११ वर्षीया बालिका बलात्कारको मुद्दा : बदलिएको बयान हेर्ने न्यायाधीशले बलात्कार पुष्टि हुने मेडिकल रिपोर्ट हेरेनन्
सुर्खेत : कोठामा अभिभावक नभएको बेलामा गएर ११ वर्षीया बालिकाको बलात्कार गरेको आरोप लागेका २१ वर्षीय मनन सापकोटा फरार भएको आठ महिनापछि पक्राउ परे। पक्राउ परेलगत्तै उनी अदालतबाट एक लाख धरौटीमा छुटे।
उनी अगाडि नै भदौमा मतियारको अभियोग लागेका २३ वर्षका कृष्ण रिजाल ४५ हजार धरौटीमा छुटिसकेका थिए। अदालतले मुख्य आरोपीलाई धरौटीमा छाड्ने आधार बनायो- पीडित र जाहेरीकर्ताको अदालतमा बदलिएको बयान।
जिल्ला अदालत सुर्खेतको २०७९ फागुन २२ को थुनछेक आदेशमा ‘तत्काल प्राप्त प्रमाणहरूबाट प्रतिवादी मनन सापकोटा अहिले नै आरोपित कसूरका कसूरदार होइनन् भनी भन्ने अवस्था नदेखिएता पनि पीडित र जाहेरवालाको बकपत्र समेतका आधारमा प्रतिवादीलाई थुनामा नै राखी मुद्दामा पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था देखिन नआएको’ उल्लेख छ।
जाहेरीमा सापकोटा र रिजालबारे जे उल्लेख थियो, अदालतमा त्यो बदलियो। जाहेरीकर्ताले बयान बदलिन् अनि पीडितले पनि। अदालतले केबल प्रहरी बयान अनि अदालती बयानलाई मात्र आधार मान्यो। बलात्कार भएको प्रष्ट खुल्ने चिकित्सकीय प्रमाणलाई आदेशमा उल्लेखै नगरी बदमासी गरिएको उकेराले प्राप्त गरेको पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनले पुष्टि गर्छ।
चिकित्सकीय परीक्षणमा केवल शरीरको घाउ जाँच मात्र हुन्न, चिकित्सकले पीडितसँग तत्काल घटनाबारे जानकारी समेत लिएर मेडिकल रिपोर्टमा घटना कसरी भयो भनेर स्वास्थ्य परीक्षण गर्न आएकाले दिएको जानकारी समेत उल्लेख हुन्छ।
प्रदेश अस्पताल सुर्खेतमा २०७९ साउन २८ गते गरिएको विस्तृत स्वास्थ्य परीक्षणमा ११ वर्षीया बालिकाको बलात्कार भएको प्रमाणित गर्दै लेखिएको छ- ‘…Hymen tear present with injury over perineum and mild bleeding with witish pv discharge.’
अर्थात ती बालिकाको कन्याजाली च्यातिएको छ। कन्याजाली च्यातिँदा चोट लागेको छ अनि हल्का रक्तश्राव पनि भएको छ।
यति मात्रै हैन, प्रतिवेदनमा बालिकाले बताए अनुसार कहाँ, कहिले अनि के भएको भन्ने घटनाबारे संक्षिप्त जानकारी समेत उल्लेख छ।
प्रतिवेदनमा उल्लेख भए अनुसार पीडित बालिका दिदीको घरमा दिदीको सन्तानसँगै बसेकी थिइन्। दिउँसो २ बजेतिर दुई जना अपरिचित उनको कोठामा आए। एक जनाले दिदीको सन्तान बालकलाई आफूसँगै बोकेर बाहिर लगेर ढोकामा चुकुल लगाए।
त्यसपछि अभियुक्तले कपडा खोलेर उनको मुख थुनेर बलात्कार गरेर भागे। बेलुका ९ बजेतिर दिउँसो आएका दुवै जना घर आएको बेलामा उनको दिदी र अर्को भाइले उनीहरूलाई नियन्त्रणमा लिए। मुख्य आरोपी फुत्किएर भागे।
चिकित्सकीय रिपोर्टमा ती बालिकालाई एक वर्ष अगाडि अन्य व्यक्तिले समेत यौन दुर्व्यवहार गरेको उल्लेख छ। चिकित्सकीय प्रतिवेदनमा पीडित पक्षबाट भएका गल्ती पनि उल्लेख छ। उनीहरूले बलात्कारको समयको कपडाले योनी धोएका थिए, जहाँ थप प्रमाण फेला पर्नसक्थ्यो।
