एसीसी प्रिमियर कपमा युएईको शानदार सुरूवात
काठमाडौं : काठमाडौंमा जारी एसियन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा कुवेतलाई पराजित गर्दै युएईले प्रतियोगिताको सानदार सुरूवात गरेको छ।
त्रिवि मैदानमा भएको खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले पराजित गर्यो।युएईले दिएको ३ सय ७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ओभरमा २ सय २८ रन बनाउदै अलआउट भयो।
कुवेतका लागि सायद मोनिबले ६८ र प्रविन्दर कुमारले ५३ रनको अर्धशतकीय ईनिङ खेले। कप्तान मोहम्मद अस्लामले ३३ रन जोडे।
युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३/३ तथा जाहोर खान,रोहन मुस्ताफा,सचित शर्मा र आयान खानले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रन बनायो। युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले अविजित शतकीय ईनिङ खेले। अरबिन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १ सय ८५ रन बनाए।
चार दशमलब चार ओभरमा २४ रन बनाएर तीन विकेट गुमाएरको स्थितिमा पुगेको युएईका लागि मुस्ताफा र अरबिन्दले शतकीय साझेदारी गरेर टोलीलाई बलियो योगफलसम्म पुर्याएका थिए।
मुस्ताफा र अरबिन्दबीच चौथो विकेटका लागि २ सय ७५ रनको विशाल साझेदारी भएको थियो। दुईबीचको साझेदारी कुवेतका सयद मनिबले तोडेका थिए। आसिफ खानले ८ बलमा ३० रन बनाए।
कुवेतका लागि प्रविन्दर कुमार र शाहरुख कुदरुसले समान २/२ तथा सयद मनिब,यासिन पटेलले समान १/१ विकेट लिए।
जितसँगै युएई समूह बी मा २ अंकका साथ शीर्ष स्थानमा रहेको छ। हारबाट प्रतियोगिता सुरूवात गरेको कुवेत अंक तालिकाको चौथो स्थानमा रहेको छ।
वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा हुनेछन्।
वैशाख ६, २०८० बुधबार १६:४१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।