जाडोमा समेत रोकिएन डेंगुको संक्रमण, महामारी नियन्त्रणमा चुकेको सरकारलाई यो वर्ष थप चुनौती
काठमाडौं : नेपालमा गत वर्ष डेंगुको संक्रमणका कारण ८८ जनाले ज्यान गुमाए भने ५४ हजार ७८४ जना संक्रमित भेटिएका थिए।
यो इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि) ले सार्वजनिक गरेको तथ्यांक मात्रै हो। कति संक्रमितले डेंगु परीक्षण नै गरेनन्। त्यसको कुनै तथ्याङ छैन।
गत वर्ष काठमाडौं उपत्यकामा डेंगु संक्रमणले महामारीकै रुप लिँदा सरकार भने महामारी नियन्त्रणमा चुकेको थियो। अब गर्मी बढेसँगै र मनसुन सुरु हुन लाग्दा यसपालि पनि डेंगुको संक्रमण बिस्तारै बढ्ने अनुमान छ। तर, सरकारले भने डेंगु नियन्त्रणका लागि बेलैमा सक्रिय गतिविधि देखिएको छैन।
जनवरी १ देखि अहिलेसम्मको तथ्यांक हेर्दा करिब चार सय डेंगु पोजेटिभ केस देखिएको छ।
रोग नियन्त्रण महाशाखाका अनुसार २०२३ जनवरी १ (पुस १७) देखि चैतसम्म करिब चार सय जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। महाशाखाको यो तथ्यांकबाट नै नेपालमा जाडोमा समेत डेंगुको संक्रमण शून्य अवस्थामा नझरेको पुष्टि हुन्छ।
जाडो र त्यसपछिका साढे तीन महिनामा करिब चार सय व्यक्तिमा डेंगु संक्रमण हुनुले अबका महिनामा डेंगु संक्रमणको जोखिम बढ्ने नै देखिन्छ।
चैतको पछिल्ला तीन हप्ता भने संक्रमितको संख्या त्यस अघिको तुलनामा कम देखिएको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।
‘जनवरी १ देखि अहिलेसम्मको तथ्यांक हेर्दा करिब चार सय डेंगु पोजेटिभ केस देखिएको छ,’ उनले भने, ‘५२ जिल्लाका एक सय १२ भन्दा बढि पालिकाबाट रिपोर्टिङ भएको छ।’
जसमध्ये सबैभन्दा बढी दार्चुलामा एक सय ७० जनामा डेंगु संक्रमण देखिएको डा. दाहालले बताए। कतिपय ठाउँमा एन्टिबडी परीक्षण भएको पाइएको उनी बताउँछन्। डेंगु संक्रमण भएपछि व्यक्तिको शरीरमा डेंगु विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बन्छ।
गत वर्ष डेंगु फैलनु पूर्व नै प्रभावकारी रुपमा सतर्कता नअपनाउँदा डेंगुले महामारीकै रुप लिएकाले यो वर्ष बेलैमा सतर्कता अपनाउन विज्ञको सुझाव छ।
महाशाखाका निर्देशक डा. चुमनलाल दास पनि यो वर्षसमेत डेंगु महामारिको जोखिम रहेको स्वीकार्छन्। ‘महामारिको जोखिम नभएको हैन, जोखिम त छ नै,’ उनले भने, ‘प्रत्येक २/३ वर्षमा आउटब्रेक भएको देखिएको छ।’
तर, यो वर्ष डेंगु संक्रमणले महामारिको रुप लिन्छ वा लिँदैन भन्न भने मुस्किल पर्ने उनले बताए। त्यसैले डेंगु फैलन नदिन विभिन्न कामहरु गरिरहेको उनी दाबी गर्छन्। एक हप्ता अघि प्रदेशहरुका सम्बन्धित मन्त्रालयका सचिवहरुका बीचमा छलफल गरेर डेंगु नियन्त्रण गर्न तथा फैलन नदिनका लागि निर्देशन समेत दिइसकेको उनले बताए।
महाशाखाको तथ्यांकबाट नै नेपालमा जाडोमा समेत डेंगुको संक्रमण शून्य अवस्थामा नझरेको पुष्टि हुन्छ।
उनले उपत्यका भित्रको लागि पनि अर्को चरणमा छलफल गर्ने बताए। डेंगु बढ्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै स्थानीय तहलाई समेत अलर्ट गराइसकेको उनले जानकारी दिए।
बेलैमा सचेत नभए महामारीको जोखिम
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर नेपालमा मनसुन सुरु भएपछि डेंगु संक्रमण देखिने गरेको बताउँछन्।
नेपालमा सामान्यतया जेठ, असार (जुन, जुलाई) महिनामा मनसुन सुरु हुन्छ। तर, मनसुन सुरु हुनुअघि पानी परेको खण्डमा समेत डेंगु संक्रमणको जोखिम बढ्ने डा. पुनले बताए। केही दिनको अन्तरालमा पानी पर्दै रोकिँदै गरेको खण्डमा लामो समय जमेको पानीबाट लार्भाको वृद्धि विकास भएर लामखुट्टे फैलने जोखिम हुने उनी बताउँछन्।
मानिस सक्रिय हुने समयमा नै लामखुट्टे पनि सक्रिय हुने भएकाले यो समयमा लामखुट्टेले टोकेको थाहा नै नपाउने समस्या हुन्छ।
डा. पुनका अनुसार लामखुट्टेको लार्भा वयस्क भएर डेंगु फैलिसके पछि झुल लगाउने जस्ता बच्ने उपाय त्यति प्रभावकारी देखिँदैन। त्यसैले डेंगु फैलनु पूर्व नै लामखुट्टेको लार्भा नष्ट गर्नेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ।
‘लामखुट्टेको लार्भा नष्ट गर्ने कोसिस गरेनौं भने त्यो वयस्क हुन्छ र फेरि पनि घर घरमा बिरामी हुनुको अलावा केही गर्न नसक्ने अवस्था नआउला भन्न सकिँदैन,’ उनले भने, ‘जुन पाठ सन् २०१९ र २०२२ को डेंगु आउट ब्रेकले सिकाइसकेको छ।’
थाहै नपाई टोकेपछि...
