सेक्युरिटी प्रिन्टिङ खरिदमा ६९ करोड घोटाला, केन्द्रका कार्यकारी निर्देशकसहित नाै जनाविरुद्ध मुद्दा

सेक्युरिटी प्रिन्टिङ खरिदमा ६९ करोड घोटाला, केन्द्रका कार्यकारी निर्देशकसहित नाै जनाविरुद्ध मुद्दा

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड घोटाला भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले  सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन ‘इलेक्ट्रिक ट्रान्सफर्मर’ स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवाबापत अग्रिम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने ‘बल्क फ्युल ट्यांक सिस्टम’ खरिद गरी सरकारी सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरूपयोग गरेको अख्तियारको आरोप छ।

आफूहरूको अनुसन्धानमा नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरूपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

कार्यकारी निर्देशक पौडेललाई ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४, सिडिई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५, सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार आठ सय २७, लेखा अधिकृतबाट निवृत्त रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड एक लाख ३९ हजार सात सय ४६, रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र मित्रलाल गुरौविरुद्ध आठ लाख ६९ हजार बिगो दाबी गरिएको छ।

३ बैशाख, २०८०, १९:५२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।