घाँटीमा लिपिस्टिकको डाम बनाएर टिकटक बनाउने महिलाको भीडमा प्रकाशमाथि प्रश्न उठाउनुको के अर्थ ?

घाँटीमा लिपिस्टिकको डाम बनाएर टिकटक बनाउने महिलाको भीडमा प्रकाशमाथि प्रश्न उठाउनुको के अर्थ ?

गीत ‘सकम्बरी’ सँगै गायक प्रकाश सपुत तेस्रो पटक विवादमा आए। यसअघि ‘गलबन्दी’ गीतमा लय चोरी गरेको र ‘पीर’ गीतमा माओवादी लडाकुको दृश्यका कारण विवादमा तानिएका उनी अहिले पनि दृष्टिकै कारण विवादमा तानिए।

हालै रिलिज भएको उनको गीतलाई कसैले समाजको एक पाटोको सत्यको रूपमा स्वीकारेका छन् त कसैले महिला चरित्रलाई पितृसत्तात्मक आँखाले हेरिएको गीतका रूपमा आलोचना गरिरहेका छन्। हेर्ने नजरमा एकरूपता नहुनु नै कलाको विशेषता हो। यो मानेमा प्रकाश सफल भए।

नेपालका भोज भतेरमा अहिले पनि सुनिने ‘मुन्नी बदनाम हुई’ अनि ‘मे तो तन्दुरी मुर्गी हुँ यार’ जस्ता गीतमा कम्मर मर्काएर रमाउनेहरूले प्रकाशको गीतको आलोचना गर्नु कति जायज होला?

सामाजिक सञ्जालमा फैलिएको विवादलाई कला समिक्षकको रूपमा सकारात्मक रूपमा स्वीकार गर्न सकिन। किनभने प्रकाशले म्युजिक भिडियोमा देखाएका कथा होस् या उनले प्रयोग गरेका शब्दहरू यी लामो समयदेखि नेपाली फिल्म, गीत लगायतमा देखाउँदै आएको दृश्य अनि प्रयोग हुँदै आएको शब्द नै हुन्।

प्रकाशको सांगीतिक यात्रा हेर्ने हो भने उनी दर्शक अनि स्रोताको मन जित्ने कडी जानेका कलाकार हुन् भन्नेमा भ्रम हुन्न। उनका हरेक सिर्जना भाइरल नै हुन्छन्।

अनि अहिले कला मात्र हैन, समाजको हरेक क्षेत्र ‘भाइरलक्रेज’बाट ग्रस्त छ। राजनीतिक होस् या अन्य क्षेत्र, जताततै भाइरलहरूकै बोलबाला छ। आफू भाइरलको पछि लाग्ने तर प्रकाशले बनाएको गीतको विरोध गर्ने कामै समाजको दोहोर चरित्रको प्रमाण हो।

‘उध्रेको चोली’, ‘ठमेल बजार’ देखि, ‘ए ससुरा बा मलाई साली मनपर्यो’ सम्मका शब्दहरू लिप सिंक मिलाउँदै कम्मर भाँच्नेहरूले अहिले आएर प्रकाश सपुतले पितृसत्ताको आँखाबाट व्याख्या गरेको भन्न पटक्कै सुहाउँदैन। शब्द र दृश्याङ्कन हेर्ने हो भने प्रकाशको सिर्जनाभन्दा यी भद्दा लाग्छन्।

कला क्षेत्रमा हुने यौन हिंसा र यौन दुर्व्यवहारबारे मौन बस्ने, ‘यस्तो बारेमा नबोल है करियर सकिन्छ’ भन्दै कानेखुसी गर्ने दिदीहरूलाई प्रकाशको गीत र कथा बिझेको छ।

फिल्ममा अटाएका आइटम गीतका शब्द चयन र दृश्य प्रस्तुतीकरण कहिल्यै याद गरिएको छ? अधिकांश ती आइटम गीतहरूमा प्रयोग हुने महिलालाई शरीर बेच्ने पेशामै सदस्यको रूपमा प्रस्तुत गरिएका छन्।

नेपालका भोज भतेरमा अहिले पनि सुनिने ‘मुन्नी बदनाम हुई’ अनि ‘मे तो तन्दुरी मुर्गी हुँ यार’ जस्ता गीतमा कम्मर मर्काएर रमाउनेहरूले प्रकाशको गीतको आलोचना गर्नु कति जायज होला?

दिनरात आफ्ना बालबालिकालाई टिकटक लगाएर उनीहरूको कचकचबाट मुक्ति खोजिरहेका आमाहरू प्रकाशको गीतले बाल मनोविज्ञानमा पार्ने असरबारे प्रवचन दिइरहेका छन्।

कला क्षेत्रमा हुने यौन हिंसा र यौन दुर्व्यवहारबारे मौन बस्ने, ‘यस्तो बारेमा नबोल है करियर सकिन्छ’ भन्दै कानेखुसी गर्ने दिदीहरूलाई प्रकाशको गीत र कथा बिझेको छ।

भोलिका दिनमा हुने बिहे, ब्रतबन्ध र पार्टीहरूमा प्रकाशको गीत घन्किने पक्का छ। अहिले नै सामाजिक सञ्जाल टिकटक हेर्ने हो भने आँखा सन्काउँदै ‘रातो स्कुटर कस्ले किन्दियो’ भन्ने क्लिपको संख्या बढिरहेको छ। समाजको बदलिँदो चरित्रकाबीच सामाजिक सञ्जालमा आदर्शका शब्दहरू खोक्नुको के अर्थ?