डा. पुनका अनुसार विशेषगरी बिहान सूर्य उदाएपछि र बेलुका सूर्य अस्ताउनु करिब दुई घण्टा अघि समयमा लामखुट्टे बढी सक्रिय हुन्छ। जुन समय व्यक्तिले सक्रिय दैनिक काम गर्ने समय हो।
व्यक्ति सक्रिय हुने समयमा नै लामखुट्टे पनि सक्रिय हुने भएकाले यो समयमा लामखुट्टेले टोकेको थाहा नै नपाउने समस्या हुन्छ। जुन चुनौतीपूर्ण हुने उनले बताए।
‘अहिले अपनाइरहेका उपायहरुलाई पनि चुनौती छ,’ डा. पुनले भने, ‘हामी दिनमा काम गर्छौं। अनि दिनमा नै लामखुट्टे सक्रिय हुने भएकाले हामी टोकेको थाहै पाउँदैनौं।’
डेंगु संक्रमित लामखुट्टेले टोकेको दश दिनसम्ममा लक्षण देखिने डा. पुन बताउँछन्। एक्कासि उच्च ज्वरो आउने र शरीर कटकटी खाने डेंगुका मुख्य लक्षण हुन्।
त्यसो त अघिल्लो वर्ष दशैं तिहार सकिएर जाडो मौसम सुरु हुँदा समेत प्रकोपकै रुपमा काठमाडौंको घट्टेकुलो क्षेत्रमा डेंगु फैलिएको थियो। तर, रोग नियन्त्रण महाशाखाले भने घट्टेकुलोमा नै डेंगु फैलँदा समेत थाहा नपाएजस्तो गरेको थियो।
चिकित्सकको मत अनुसार खाल्डाखुल्डी तथा टायरमा पानी जम्दा डेंगुको जोखिम बढी हुन्छ। संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेको खण्डमा डेंगु सर्छ। हाल यातायाल लगायतको आवतजावतका कारण हिमाली जिल्लाहरुमा समेत डेंगु संक्रमण देखिन थालेको छ।
यस्ता हुन्छन् डेंगुका लक्षण
डेंगु संक्रमित लामखुट्टेले टोकेको दश दिनसम्ममा लक्षण देखिने डा. पुन बताउँछन्। एक्कासि उच्च ज्वरो आउने र शरीर कटकटी खाने डेंगुका मुख्य लक्षण हुन्। साथै डेंगु भएमा टाउको दुख्ने, आँखाको गेडी दुख्ने, छालामा साना राता डाबर आउने जस्ता अन्य लक्षण पनि देखिन सक्छन्।
ज्वरो आएर शरीरका मांसपेशी कटकटी खाएमा डेंगु संक्रमणको शंका गर्न सकिने अवस्था हने उनले बताए। संक्रमण भएको सुरुआती चरणमा शरीरका हाडजोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुने जस्ता लक्षण देखिन्छन्। सुरुआति चरणमा देखिने यस्ता लक्षणलाई चिकित्सकीय भाषामा ‘डेंगु फिबर’ भन्ने गरिन्छ।
संक्रमित लामखुट्टेले पारेको फुलमा भाइरस हुने र एउटा लामखुट्टेले त्यसको जीवनमा नौ सय वटा संक्रमित लामखुट्टे जन्माउन सक्ने हुन्छ।
शरीरमा डेंगु संक्रमण फैलिएर लक्षण लम्बिँदै गएको अवस्थामा गिजा र नाकबाट रक्तश्राव हुने, पिसाब रातो हुने, दिशा कालो हुने जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण भएको भइरसको अवस्थालाई ‘डेंगु हेमोरेजिक फिबर’ भन्ने गरिन्छ।
डेंगु भाइरस संक्रमणले कडा रुप लिएको खण्डमा मिर्गौला, कलेजो, मुटु, स्नायु जस्ता अंगमा नकारात्मक असर गर्ने चिकित्सक बताउँछन्। डेंगुको संक्रमणका कारण स्वास्थ्य जटिलता बढ्दै गएको खण्डमा व्यक्तिको ज्यानै समेत जाने जोखिम हुन्छ।
लगातार बान्ता हुने, पेट दुख्ने, शरीर आलस्य हुने र रक्तश्राव हुने जस्ता लक्षण देखिए तुरुन्तै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न डा. पुनको सुझाव छ।
