कोशीका मुख्यमन्त्रीको सय दिने उपलब्धी : नामाङ्कन र मन्त्रालय घटुवा
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले उपलब्धि सार्वजनिक गरेका हुन्। मुख्यमन्त्रीले सार्वजनिक गरेको मुख्य उपलब्धिमा मन्त्रालयको संख्या कटौती र नामाङ्कन रहेको छ।
यसअघि भएका १३ मन्त्रालय रहेको प्रदेशमा अहिले ९ मन्त्रालय छ भने फागुन १७ गते प्रदेशसभाबाट प्रदेशको नाम कोशी राखिएको थियो।
सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारीता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरेको विषय पनि मुख्यमन्त्रीले उपलब्धीमा समावेश गरेका छन्।
कार्कीले १५ वटा स्थानीय तहहरूको अद्यावधिक योजना निर्माण कार्य अगाडि बढाएको, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धिका लागि तालिम दिएको, प्रदेशसभाबाट दुईवटा विधेयक पास भएको, चारवटा विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको र चार वटा नियमावली स्वीकृत भएको पनि उपलब्धी मानेका छन्।
प्रदेशमा किसानलाई ४०७ मेट्रिकटन प्राङ्गरिक मल उपलब्ध गराएको, व्यावसायिक रूपमा दूध उत्पादन गर्ने १६ हजार ९५ जना किसानलाई एक करोड १७ लाख अनुदान उपलब्ध गराएको, ४६८ वटा बोयर जातका बाख्रा वितरण गरेको विषय सय दिने उपलब्धिमा समावेश छन्।
वैशाख ५, २०८० मंगलबार १७:४१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।