कतारमाथि ओमानको ४० रनको जित, नेपाल समूहको शीर्ष स्थानमा कायमै

कतारमाथि ओमानको ४० रनको जित, नेपाल समूहको शीर्ष स्थानमा कायमै

काठमाडौं : काठमाडौंमा जारी एसियन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा कतारलाई पराजित गर्दै ओमानले विजयी सुरुवात गरेको छ।

मुलपानी मैदानमा भएको खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको हो। २५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो।

कतारका लागि मोहम्मद रिजलान ४६, खुर्रम शाहजाद ३०, इमाल लियान्जेज २७, इकरमुल्लाह खान २६, मोहम्मद तनवीर १९, कमरन खान १२, अमीर फारुख ११, क्वाइज अहमदले १० रन बनाउँदा जहीर इब्राहिम ९ र मोहममद मुराद ५ रनमा आउट भए।

ओमानका बिलाल खानले ४, अकीब इलास र जय ओडेड्राले समान दुई–दुई तथा जहीर मकसुदले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो।

उसका लागि आयान खानले ६४, जीसान मक्सुदले ४१, सन्दीप गौडले ३४, मोहम्मद नदीम र कश्यप प्रजापतिले समान १८, अकीब इल्यासले १७ तथा जतिन्दर सिंह र अदील सफिकले समान १६ रन जोडे।

कतारका मोहम्मद मुराद र अमिर फारुकले समान तीन–तीन विकेट लिँदा इकरमुल्लाह खानले दुई विकेट हात पारे।

जितसँगै ओमान दुई अंक जोड्दै समूह ‘ए’ को दोस्रो स्थानमा हुँदा कतार तेस्रो स्थानमा छ। पहिलो स्थानमा समान अंकसहित नेपाल हुँदा चौथो स्थानमा मलेसिया छ। साउदी अरबले एक खेल पनि खेलेको छैन।

दुई समूहमा विभाजित भएको प्रतियोगिताको विजयी टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान पक्का गर्नेछ।

वैशाख ६, २०८० बुधबार १७:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।