त्यसो त डेंगु संक्रमण भएको खण्डमा यसका विरुद्धमा प्रयोग गर्ने विशेष औषधि समेत छैन। त्यसैले लक्षणको आधारमा संक्रमितको उपचार हुने चिकित्सक बताउँछन्।
डेंगु संक्रमणका कारण हुने मृत्युदर एक प्रतिशत भन्दा कम रहेकाले सतर्क त हुनुपर्ने तर आत्तिहाल्न भने नहुने डा. पुनको सुझाव छ।
लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय
डेंगु संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय रहेको विज्ञको सुझाव छ। जसका लागि झुल लगाएर सुत्नु तथा पूरा शरीर ढाक्ने किसिमले कपडा लगाउनुपर्छ।
दिउँसो बढी एडिस जातको लामखुट्टे सक्रिय हुने भएकाले काममा व्यस्त हुँदा समेत यो बेला लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकको सुझाव छ।
लामखुट्टेले बाँच्नका लागि कम समयमा धेरै व्यक्तिको रगत चुस्छ र छोटो समयमा नै धेरै व्यक्तिमा डेंगु सर्न सक्छ। त्यसैले बेलैमा लामखुट्टेका अण्डा नियन्त्रण नगर्ने हो भने महामारीकै जोखिम निम्तिन सक्छ।
चिकित्सकको मत अनुसार डेंगु फैलिएको खण्डमा विषादीको धुवाँ समेत छरिने भए पनि यो त्यति प्रभावकारी हुँदैन। त्यसैले ‘सर्च एण्ड डिस्ट्रोय’ विधि अपनाएर लामखुट्टेको अण्डा तथा लार्भा नष्ट गर्ने र पानी जम्न नदिने विधि अपनाउनु प्रभावकारी हुन्छ।
लामखुट्टेको वृद्धिका लागि फूल पार्ने उपयुक्त वातावरण नै गर्मीमा जमेको सफा पानी हुने चिकित्सक बताउँछन्। त्यसैले विशेषगरी मनसुनको समयमा टिनका डब्बा, टायर, खाली ड्रम जस्ता चिजमा पानी जम्मा हुन दिन हुँदैन। सुक्खा ठाउँमा समेत एक वर्षसम्म लामखुट्टेका अण्ड बाँच्न सक्ने भएकाले त्यस्ता अण्डामा पानी परेपछि लामखुट्टे उत्पादन हुने विशेषज्ञ बताउँछन्।
लामखुट्टेका प्रकार - चार
चिकित्सकका अनुसार डेंगु– १, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी कुल चार प्रकार (सेरोटाइप)का डेंगु हुन्छन्। स्वास्थ्य परीक्षणपछि डेंगु संक्रमण भए नभएको यकिन गर्न सकिन्छ।
डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो। एडिस जातको पोथी लामखुट्टेले टोकेको खण्डमा डेंगु भाइरस सर्छ। सामान्यतया १६ डिग्रीभन्दा बढि तापक्रम एडिस जातको लामखुट्टेको लागी उचित वातावरण हुने उनी डा. पुन बताउँछन्।
सामान्यतया एउटा लामखुट्टे ४५ दिन बाँच्न सक्छ। एउटा लामखुट्टेले एक पटकमा सय वटा फुल पार्न सक्ने र एडिस जातको लामखुट्टेले जीवन अवधि भरमा नौ पटक फुल पार्ने डा. पुनले बताए। संक्रमित लामखुट्टेले पारेको फुलमा भाइरस हुने र एउटा लामखुट्टेले त्यसको जीवनमा नौ सय वटा संक्रमित लामखुट्टे जन्माउन सक्ने उनी बताउँछन्।
लामखुट्टेले बाँच्नका लागि कम समयमा धेरै व्यक्तिको रगत चुस्छ र छोटो समयमा नै धेरै व्यक्तिमा डेंगु सर्न सक्छ। त्यसैले बेलैमा लामखुट्टेका अण्डा नियन्त्रण नगर्ने हो भने महामारीकै जोखिम निम्तिन सक्ने तर्फ डा. पुन बताउँछन्।
वैशाख ४, २०८० सोमबार ११:४१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।