पिंकी गुरुङ : २१ वर्षको छोराले अकस्मात छोरी हुँ भन्दा बुबाआमालाई झट्का त लाग्यो होला नि!
तपाईं कहिल्यै कुनै ठाउँमा थुनिनुभएको छ? थुनिनुभएको छ भने कति समयसम्म? ५ मिनेट, १० मिनेट, या केहि घण्टा? त्यो समयको उकुसमुकुस तपाईंलाई याद छ? यदि छ भने सोच्नुस् त, एउटा मानिसको आत्मा जिन्दगीभरका लागि गलत शरीरमा थुनियो भने के होला?
ट्रान्सजेन्डर महिला र पुरुषको अनुभूति हो यो। जसलाई समाजले, राज्यले सहजै स्वीकार्दैन। अपाङ्गता भएको व्यक्ति भन्दै पेटमै हत्या गर्नुपर्नेसम्मको अभिव्यक्ति दिन्छ। तिनै विभेदकारी कानून, समाजको हेय दृष्टिकोणसँग जुधिरहेको नाम हो पिंकी गुरुङ। ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी ‘ट्रान्सओमन’ हुन्।
केटाहरूको साथी केटा बने, केटीहरूको साथी केटी। उनको शरीर केटाको जस्तो थियो, त्यसैले केटीहरू साथी बनेनन्। आत्मा केटीको थियो, त्यसैले केटाहरू साथी बनेनन्।
‘२१ वर्षको छोरो, अकस्मात छोरी भएँ, बुबाआमालाई झट्का त लाग्यो होला नि!,’ कुराकानी सुरु गर्दै पिंकीले भनिन्, ‘तर, दुईवटा जीवन एकै जुनीमा बाँच्न पाएँ, भाग्यमानी ठान्छु।’
लमजुङमा जन्मिए पनि उनको बाल्यकाल काठमाडौंमा बित्यो। उनी ६ महिनाको हुँदा बुवाआमा काठमाडौं पसेका रैछन्।
उनले भनिन्, ‘लगातार दुई सन्तान गुमाएपछि बुवालाई त्यो ठाउँमा बस्न मन लागेनछ।’
‘आफैँलाई चिन्न सकिनँ’
लजालु स्वभाव, नरम हातगोडा र लचिलो शरीर। उनको हिँडाई, बोलाई, कुरा गराई र अनुभुतिहरू अन्य पुरुषको भन्दा फरक, महिलाको जस्तो। उनीसँग पुरुषजस्तो थियो त केवल यौनाङ्ग र नाम, सन्जिव गुरुङ।
‘करिडोर लामो थियो। केटाहरू दायाँबाया बसेर केटी जिस्काउँथे। केटीहरूसँगै मलाई पनि जिस्काउँथे। त्यो करिडोर वारपार गर्न मलाई निकै गाह्रो हुन्थ्यो,’ स्कुले जीवनको स्मरण गरिन् उनले, ‘सम्झेरै चिटचिट पसिना निस्कन्थ्यो। त्यो समयमा मैले आफूलाई चिनेको थिइनँ। तर मलाई सबैले चिनिसकेछन्।’
उनको प्रस्तुतिकरण र हाउभाउको आधारमा विभेद सुरू भयो विद्यालयदेखि नै। कस्तो केटी जसरी हिँडेको, कस्तो केटी जसरी बोलेको, कस्तो केटी जस्तो। यसको पुरुष होला या महिला! हरेकको आँखामा यस्तै उत्सुकता जिज्ञासा देखिन्थ्यो। बाल मस्तिष्कमा यी कुरा खुट्याउनै सक्दैनथिन् उनी।
विद्यालय जीवनमा पिंकीको मनमा सबैभन्दा धेरै खट्किएको सम्बन्ध थियो साथीको। उनका साथी बनेनन्। केटाहरूको साथी केटा बने, केटीहरूको साथी केटी। उनको शरीर केटाको जस्तो थियो, त्यसैले केटीहरू साथी बनेनन्। आत्मा केटीको थियो, त्यसैले केटाहरू साथी बनेनन्।
‘त्यो समयमा मनका कुराहरू बाँड्ने साथी भएको भए, त्यत्ति साह्रो उकुसमुकुस हुँदैन थियो कि’, पिंकीले भावुक हुँदै भनिन्।
आफ्ना कुरा बाँड्न नपाउँदा उनी डिप्रेसनको सिकार समेत भइन्।
‘कक्षा ८ तिर पढ्दा म सुत्न नसक्ने भएकी थिएँ। डर लाग्थ्यो, कम्पन आएजस्तो हुन्थ्यो। आकाश झरेर थिचेजस्तो, सास रोकिएजस्तो।’