यतिको मेडिकल प्रतिवेदन घटनालाई पुष्टि गर्न पर्याप्त हुन्छ नै। तर, अदालतले चिकित्सकीय प्रतिवेदनतिर नगई बदलिएको बयानमा टेकेर मुख्य अभियुक्त अनि सहयोगीलाई सहजै धरौटीमा छाड्यो।
चिकित्सकीय प्रतिवेदन त भयो नै। मुख्य आरोपी घटनाको आठ महिनासम्म फरार छन्। यदि उनी घटनामा संलग्न नै नभएको भए किन आठ महिनासम्म लुकेर बसे भन्नेतिर पनि अदालत गएको छैन। केवल जाहेरीकर्ता पीडितको दिदी अनि पीडित ११ वर्षीया बालिकाले अदालतमा बयान बदलेको आधारमा मात्रै टेकेर धरौटीमा अभियुक्त निस्किएका छन्।
बयान र प्रहरी प्रतिवेदन अनुसार ती बालिका साउन २३ गते दिउँसो १ बजे बलात्कृत भएको देखिन्छ। घरमा ती बालिका र अर्को सानो बच्चा भएको बेलामा दुई युवक आएर एक जनाले सानो बच्चालाई लिएर बाहिर गएर बाहिरैबाट ढोकामा चुकुल लगाउने काम गरेको र अर्को व्यक्तिले भित्र बलात्कार गरेको देखिन्छ।
पीडित बालिकाकी दिदी बेलुका घर फर्किएपछि झोक्राएर बसेकी उनलाई सोध्दा उनले दिउँसो भएको घटना बताइन्। बेलुका नौ बजेतिर दुई युवकले झ्यालबाहिरबाट कोठामा हेरिरहेको देखेपछि दिदी र अर्को भाइले उनीहरूलाई नियन्त्रणमा लिए।
नियन्त्रणमा लिएर पीडित बालिकालाई सोध्दा उनले दिउँसो आउने उनीहरू नै भएको बताइन्। त्यो बेलासम्म एकजना नियन्त्रणबाट उम्किएर भागे। अर्कोलाई उनीहरूले प्रहरीलाई बुझाए।
प्रहरीसम्मको बयानमा यही नै उल्लेख छ। जाहेरीको विवरण पनि यही उल्लेख छ। तर, एकाएक अदालतमा पीडित बालिका अनि उनको दिदी दुवैको बयान बदलियो। उनीहरूले बलात्कार भएको हो, तर बेलुका आएका दुई युवकले गरेका हैनन् भनेर बयान दिए।
बलात्कार ठहर्न प्रतिवेदन पर्याप्त
पीडितसँग लिएको घटनाको जानकारी अनि स्वास्थ्य प्रतिवेदनमा पीडित युवतीको कन्याजली च्यातिएको, हल्का चोट लागेको र हल्का रक्तस्राव भएको उल्लेख छ। खासगरी यस्ता घटनामा यही रिपोर्टलाई नै मुख्य प्रमाण मानिनुपर्ने हो। तर मानिएन।
बलात्कृत भएको हो, होइन भन्ने पहिलो यही रिपोर्ट नै महत्वपूर्ण रहने एकद्धार प्रणाली (ओसीएमसी) प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नर्सिङ्ग अधिकृत सकुन्तला गौली बताउँछिन्।
‘यस्ता घटनामा पहिला पीडितका कुरा सुन्छौं, त्यसपछि शीरदेखि पैतालासम्मको चेकजाँच गर्छौँ। अन्तिममा यौन अंगको स्वाब जाँच गर्छौँ,’ नर्सिङ्ग अधिकृत गौली भन्छिन्, ‘त्यसबाट आउने रिपोर्टबाट मात्रै बलात्कार भएको हो या हैन प्रमाणित हुन्छ।’
सानो उमेरका किशोरीहरूको बलात्कार भए नभएकोबारे कन्याजालीबाट थाहा पाउन सकिने र उनीहरूको यौन अंग पातलो जालीले ढाकेको हुँदा बलात्कार भएको कुरा प्रष्ट बुझिने उनको भनाइ छ।
‘सानो उमेरका किशोरीहरूको यौन अंग कन्याजालीले ढाकेको हुन्छ, यदि कसैले करणी गरेपछि त्यो जाली फुट्छ,’ गौलीले भनिन्, ‘त्योबाहेक पछि उमेर बढ्दै गएपछि भने साइकल चलाउँदा, दौड्दा, उफ्रँदा, कसरत गर्दा र गह्रुङ्गो भारी बोक्दा पनि जाली च्यातिने गर्छ। त्यसैले पनि यौन अंगको स्वाब परीक्षण गरेर रिपोर्ट निकाल्छौँ।’
