समिट अपार्टमेन्ट निर्माणले असर गर्‍यो भनेर पीडितले निवेदन दिइरहे, महानगर भन्छ : ‘निवेदन त आएकै छैन’

समिट अपार्टमेन्ट निर्माणले असर गर्‍यो भनेर पीडितले निवेदन दिइरहे, महानगर भन्छ : ‘निवेदन त आएकै छैन’

काठमाडौं : गतहप्ता शुक्रबार राति रञ्जन ध्वज विष्टको छोरा आफ्नो कोठामा ठाउँ नभएको कारण ‘बार्बक्यु’ गर्ने भन्दै पुरानो घरमा गए। बन्दै गरेको समिट अपार्टमेन्टले क्षति गर्न थालेकोले विष्टको परिवारै त्यो घर छाडेर छुट्टै फ्ल्याटमा बस्न थालेका थिए। तर प्रायः सबै सामान भने पुरानै घरमा राखिएको थियो।

रातको १२ बजे तिर घरहरु हल्लिन थालेपछि आत्तिंदै छोराले रञ्जनलाई बोलाए। यसको करिब डेढ/दुई घण्टापछि एक तल्लाभन्दा बढी भास्सिंदै घर गर्ल्यामगुर्लुम ढल्यो। टोलभरि नै त्यसको ठूलो आवाज आयो।

‘हामीले पटक/पटक वडा र महानगरपालिका सबैलाई लिखित अनि मौखिक जानकारी गराएका थियौं। पहिले खबर गर्दा नै केही कारबाही अगाडि बढाएको भए यति धेरै क्षति हुँदैन थियो होला।

तीन महिना अघि मात्र उनीहरु त्यहाँबाट सरेर छुट्टै फ्ल्याटमा बस्न थाले पनि घर भने भाडामा दिएका रहेछन्।आफूहरु नबसेको कारण एक अफिसलाई भाडामा दिएर अफिस टाइममा बाहेक नबस्न पनि त्यहाँ डेरामा बस्नेहरुलाई उनीहरूले भनेका रहेछन्।

तर घरको तल्लो तला पुरै अफिस प्रयोजनको लागि प्रयोग गर्न दिएकामा शुक्रबार दुई जना त्यही बसेका रहेछन्। 

‘त्यहाँ बस्ने भाइहरु सुतिरहनु नै भएको थियो। दुर्घटना हुनुभन्दा केही अगाडि हाम्रो कुरुवा भाइले ती भाइहरुलाई निकालेको थियो। हाम्रो सबै सामान लान नसकेको कारण दुइटा कोठा चैं स्टोरको रुपमा राखेर कुरुवा भाइ राखेको थिएँ,’ घटनाको दिन सम्झिँदै रञ्जन भन्छन्, ‘१५ मिनेटको तलमाथि भएको भए तीन जना मान्छेको ज्यान जान सक्थ्यो।’

करिब दुई वर्षअघि देखि बखुण्डोल हाइटमा रातभर जसो डोजर चल्ने, टिपरहरु ओहोरदोहोर हुने हुँदा बस्नै नसक्ने भएपछि फ्ल्याट खोजेर सर्न बाध्य भएको रञ्जनको भनाइ छ। 

यो कुरा उनले ललितपुर महानगरपालिकामा पनि भनेका रहेछन्। ‘हामीले पटक पटक वडा र महानगरपालिका सबैलाई लिखित अनि मौखिक जानकारी गराएका थियौं। पहिले खबर गर्दा नै केही कारबाही अगाडि बढाएको भए यति धेरै क्षति हुँदैन थियो होला,’ उनले आत्तिंदै भने,’ यिनीहरु (होटेल पक्ष) ले काम थालेको, रुखहरु काटेको त धेरै अगाडिदेखि हो। डेढ वर्ष जतिदेखि त यहाँ बनाउन नै सुरु भइसकेको थियो।’

आफ्नै टोलमा असर गर्दा मेयर भने बेखबर !

‘त्यो दुर्घटना हुनु भन्दा ४/५ दिन अगाडि समिट होटललाई मैले जानकारी गराएको थिएँ। यो भत्किन लागिसक्यो, चर्किसक्यो भनेर देखाएको पनि हो। उनीहरुले फोटो मात्र खिचेर लगे। पाँचौं दिनमा यो घटना भयो,’ रञ्जनले भने।

उक्त दुर्घटनामा रञ्जनको दुइटै घर पूर्ण रुपले क्षति भयो। रञ्जनको अनुसार उनको त्यहाँ १९ आना जग्गा छ।

२०७२ सालको भुकम्पले समेत केही नभएको उनको घर यसरी ध्वस्त हुँदा पनि महानगरपालिकाले थाहा पाएन भनेको समाचारहरु पढ्दा उनि स्तब्ध छन्। जबकि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन उनका छिमेकी हुन्। उनको घरभन्दा केही मिटर पर मात्र मेयर महर्जनको घर छ। 

