नयाँ वर्षमा लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ चालकसहित सात जना पक्राउ
काठमाडौं : काठमाडौंको नागढुङ्गामा नयाँ वर्षको दिन गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालक सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार दिउँसो २० ओटा सवारी साधनका चालक तथा पछाडी सवार मानिसलाई चेक गर्दा ७ जनाले लागुपदार्थ सेवन गरेको पाइएको हो।
लागुपदार्थ सेवन गर्नेहरूमा बा १३ च ११८ नम्बरको कारका चालक नुवाकोटको शिवपुरी गाउँपालिका ५ का ३४ वर्षीय राम पाण्डे, प्रदेश ३-०२-०११ प १७९६ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ४ बस्ने २० वर्षीय मुकेश लामिछाने, बागमती प्रदेश-०२-०३४ प ९३२३ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० बस्ने २१ वर्षीय आयम पौडेल रहेका छन्।
यस्तै प्रदेश २-०३-०३७ प ९५७९ नम्बरको मोटरसाइकलका चालक ललितपुरको सानेपा बस्ने ४० वर्षीय राजेश कुमार श्रेष्ठ, बागमती प्रदेश-०२-०३४ प ३४२० नम्बरको मोटरसाइकलमा पछाडी सवार धादिङको धुनिबेशी गाउँपालिका ५ का २८ वर्षीय कमल तामाङ, बागमती प्रदेश A AB ३४१६ इम्बोस्ड नम्बर प्लेटको सरकारी स्कुटरका चालक काठमाडौंको बुद्दनगर बस्ने धनुषाको जनकपुर उपमहानगरपालिका ४ का २८ वर्षीय अमन शर्मा र बा २ ख १६६२ नम्बरको हाइसका चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ बस्ने २५ वर्षीय आकाश महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।
लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका ७ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ। उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
वैशाख २, २०८० शनिबार १४:५७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।