उनका अनुसार कन्याजाली च्यातिनु पनि जबरजस्ती करणीको एउटा महत्वपूर्ण लक्षण हो। जाली च्यातिनु, योनीका हल्का रगत बग्नु र चोटपटक लाग्नु नै बालिकाको बलात्कार भएको प्रमाण रहेको गौलीले बताइन्। यदि ११ वर्षीया किशोरीको यस्तो रिपोर्ट देखिए शतप्रतिशत बलात्कारको लक्षण भएको गौलीले बताइन्।
तीन लाखको प्रलोभनमा बदलियो बयान
आखिर बयान किन बदलियो? त्यो तथ्य केही समयमै खुल्यो जब पीडित परिवारले बालिकाको दिदीसँग तीन लाख लेनदेनको कागज गरेको प्रमाण खुल्यो।
विपक्षीका वकिल र पीडकका परिवारको संलग्नतामा पीडक बालिका र उनकी दिदीलाई बालिकाको विवाह गराउने, पढाउने अनि तीन लाख पनि दिने प्रलोभन बयान बदल्न लगाएको खुल्यो।
तीन लाख रकम दिने सर्त अनुसार पीडकले पीडितबाट तीन लाख ऋण लिएकोले समयमा तिर्ने भन्दै तीन लाख रूपैयाँ बराबरको लेनदेनको कागज बनाए। जबकी पीडित परिवारको आर्थिक हैसियत ऋण दिनसक्ने नै छैन।
पछि अदालतमा किशोरीले ‘दिउँसो बलात्कार गर्ने नचिनेको र राती आउने मान्छेले आफूलाई केही नगरेको’ बयान दिइन्। यसबारे उकेराले यस अगाडि नै समाचार प्रकाशित गरिसकेको छ।
यसरी गराइयो होस्टायल
२०७९ साउन २८ गते पीडितकी दिदी ‘वीरेन्द्रनगर १२ ए’ (अदालतले परिवर्तन गरेको नाम)ले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिइन्। कृष्ण पक्राउ परिसकेका थिए।
उनी पक्राउ परेपछि प्रहरीले मननको खोजी गरे पनि उनी फेला परेनन्। त्यसपछि मननकी आमा विष्णु पोखरेलले बलात्कारको घटना मिलाउन सक्रिय भइन्।
यसमा मननफो तर्फबाट वहस गर्ने अधिवक्ता उत्तम आचार्य सक्रिय रहेको देखिन्छ। उनले पीडितकी दिदी ‘वीरेन्द्रनगर१२ ए’ लाई विभिन्न प्रलोभन देखाउन थाले।
पीडित किशोरीको विवाह आफ्नै छोरासँग गराइदिने, डेढ कट्ठा जग्गा पास गरिदिने, काठमाडौंमा पढाइदिने अनि तीन लाख रूपैयाँ नगद दिने लोभ देखाइयो।
विष्णुले भदौ महिनाभरी ‘वीरेन्द्रनगर १२ए’ लाई कहिले राति ८-९ बजे अधिवक्ता आचार्यको घरमा, कहिले आफ्नो घरमा ल्याउने त कहिले वकिलको फर्ममा ल्याएर फकाउन थालिन्।
उनलाई ड्रक्स, गाँजा र रक्सी खाने मनन जेल गएर फर्किएपछि ज्यानसम्म लिन सक्ने भनेर तर्साइयो। उनीहरू लेनदेनको विषय बनाएर मुद्दा मिलाउन लागे।
मननको परिवारले पीडितकी दिदीबाट तीन लाख रूपैयाँ ऋण लिएको र त्यसको चेक बुझाएको कागज बनाइयो। पुस १४ गते बनाइएको कागजमा एनआईसी एसिया बैंक सुर्खेत शाखाको चेक नम्बर ००३९०४९००३२३०१ पुस महिनाको २५ गतेभित्र साटिनेगरी पीडितको दिदीलाई बुझाइएको बनाइयो।
वडाबाट प्रमाणित गर्नुपर्ने कागज पीडक पक्ष र उनका वकिलकै मिलेमत्तोमा वडाबाट पनि प्रमाणित हुन सकेन। कागज पनि अर्कैका नामबाट बनाएर ‘वीरेन्द्रनगर १२ ए’ लाई झुक्याउन खोजियो।
दिदीलाई कागजमा औंठाछाप गर्न लगाइयो। तर, कागज बनेपछि चेक विपक्षीले नै लिए। कागज मात्रै दिएर पठाए। उनले कागजअनुसारको पैसा माग्दा बारम्बार पीडक पक्ष र उनका वकिलले दुर्व्यवहार गरेको वीरेन्द्रनगर १२ए को गुनासो छ।
आफूलाई परिबन्धमा पारेर मुद्दा कमजोर हुने खालका कागजपत्र बनाइएको उनको भनाइ छ।