मेरो आशय यो पाटोमा बहसै हुनुहुन्न भन्ने हैन। बहस जरुरी छ। तर, एक व्यक्ति केन्द्रित बहस हैन प्रवृत्ति केन्द्रित बहसले मात्र सुधार सम्भव छ।

गीतमा ‘तिमीलाई घडी कस्ले किन्दियो, डायमण्ड कस्ले किन्दियो, राती-राती हुने काम के हो?’ जस्ता प्रश्न गरिएको छ। मानौँ राती-राती काम गर्ने महिलाको पेशा यौन व्यवसाय मात्रै हो।

सत्य हो, प्रकाश सपुतको गीतमा प्रयोग भएका शब्दहरू आपत्तिजनक मात्रै हैन, अपाच्य नै छन् महिला स्वतन्त्रताको दृष्टिकोणबाट हेर्दा। नेपाल सरकारले हरेक व्यक्तिलाई गोपनियताको अधिकार दिएको छ। तर, गीतमा ‘तिमीलाई घडी कस्ले किन्दियो, डायमण्ड कस्ले किन्दियो, राती-राती हुने काम के हो?’ जस्ता प्रश्न गरिएको छ।

मानौँ राती-राती काम गर्ने महिलाको पेशा यौन व्यवसाय मात्रै हो। भिडियो प्रस्तुतीकरणमा महिलालाई करियर र पैसाका लागि हदैसम्म गिर्न राजी हुने पात्रको रूपमा देखाउनु स्वीकार्य पक्ष हुँदै होइन।

महिला माथिल्लो पोष्टमा पुग्यो भने, हाकिमसँग रात बिताएर पद बढ्यो भन्नु पुरानै दृष्टिकोण हो। महिला क्षमताका आधारमा हैन शरीर सुम्पेर मात्रै अगाडि बढ्न सक्छन् भने घृणित सोच पुरानै हो। रिस उठ्ने बित्तिकै सिधै चरित्रमा प्रश्न उठ्नु सामान्य हो।

लामो समयदेखि पितृसत्ताको मारमा परेका महिलाहरू अहिलेसम्म पूर्ण सक्षम छैनन्। अधिकार किस्ता-किस्तामा मागेर काम चलाइरहनुपरेको छ। जागिर कोटामा खाइरहनुपरेको छ। सोच अगाडि बढ्ला भन्यो झनै पश्चगामी हुँदै गइरहेको छ। किन ? बहस हुनुपर्ने विषय यी पो हुन् कि!

कुनै कार्यक्रममा दौरा सुरुवाल, ढाका टोपीमा चटक्क भएर ट्रेमा खादा र ब्याच बोकेर शिर निहुराउँदै मञ्चमा आसिन ठूलाबडालाई सम्मान गरेको पुरुष देख्नुभएको छ? सम्भवतः छैन।

मलाई धेरैले प्रश्न गर्छन्, तिम्रो श्रीमान् पत्रकार हो भनेर। मैले हैन भन्दा उनीहरूको आँखामा नैराश्यता देखिन्छ। श्रीमान् पत्रकार हैन भने यसको समाचार कसले लेखिदियो त भनेर प्रश्नकर्ताहरूको दिमाग रन्थनिन्छ होला।

प्रश्नकर्ता लिङ्ग का आधारमा महिला र पुरुष नै हुन्छन्। ‘ओई त्यो कसले लेखिदिएको’ भन्ने भद्दा प्रश्न धेरै पटक झेलेको छु। ‘किन र! मैले नै लेखेको हुँ नि’ भन्ने मेरो प्रश्नमा विश्वस्त हैन प्रश्नकर्ताको आँखामा शंका देख्दा धेरै पटक बिरक्तिएको पनि छु।

लैंगिक रूपमा म महिला भएकै आधारमा मेरो क्षमतामाथि पटक-पटक प्रश्न उठ्यो, उठाइयो। यसले चित्त दुख्छ र यी अनुभव प्रकाश सपुतको सकम्बरी भन्दा अगाडिकै हुन्।

अब कुरा गरौँ भिडियोको।

जसले फुलमायालाई सकम्बरी बनायो, उसैले सोधेको प्रश्न हो यो। यसले महिलाको मेहनतलाई आँखा झिम्क्याउँदै कस्ले किन्दियो भन्ने पुरुष यौन पिपासु हो, बलात्कारी हो, यौन दुर्व्यवहारी हो भन्ने विषयलाई छोएको छ।

