प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न तीन दल सहमत

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न तीन दल सहमत

काठमाडौं : प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रमुख तीन दल सहमत भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस गर्ने सहमति भएको हो।

यस्तै, बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे पनि छलफल भएको नेताहरूले जानकारी दिएका छन्।

संसद्मा अघि बढाउन लागिएका विधेयकबारे समझदारी जुटाउन प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा एमाले अध्यक्ष ओलीको निवास पुगेका हुन्।

ओली भाइरल ज्वरोका कारण घरमै आराम गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतमा छिटो प्रधानन्यायाधीश नियुक्तिको बाटो खोल्न संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट पारित गर्नुपर्ने धारणा राखेका थिए।

यस्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने विषयमा पनि सकारात्मक हुन एमालेलाई आग्रह गरेका थिए।

बैठकमा तीनै दलका प्रमुख सचेतक र सचेतक पनि सहभागी थिए।

वैशाख ४, २०८० सोमबार १६:४८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।