पैसा फिर्ता दिन नसकेपछि बुटवलको आगन्तुक सहकारीका सञ्चालकहरू सम्पर्कविहीन, बचतकर्ताको बिचल्ली

पैसा फिर्ता दिन नसकेपछि बुटवलको आगन्तुक सहकारीका सञ्चालकहरू सम्पर्कविहीन, बचतकर्ताको बिचल्ली

बुटवल : बुटवल अमरपथमा मोबाइल पसल चलाउने पुरुषोत्तम खनालले अमरपथमै प्रधान कार्यालय रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा दैनिक बचत गर्थे। मोबाइल पसलबाट हुने आम्दानी अनुसार दैनिक २ हजारदेखि ४ हजारसम्म उनको बचत हुने गर्थ्यो।

पुरुषोत्तम अहिले पनि दैनिक जसो सहकारीमा पुग्छन्। तर रकम जम्मा गर्न भने होइन, आफ्नो रकम फिर्ता लिनका लागि। तर हाल जहिले पनि सहकारीमा पुग्दा ताला मात्र लागेको हुन्छ।

‘दुःखले कमाएको रकम पछिलाई गर्जो टार्न बचत गरें। तर अहिले आफूलाई अप्ठ्यारो पर्दा सहकारीमा ताला लागेको छ। सञ्चालकहरुलाई फोन गर्दा फोन उठ्दैन,’ उनले भने।

अमरपथकै बुद्ध खनालले सोही सहकारीमा ३ लाख ३८ हजार रुपैयाँ जम्मा गरेका छन्। उनी पनि आफ्नो बचत रकम फिर्ताका लागि सहकारीमा पुगेर सधैं रित्तो हात फर्कन बाध्य छन्। 

‘सहकारीले बचतकर्ता र आफ्ना सदस्यलाई भएको के भन्ने बारे कम्तीमा जानकारी दिनुपर्छ। सदस्यहरुलाई भ्रममा पार्नुभन्दा जानकारी गराएको भए अहिले हामीलाई यसरी दुःख हुने थिएन,’ उनले भने।

यी दुई त केवल प्रतिनिधि पात्र मात्र हुन्। अहिले आगन्तुक सहकारी समस्याग्रस्त भएपछि कार्यालय नै बन्द गरी सञ्चालकहरु सम्पर्कविहीन भएका छन्।

बचतकर्ताको रकम अपचालन गरेर सञ्चालकहरु सम्पर्कविहीन भएपछि बचतकर्ताको बिचल्ली भएको छ। अहिले पनि दैनिक जसो सहकारीमा रकम फिर्ताका लागि बचतकर्ता पुगे पनि सहकारी भने बन्द छ।

कतिपय व्यक्तिहरुलाई सहकारीले रकम फिर्ताका लागि आफ्नो चेक दिएर पठाएको छ। तर चेक सटही हुन सकेको छैन।

‘गत माघ १० गते नै सहकारीले नेफ्सुनको चेक दिए पनि अहिलेसम्म ६ लाख १० हजारको चेक सटही नै भएको छैन,’ बचतकर्ता पुरुषोत्तम खनालले भने।

श्रम गरेर पाएको ज्याला दुःखमा काम लाग्ला भनेर जम्मा गरे पनि चेक सटही नहुँदा आफू अप्ठ्यारोमा परेको उनले बताए। उनले १ लाख रुपैयाँको चेक मात्र सटहीका लागि नेफ्सुनमा जाँदा पनि खाता नै ब्लक गरेको पाइएको बताए। 

बुटवल अमरपथका लक्ष्मण थापाले पनि १ लाख ७६ हजार बढी रुपैयाँ आगन्तुक सहकारीमा रहेको र अहिले आफूले उक्त रकम फिर्ता नपाएको बताए।

यता आगन्तुक सहकारीका सञ्चालक राजु घर्तीले भने आफू काठमाडौंमा रहेको र यसबारे पछि मात्र कुरा गर्ने जानकारी दिए। अर्को दिन पनि उनलाई बारम्बार सम्पर्क गर्न खोज्दा भने उनी सम्पर्कमा आउन चाहेनन्।

सहकारीको मूल सिद्धान्तभन्दा बाहिर रहँदा अहिले आगन्तुक सहकारी समस्यामा परेको हो। यसबाहेक बुटवलका सुप्रीम सहकारी र शिवशिखर सहकारी पनि बन्द छन्। उनीहरुले पनि बचतकर्ताको रकम अहिलेसम्म फिर्ता गर्न सकेका छैनन्। रुपन्देहीको भलवारीमा रहेको कल्पवृक्ष सहित १० वटा सहकारी समस्यामा परेका छन्। 

प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा दर्ता नभएका तर कार्यक्षेत्र बनाएर सञ्चालनमा आएका केही सहकारीमा समस्या देखिएको बताउँदै त्यसको नियमनका लागि बोर्डले काम गरिरहेको बताए। 

प्रदेशका सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले पनि सहकारी नियमनमा केही समस्या भएको स्वीकार गरे। उनले जम्मा ६ जना मात्र कर्मचारी रहेका कारण सहकारीहरुको अनुगमनमा समस्या देखिएको बताए।

उनले अहिलेसम्म १ सय बढि सहकारीमा अनुगमन गरेर केहीलाई कारबाहीका लागि प्रक्रियासमेत अगाडि बढाएको जानकारी दिएका छन्।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य माधवलाल देवकोटाले भने सहकारी सञ्चालनका लागि बाहिरबाट ऋण लिने र सर्वसाधारणबाट क्षमताभन्दा बढी रकम संकलन गरी उक्त रकम बाहिर लगानी गर्ने गरेको कारण पैसा नउठेपछि बचतकर्ताहरूलाई फिर्ता गर्न समस्या परेको बताएका छन्।

वैशाख ४, २०८० सोमबार ०८:३०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।