पेन्सन पाउने उमेर बढाएपछि फ्रान्सभर प्रदर्शन र आगजनी

पेन्सन पाउने उमेर बढाएपछि फ्रान्सभर प्रदर्शन र आगजनी

एजेन्सी : पेन्सनका लागि उमेर हद बढाउने फ्रान्स सरकारको निर्णयको देशभर विरोध प्रदर्शन चर्केको छ।

प्रदर्शनकारीले धेरै ठाउँमा आगजनी गरेका छन्। हिंसा भड्काएको आरोपमा प्रहरीले ११२ जना पक्राउ गरेको छ।

फ्रान्सका ट्रेड युनियनहरूले सरकारमाथिको विरोधलाई अझै तीव्र बनाउने आह्वान गरेका छन्। उनीहरूले मे १ मा जनतालाई सडकमा उत्रन आग्रह गरेका छन्।

राष्ट्रपति इमानुएल म्याक्रोनले पेन्सन प्रणालीलाई ध्वस्त हुनबाट रोक्नको लागि सुधार गर्नुपर्ने तर्क गरेका छन्। त्यहाँको पेन्सल पाउने उमेरलाई ६२ बाट बढाएर ६४ वर्ष पुर्याइएको हो।

फ्रान्सको शीर्ष संवैधानिक परिषद्ले यो परिवर्तनलाई अनुमोदन गरेको छ। संवैधानिक परिषद्ले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गरेको छ।

मार्चमा, सरकारले विशेष संवैधानिक अधिकार प्रयोग गरी यो परिवर्तन लागू गरेको हो। यसका लागि मतदान भएन। शनिबार विहान राष्ट्रपतिले अनुमोदनमा हस्ताक्षर गरेर कानूनमा परिणत गरेका हुन्।

वैशाख २, २०८० शनिबार ११:१६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।