सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्नेछ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन्।
कांग्रेस मकवानपुर-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताए।
‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस्, चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्। चाहे त्यो प्रधानमन्त्री होस्। उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ। अहिले युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ,’ उनले भने, ‘उसलाई भ्याइ नभ्याइ हुनुपर्दछ। त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नुपर्दछ। अनि मात्रै परिणाम दिन सकिन्छ।’
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए।
उनले भने, ‘हामीले ठीक ढंगले काम गर्न सक्यौं भने अबको ३/४ महिना भित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन। स्थिति ठीक छैन, असहज छ। राम्रोसँग सम्हालेनौं भने बिग्रँदै जान्छ। ठीक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौं भने फेरि सम्हालिँदै जान्छ।’
वैशाख २, २०८० शनिबार १७:१३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।