आफ्नै टोलवासीहरु बसाइ सर्न थालेको छिमेकी मेयरले चाल पाएनन्। अनि स्थानीयले शंका गरेको विषय घटना घटेपश्चात मात्र महानगरले थाहा पायो।

त्यहाँ अपार्टमेन्ट नजिकै भएको घरहरु मात्र नभएर वरपरको बाटोहरु पनि भासिंदै गएको छ।

‘म अहिले ५१ वर्षको भएँ। मेरो बाल्यकाल, विवाह, बच्चा सबै यसै घरमा भएको हो। अहिले यसमा कति क्षति भयो भनेर अनुमान पनि गर्न सकिरहेको छैन। आधारातमा यत्रो हल्लाखल्ला हुनु अनि आफ्नै टोलमा भइरहेको यत्रो अवैधानिक काम बारे मेयरसाबलाई थाहा छैन भन्दा त अचम्म लागेको छ हामीलाई,’  उनले भने। 

सकेसम्म मनसुन भन्दा अगाडि नै सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको माग छ।

यता महानगरले भने अहिले आएर अपार्टमेन्टको नक्सा पास नभएको अनि वातावरणीय प्रभाव मूल्यांकनमा (ईआईए) समेत नगरिएको खुलेको बताउँदै उक्त घटनाको छानबिन गर्नको लागि बनाएको समितिको प्रतिवेदन पर्खिरहेको छ।

आफ्नै टोलवासीहरु बसाइ सर्न थालेको छिमेकी मेयरले चाल पाएनन्। अनि स्थानीयले शंका गरेको विषय घटना घटेपश्चात मात्र महानगरले थाहा पायो।

रञ्जनको घरसँगै रहेको सेतो बिल्डिङ पनि उनकै दाइको रहेछ। जसको सम्पूर्ण जिम्मा रञ्जनको भतिज ऋगध्वज विष्टसँग छ। उनको बन्दै गरेको त्यो घरको केही कोठाहरु त अगाडि नै बूकिङ पनि भइसकेको रहेछ। तर त्यो घरको पनि करिब डेढ तला तल भासिएको छ ।

दर्ता भएको निवेदन छ तर सूचना अधिकारी भन्छन्, ‘निवेदन आएको छैन’

उनको त्यहाँ १२ आना जग्गा छ। लगभग बनिसकेको भएर त्यस बिल्डिङमा धेरै खर्च लागेको उनले बताए। उनि त्यसकै पछाडिको घरमा बसिरहेका थिए। तर, त्यहाँ पनि अहिले क्षति भएपछि उनि पनि छुट्टै बस्छन्।

महानगर यसबारे घटनाभन्दा अगाडि बेखबर भएको अडानमै छ। सूचना अधिकारी गुरागाईं बरु यस विषयमा महानगरको कमजोरी भएको मान्छन् तर, घटनाभन्दा अगाडि त्यहाँ अवैधानिक रुपमा भवन बन्दै गरेकोमा थाहा नभएको बताउँछन्।

‘ड्यामेज हुँदैछ भनेर पहिलादेखि नै संकेत आइसकेको थियो। चार दिन अगाडिदेखि त जमिन ‘क्र्याक’ भइसकेको थियो,’ ऋगध्वज भन्छन्,’ महानगरपालिकामा मैले करिब एक महिनाभन्दा अघि देखि नै यसबारे ध्यानाकर्षण गर्दै तत्काल रोक्नको लागि निवेदन पनि दिएको थिएँ। एउटा त गत बैशाखमै पनि दिएको हो। तर, त्यसमा केही नभएपछि फागुनमा पनि अर्को निवेदन दिएँ। तर, त्यसमा पनि केही सुनुवाइ भएन।’ 

ऋगध्वजले महानगरको प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै फागुन १६ गते नै समिटले नक्सा पास बिनै गैरकानूनी रुपमा भवन निर्माण गरेको कारण त्यसको छानबिन गरेर तत्काल निर्माण कार्य रोक्का गर्न माग गरेको देखिन्छ। उनले ध्वनि प्रदूषणसँगै स्थानीयको स्वास्थ्यमा पनि असर गरेको भन्दै निवेदन दिएका थिए।

तर, यसबारेमा महानगरका सूचना अधिकारी देव प्रसाद गुरागाईंसँग बुझ्दा उनले ‘म आफैं सूचना अधिकारी हुँ। त्यस्तो केही गुनासो वा सूचना महानगरमा आएको भए मैले त थाहा पाउनुपर्ने नि हैन र!’ भने।

स्थानीयबासीले पटक पटक वडा अनि महानगरलाई जानकारी गराएको अनि घटना घटेकै बिहान वडा अध्यक्षकै रोहबरमा पीडित पक्ष र होटल पक्षबीच सम्झौता भए पनि नगरप्रमुख र वडा अध्यक्षहरु भने २६ गते मात्र घटनास्थलको जानकारी लिन गएका थिए। 

