्नुभयाे,’ नेपाली कांग्रेसका एक सांसद्ले भने, ‘चुनावी सभालाई सम्बाेधन गर्न तनहुँ पुगेका सभापति र प्रधानमन्त्री प्रचण्डले तत्काललाई शपथ राेक्नु भन्दै मुख्यमन्त्री राजकुमार शर्मालाई समेत फाेन गर्नुभएकाे छ।’
ती नेताका अनुसार पहिला प्रधानमन्त्रीकाे सचिवालयबाट शपथ राेक्न फाेन आएको तथा पछि देउवा र प्रचण्डले नै मुख्यमन्त्री शर्मालाई फाेन गरेका थिए।
केन्द्रीय सदस्य रहेकाे तथा जिल्लाका पार्टी सभापति र पूर्व सभापतिलाई सिफारिस नगरी सिनियरकाे अपमान गरिएको भन्दै कांग्रेसका केही सांसद् रुष्ट बनेका थिए।
सिफारिस भएका तीन नेताहरूमध्ये दुई बहालवाला जिल्ला सभापति हुन् भने एक जना पूर्व सभापति हुन्।
मंगलबार कांग्रेस संसदीय दलको बैठकले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद एवं नेपाली कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेललाई सामाजिक विकासमन्त्री, जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित जाजरकाेटका पार्टी सभापति बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद एवं दैलेखका पूर्व पार्टी सभापति कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको थियो।
कांग्रेसले सिफारिस गरेका यी मन्त्रालयमा पहिला एमालेले सम्हालेकाे थियाे। केन्द्रमा समीकरण फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियाे।
वैशाख ६, २०८० बुधबार १७:२१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।