एसीसी प्रिमियर कपमा मलेसियासँग भिड्दै नेपाल, उपाधि जिते भारत र पाकिस्तानसँग खेल्ने
काठमाडौं : आजदेखि घरेलु मैदानमा सुरु भएको एसीसी प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ।
यो प्रतियोगिता नेपालका लागि यसकारण निकै महत्वपूर्ण छ कि यसको उपाधि विजेता एक टिमले भारत र पाकिस्तानको राष्ट्रिय टिमसँग खेल्ने अवसर पाउँछ।
एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
घरेलु मैदान र समर्थकको साथ पाएको नेपाललाई उपाधिको प्रमुख दाबेदारको रुपमा हरिएको छ। तुलनात्मक रुपमा मलेसियालाई भने नेपाल भन्दा कमजोर मानिन्छ।
नेपाली टिमको हालको सानदार फर्मका कारण पनि मनोबल निकै उच्च रहेको छ। गत महिना आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सानदार प्रदर्शन गर्दै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको थियो।
लिग-२ का पछिल्ला १२ खेलमा नेपालले ११ खेल जितेको थियो।
उक्त लिगमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल एकदिवसीय क्रिकेटमा घरेलु मैदानमा १० खेलको विजयी यात्रामा छ। यसै लयलाई कायमै राख्दै प्रिमियर कपको उपाधि जित्ने लक्ष्य नेपालले लिएको छ।
नयाँ प्रशिक्षक मोन्टी देशाई आएपछि नेपालको प्रदर्शन तारिफ योग्य बनेको छ। वशेषगरी नेपालको ब्याटिङ निके सुधारिएको देख्न सकिन्छ।
नेपालले यो उपाधि जितेमा पहिलो पटक एसिया कपमा छनोट हुने इतिहास पनि बनाउनेछ। उता आईसीसीको एशोसिएट राष्ट्रले भारत र पाकिस्तान जस्तो टेष्ट मान्यता प्राप्त टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटका लागि आफैंमा ठूलो उपलब्धि समेत हुनेछ।
नेपाललाई उपाधि दौडमा विशेषगरी ओमान, यूएई र हङकङ जस्ता टिमले चुनौती दिन सक्ने छन्।
एसिया कप यसै वर्ष सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ। एसिया कपको यो १६ औं संस्करण एकदिवसीय फर्म्याट (५० ओभर) मा खेलाइँदैछ।
कुल ६ टिमको सहभागिता रहने प्रतियोगितामा एसियाबाट पाँच टेष्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै छनोट भइसकेका छन्। अब यस एसीसी प्रिमियर कपबाट विजेता एक टिम एसिया कपमा छनोट हुनेछ।
यस बाहेक एसीसी प्रिमियर कपका शीर्ष तीन टिम यसै वर्ष हुने एसीसी इमर्जिङ टिम एसिया कपका लागि पनि छनोट हुनेछन्। यस प्रतियोगतामा भने एसियाका पाँच टेष्ट खेल्ने राष्ट्रका ए टिमले खेल्नेछन्।
प्रिमियर कपको संरचना
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा १० टिम सहभागी छन्। यी १० टिमलाई दुई समूहमा बाँडिएको छ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।
जसअनुसार समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह बी मा भने यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
खेल कीर्तिपुर स्थित टियू मैदान र मूलपानीमा हुनेछ।
वैशाख ५, २०८० मंगलबार ०७:४६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।