महानगर यसबारे घटनाभन्दा अगाडि बेखबर भएको अडानमै छ। सूचना अधिकारी गुरागाईं बरु यस विषयमा महानगरको कमजोरी भएको मान्छन् तर, घटनाभन्दा अगाडि त्यहाँ अवैधानिक रुपमा भवन बन्दै गरेकोमा थाहा नभएको बताउँछन्।

१५ घरमा क्षति, ११ जना पीडित

समिट अपार्टमेन्ट निर्माणले वरपरका घरहरुसँगै त्यहाँको ‘ग्रीनविच’ होटेलमा पनि क्षति पुगेको छ। नयाँ वर्ष र वैशाखमा हुने विवाहहरुको लागि लगभग सबै बूकिङ भइसकेको होटेल अहिले बन्द गरिएको छ। त्यो घटना हुने बेला होटेलको मालिक प्रविन आचार्य बाहिरै थिए।

उकेराले प्राप्त गरेको कागजातमा चैत २५ गते भएको सम्झौतामा सबै पीडितलाई सम्बोधन गर्दै ‘घरवार विहीन हुन पुगेका घरधनीहरुलाई कम्पनीको तर्फबाट यथास्थित घर पुनः निर्माण कार्य सम्पन्न नहुने समयसम्मको लागि बसोवासको व्यवस्था मिलाइने’ भनेको देखिन्छ। 

‘यो त स्लो अर्थक्वीक जस्तै भइरहेको छ। भुकम्पमा बरु एक पटक आएर जान्थ्यो। तर यहाँको जमिन त अझै स्थिर भएको छैन,’ उनले भने, ‘हामी सतर्क त थियौं। तर, यस्तो सारो होला भन्ने थिएन। होटेल, घर गरेर लगभग १२/१५ वटामा क्षति भएको छ, अहिले सम्म देखिएकोमा। समस्या जटिल छ। अहिले नै यति क्षति भयो भनेर भन्न सक्ने स्थिति छैन।’

उनका अनुसार महानगरको बैठक पछि त्यहाँ केही माटो राख्ने र इन्जिनियरहरु आएर हेर्ने बाहेक तत्काल त्यस क्षेत्रमा केही भएको छैन।

ग्रीनविच होटेलले निकालेको विज्ञप्तिमा ‘टोलवासीहरुले निर्माणाधीन उक्त संरचनामा गएर बन्द गर्न जानकारी दिंदा ‘तपाईंहरुको घर भत्किन्छ भनेर हामी पायलिङ गर्दैछौ’ भनेको बताइएको छ। जसको कारण दिनरात घरहरु थर्किने र निर्माण गर्दा हुने कष्टले मानवीय जीवन नै धरापमा पर्ने सम्भावना भएकाले केही छिमेकीहरु घर छोडेर अन्तै बस्न थालेको समेत उल्लेख गरिएको छ। 

गत आइतबार उक्त घटना बारे महानगरपालिकाले बैठक बसेर तत्काल त्यसको काम रोक्न लगाए पनि पीडित पक्ष र समिटको भने शनिबार नै वार्ता र लिखित सम्झौता भइसकेको समेत देखिएको छ। 

सबै क्षतिपूर्ति बेहोर्ने समिटको दाबी

उकेराले प्राप्त गरेको कागजातमा चैत २५ गते भएको सम्झौतामा सबै पीडितलाई सम्बोधन गर्दै ‘घरवार विहीन हुन पुगेका घरधनीहरूलाई कम्पनीको तर्फबाट यथास्थित घर पुनः निर्माण कार्य सम्पन्न नहुने समयसम्मको लागि बसोवासको व्यवस्था मिलाइने’ भनेको देखिन्छ। 

त्यसको लागि घर जग्गामा हुन गएको क्षतिको विवरण निकाल्न ललितपुर महानगरको इन्जिनियर र निर्माण कम्पनीको इन्जिनियरसँगै पीडित पक्षको इन्जिनियर समेतको टोली गठन गरी क्षतिपूर्तिको निर्धारण गरिने समेत भनिएको छ।

निर्माण अवधि कार्यमा प्रभावित भएका सबैलाई क्षतिपूर्ति समिटले बेहोर्ने जनाइएको छ। सम्झौता अनुसार अहिलेसम्म भाडामा बस्ने र घरधनी गरेर जम्मा ११ जना व्यक्ति पीडित रहेको देखिएको छ। 

उक्त सम्झौतामा वडा नं १ का अध्यक्ष निर्मल तण्डुकारको रोहबरमा बकाइदा सञ्चालक द्वय चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठको हस्ताक्षर पनि छ।

करिब ६ अर्ब रुपैयाँको लगानीमा १८ रोपनी जग्गामा बन्न लागेको यस ‘समिट होटल एण्ड रेजिडेन्स’ नामको परियोजनामा १३० कोठाको पाँच तारे होटल र १६० युनिट लक्जरी अपार्टमेन्ट बनाइने योजना छ।

वैशाख २, २०८० शनिबार ०९:३७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।