‘रात्रीकालिन व्यवसायमा संलग्न सबै नारीहरू देहव्यापारसँग सम्बन्धित हुँदैनन्’

‘रात्रीकालिन व्यवसायमा संलग्न सबै नारीहरू देहव्यापारसँग सम्बन्धित हुँदैनन्’

काठमाडौं : पछिल्लो समय विवादमा तानिएका गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले रात्रीकालिन व्यवसायमा संलग्न सबै नारीहरुलाई देहव्यापारसँग सम्बन्धित भएको देखाउन खोजेकोमा नेपाल रात्रीकालिन मनोरञ्जन व्यवसायी संघले आपत्ति जनाएको छ। 

संघले एक विज्ञप्ति जारी गर्दै सपुतलाई यस्ता गीतका भिडियो युट्युब लगायत सामाजिक सञ्जालहरुबाट हटाउन समेत आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ जस्तो मौलिक र ‘बोल माया’ जस्तो मार्मिक गीतका रचनाकार तथा गायक प्रकाश सपुतले विगत केही समयदेखि नेपाली छोरी र नारीको अस्मितामाथि मजाक, व्यङ्ग्य प्रहार गर्दै भाइरल हुनकै लागि ‘पीर’ र फूलमाया-सकम्बरी’ जस्ता अपाच्य गीत बजारमा ल्याएका छन् र चर्चित हुन खोजेका छन्।’

सपुतले नेपाली नारीहरूले आफ्नो दुःखको मोचन पौरख, संघर्ष र श्रमबाट होइन आफ्नो शरीर बेचेर गर्छन्, यौनबाहेक दुःखबाट मुक्ति पाउन उनीहरूसँग कुनै उपाय छैन भन्ने देखाएर कस्तो संस्कृति र भाष्य निर्माण गर्न खोजेका हुन् भनेर प्रश्न समेत गरिएको छ।

गीतसंगीतमार्फत उनले रात्रीकालिन व्यवसायमा संलग्न सबै नारी/ छोरीहरु देहव्यापार नै गर्न गएका देखाउन खोजेको र हाल बजारमा ल्याएको सकम्बरी (फूलमाया) गीतको भिडियो र केहि शब्दप्रति आपत्ति रहेकोमा संघले घोर भर्त्सना गरेको छ।

संघले सपुतलाई नेपाली नारीहरुको अस्मिताको रक्षा गर्न र भुकम्प, नाकाबन्दी र कोरोनापछि थलिएको रात्रीकालिन मनोरन्जन व्यवसायको नकारात्मक प्रचार नगर्न अनुरोध समेत गरेको छ। 

वैशाख ६, २०८० बुधबार १२:४२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।