‘मलाई लोभ, लालच र डर धम्की देखाएर यो घटनालाई कमजोर पारियो। मननकी आमा र वकिल उत्तम आचार्यले पहिला फकाएर बयान बदल्न लगाए, पछि यस्तै काम गरेर खान्छौ की भनेर गाली गरे,’ वीरेन्द्रनगर १२ ए ले भनिन्, ‘मलाई दिइएको कागज च्यात्न घरमा बोलाएर धम्क्याए। मैले मोबाइलामा रेकर्ड गरेका प्रमाण समेत हटाएँ। अहिले बहिनी यहाँबाट गाउँ फकिएकी छन्।’
‘दिउँसो आएका मान्छेले मात्रै आफूलाई बलात्कार गरेको र साँझ आएकाले बलात्कार नगरेको तथा दिउँसो आएकालाई आफूले चिन्दिनँ’ भनेर विपक्षीका वकिलले आफूलाई र बहिनीलाई भन्न लगाएको उनको दाबी छ। अदालतबाट आदेश पनि त्यहि अनुसार भयो।
‘उत्तम सरले अदालतभित्र मलाई एक्लै लिएर दिउँसो आएकाले बलात्कार गरेका हुन्, उनीहरूलाई चिन्दिन, साँझ आएका मननहरूले आफूलाई केही नगरेको भन्न लगाउनुभयो, मैले त्यही भनेँ,’ पीडितले उकेरासँग भनिन्, ‘मलाई पैसाभन्दा पनि न्याय चाहिएको छ। उनीहरूको डरले यहाँ पढ्न छोडेर अहिले म गाउँ फर्किएकी छु।’
यस्तो छ अभियुक्तको बयान
मननसँग किशोरीको घरमा गएका कृष्ण रिजालले सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायधीश र जिल्ला प्रहरी कार्यालयका तत्कालिन अनुसन्धान अधिकारीसँग गरेको बयान हेर्दा उनले आफू मननसँग गए पनि कोठा बाहिर नै बसेको बताएका छन्।
उनले ‘साउन २७ गते राति ८ :१५ मा आफूलाई मननले ‘नाचगान हेर्न जाऊँ’ भनेर नचिनेकी किशोरीको कोठामा लिई आफूलाई बाहिर बसाएको र मनन किशोरीको कोठाभित्र पसेको’ बताएका छन्।
पछि पीडित किशोरीकी दिदी जाहेरीवाली ‘वीरेन्द्रनगर १२ ए’र उनका भाई‘वीरेन्द्रनगर १२ ई’ले दुवै जनालाई नियन्त्रण लिँदा मनन सापकोटाले दिदीलाई हातपात गरी फरार भएको र आफूलाई प्रहरीको जिम्मा लगाएको बयानमा उल्लेख गरेका छन्।
रिजाल काम गर्ने स्थानका साउको बयानमा उनी १ देखि २ बजेसम्म पसलमा नरहेको प्रमाणित हुन्छ।
यस्तै पीडित किशोरीकी दिदीले जाहेरीमा दिउँसो पनि मनन आएर बलात्कार गरेको र साँझ पनि फेरि बलात्कार गर्न आएको अवस्थामा दुवै जनालाई समातेको बताएकी थिइन्।
उनले मननले आफूलाई हातपात गरी फरार भएको जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएकी थिइन्।
मनन सापकोटाले जिल्ला अदालतका न्यायधीशसँगको बयानमा २७ गते दिनभर आफू घरमै रहेको र सोही रातको ८ बजे आफू र कृष्ण रिजाल तीजको नाचगान हेर्न जाँदै गर्दा पानी परेकोले जाहेरीवालीको कोठाको कोलियामा बसेको अवस्थामा आफूलाई समातेपछि डरले हात फुत्काई भागेको दाबी गरेका छन्।
उनले आफू पीडित किशोरीको घरमा दिउँसो नगएको र जबरजस्ती करणी पनि नगरेको बयानमा उल्लेख गरेका छन्। विनाकारण पक्राउ पर्ने डरले आफू फरार रहेको मननले बयानमा भनेका छन्।
पीडित किशोरी र उनकी दिदीले जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा मननले दिउँसो बलात्कार गरेर गएको र फेरि साँझ बलात्कार गर्न आउँदा एकजनालाई समातेको बयान दिएका छन्।
वैशाख ६, २०८० बुधबार १६:२७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।