प्रश्न उठ्ने हो भने सबै महिला सकम्बरी हुँदैनन् भनेजस्तै सबै पुरुष ‘बलात्कारी दाइ’ हुँदैनन् भनेर पनि सामाजिक सञ्जाल तात्न सक्नुपर्थ्यो। मेरो बुझाइमा पितृसत्ताका मतियारहरू साना कुरामा अल्झिन्छन् र ठूला कुरालाई ओझेलमा पार्छन्। यसमा पनि यही प्रयास भइरहेको छ।

यतिबेला बहस हुन जरुरी थियो त समाजले निर्माण गरेको महिलाप्रतिको भाष्यमा। बहस हुनुपर्थ्यो त सत्ताले महिलाप्रति गरेको व्यवहारमा। बहस हुनैपर्थ्यो त महिलाप्रतिको पितृसत्तात्मक दृष्टिकोणमा। तर, बहस अझै प्रवृत्ति केन्द्रित नभएर कलाकार केन्द्रित मात्र छ।

महिला अध्यक्ष हुँदा संस्था छाड्ने पुरुष अनि महिला सम्पादक भएकै आधारमा न्युजरुम छाडेर चिया पसलमा गफ हाँक्ने पुरुष प्रकाश सपुतको गीत भन्दा अगाडि नै छन् हाम्रो समाजमा।

कुनै कार्यक्रममा दौरा सुरुवाल, ढाका टोपीमा चटक्क भएर ट्रेमा खादा र ब्याच बोकेर शिर निहुराउँदै मञ्चमा आसिन ठूलाबडालाई सम्मान गरेको पुरुष देख्नुभएको छ? सम्भवतः छैन।

त्यहाँ सारी, वानपिस लगाएका सुन्दरीहरू कम्मर मर्काउँदै समाजले तोकेको संस्कारी रूपमा मसक्क मस्केर खादा लगाइरहेको देख्न सकिन्छ। जो संघ-संगठनमा अटाएका छन्, उनीहरू यही कामका लागि नै अटाए जस्तै देखिन्छ।

महिला अध्यक्ष हुँदा संस्था छाड्ने पुरुष अनि महिला सम्पादक भएकै आधारमा न्युजरुम छाडेर चिया पसलमा गफ हाँक्ने पुरुष प्रकाश सपुतको गीत भन्दा अगाडि नै छन् हाम्रो समाजमा।

कला सफ्ट पावर हो। पावर कता देखाउने भन्ने मात्र हो। अहिले प्रकाश सपुतले कलाले पावर देखाए।

डायमन्डका लागि हैन चामलका लागि, रातो स्कुटीका लागि हैन आफ्नै शिक्षाका लागि, पाउजु अनि गलामा हारका लागि हैन गाँस, बास अनि कपासका लागि शरीरमा अर्काको ओठको डाम बोक्न बाध्य भइरहेकाहरूको संख्या अधिक छ नेपाली यौन बजारमा।

समाजले यसलाई व्यक्तिगत रूपमा लिइदियो। महिलालाई बेश्या बनाएको देख्यो। तर, कति धेरै युवती घरमा विद्रोह गरेर शहरमा आएर भोगेका दुःख देखेन। समयमा तलब नपाउँदा, बेरोजगारीले गाँज्दा बाध्यतामा रत्नपार्क र ठमेलका गल्लीमा शरीरका ग्राहक खोज्नेहरू देखेन। फोनको भरमा बैंकको सिसामा उभिए झैँ होटलको कोठामा ग्राहकको अगाडि उभिन बाध्य युवतीहरूको कथा देखेन।

प्रकाशको गीत समाजमा रहेको एक पाटोको ऐना हो। तर ऐना पनि कसरी देखाउने भन्ने त हुन्छ नै। उनले समाजलाई ऐना देखाउँदा जुन शब्द र शैली अपनाए त्यो स्वीकार गरिहाल्न सकिने खालको छैन।

अपवादबाहेक कुनै पनि महिला आफ्नो शरीरलाई शौखले आय आर्जनको माध्यम बनाउन तयार हुन्नन्। आफ्नो शरीरलाई यौन प्यास मेटाउने साधन बनाउन राजी हुने निर्णय कठिन निर्णय हो। अधिकांशमा शिक्षा, रोजगारी अनि आयआर्जनको माध्यमको अभाव मिसिएका हुन्छन् यस्तो निर्णयमा।

डायमन्डका लागि हैन चामलका लागि, रातो स्कुटीका लागि हैन आफ्नै शिक्षाका लागि, पाउजु अनि गलामा हारका लागि हैन गाँस, बास अनि कपासका लागि शरीरमा अर्काको ओठको डाम बोक्न बाध्य भइरहेकाहरूको संख्या अधिक छ नेपाली यौन बजारमा। यसमा प्रकाशको दृष्ट्रिदोष देखिन्छ नै।

तर परिवर्तन एक व्यक्ति केन्द्रित आलोचनाबाट सम्भव छैन। यो प्रकाशको गल्ती हैन, प्रकाश सपुत हुर्किएको समाजको सोचको प्रतिफल हो। त्यसैले प्रहार प्रकाशमा गरेर सुधार सम्भव छैन। प्रहार सोचमा गरौँ। प्रकाशलाई हैन पितृसत्तात्मक सोचलाई हराऔँ।

५ बैशाख, २०८०, २०:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।