बुटवलका मिठाइ पसल र डेरीले किसानका लाखौं रकम तिरेनन्, पसल अगाडि नै धर्ना
बुटवल : बुटवलको कस्तूरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीले दूध खरिद गरेबापतको किसानको पैसा तिर्न आनाकानी गरेका छन्।
रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेका किसानहरुले पैसा नपाएपछि दुवै पसल अगाडि धर्ना दिएका छन्।
‘पटक पटक पैसाको माग गरे पनि कस्तूरी र पाठकले पैसा तिर्न आनाकानी गरेपछि धर्ना दिन बाध्य भएका हौ,’ सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले भने।
उनका अनुसार कस्तूरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीले किसानको कुल २५ लाख ३० हजार ४ सय रुपैयाँ दिन बाँकी छ। कस्तूरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दूध डेरीले ११ लाख ६० हजार तिर्न बाँकी रहेको उनले बताए।
पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउँदै आएकाले अनिश्चितकालीन धर्नामा बस्नु परेको उनको भनाई छ।
वैशाख ४, २०८० सोमबार ११:५५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।