मन्त्रीका लागि कर्णाली कांग्रेसद्वारा तीन जनाको नाम सिफारिस

मन्त्रीका लागि कर्णाली कांग्रेसद्वारा तीन जनाको नाम सिफारिस

सुर्खेत : नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई बुझाएको छ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार सुर्खेत ‘क’बाट निर्वाचित खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा ‘ख’बाट निर्वाचित वेदराज सिंह र दैलेख–१ ‘ख’बाट निर्वाचित कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।

पोखरेल सामाजिक विकासमन्त्री, सिंह आर्थिक मामिला तथा योजनामन्त्री र बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुने शाहीले जानकारी दिए।

कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय कायम गर्ने सहमति भएको थियो। सहमति कार्यान्वयनका लागि मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ।

त्यसलगत्तै कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी छ।

माओवादीले कर्णालीमा मुख्यमन्त्री, मन्त्री र एक राज्यमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी लिएको छ।

वैशाख ५, २०८० मंगलबार १९:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।