अत्ति भएपछि बुवा र आमाको बिचमा घुसेर सुत्थिन्। आमाले टाउको सुम्सुम्याउँदा केहि राहत मिलेजस्तो हुन्थ्यो तर त्यो स्थायी थिएन।
आफूलाई चिन्न नसक्दा उनी छटपटिइन्। जसको असर पढाइमा पर्यो। राम्रोसँग पढ्न नसक्दा ८ र ९ कक्षामा असफलता समेत बेहोर्नुपर्यो। तर, एसएलसी भने एक्कैपटकमा कटाइन्।
‘तपाईं विपश्यना जानुस्’
एसएलसी दिएपछि भिक्षु बन्ने सोच आयो। म्हैपी र बौद्धका गुम्बाहरूका केहि समय भौतारिइन् पनि। तर अहँ, भएन।
शारीरिक या मानसिक रोगको आशंका भयो उनका परिवारलाई। विभिन्न अस्पताल धाएर औषधिमुलो गराए। तर पनि ठिक भएन। उनको तनाव घट्नुको सट्टा दिनदिनै बढ्दै गयो। उनलाई एन्जाइटी, डिप्रेसन सबै एक्कैचोटी भयो। मानसिक अस्पताल गएर औषधि पनि खाइन्।
उनले हाँस्दै भनिन्, ‘मलाई त्यो समयमा मेन्टल हेल्थबारे थाहा थिएन, म आफूलाई मानसिक रूपमा स्वस्थ्य मान्थेँ, त्यसैले सबैसँग रिसाउँथे, मलाई पागलको अस्पताल पठायो, पागललाई खुवाउने औषधि खुवायो भनेर।’
उपचारकै क्रममा हात्तिसारको एक केन्द्रमा पुगिन् उनी। शारिरीक तथा मानसिक समस्या भएकाहरूको जेराई विधिबाट उपचार हुन्थ्यो। उपचारले केही समय मन शान्त त गरायो तर खासै प्रभावकारी भएन।
त्यहिँ आएका अर्का मानिसले भने, ‘तपाईं विपश्यना जानुस्।’
लहडै त्यस्तो, जसरी हुन्छ मन शान्त गराउनु थियो पिंकीलाई। उनी १० दिने ध्यान शिविरका लागि विपश्याना गइन्। त्यो ध्यानले आफूलाई चिन्ने मौका पाइन् उनले।
‘ए म त पुरुषको शरीरमा जन्म लिएको महिला पो रहेछु’, विपश्यानाले नै उनलाई आफूले आफुलाई कसरी नियन्त्रित गर्ने भन्नेकुरा सिकायो।
‘रत्नपार्कमा आफूजस्तै साथीहरू देखेर डराएँ’
सानैदेखि संगीतमा रुचि थियो उनको। स्वर पनि राम्रो छ भन्थे गाएको सुन्नेहरूले। विपश्यानाबाट फर्किएपछि आरआर क्याम्पसमा संगीत विषयमा भर्ना भइन् पिंकी।
विपश्यानाले पूर्ण ठिक भएको ठाने पनि उनी उस्तै रहिछन्। आरआरमा पनि उनले साथी बनाउन सकिनन्। संगीतको कक्षा लिएपछि अरू विषय पढ्दिनथिन् उनी।
एक्कैचोटी ६ महिनापछि उनलाई बुवाले भने, ‘यो त झनै केटी जस्तो बन्दैछ त हँ!’ जवाफमा उनले भनिन्, ‘खै के भएको हो, मन पनि केटीको जस्तै हुँदै गएको छ।’
एक दिन बाटो हिँड्दै गर्दा रत्नपार्कमा उनको नजर पुग्यो। त्यहाँ आफ्नो जस्तै भावना भएका साथीहरू थिए। पहिलो दिन उनीहरूलाई देखेर पिंकीको सत्तो गयो। तर्सिइन्।
फिल्ममा अजंगका अनौठो गरेर ताली पिट्ने मानिसहरू थिए ती। उनलाई आफू पनि त्यहि हुँ भन्ने स्वीकार्न गाह्रो भयो।
विस्तारै उनको आउजाउ रत्नपार्कमा बाक्लियो। सुरूमा डर लागेका मानिसहरू पछि साथी भए। उनीहरूको भावना र आफ्नो भावना मिलेको देखेर दङ्ग परिन्।
अनि बल्ल पिंकी बनिन्
सन् २००१ तिर, सुनिलबाबु पन्त विदेशबाट पढेर नेपाल आए। उनैले रत्नपार्कमा भएका पिंकीजस्ता मानिसहरूलाई बटुलेर संस्था बनाए, ब्लु डाइमण्ड सोसाइटी। पिंकी हिम्मतका साथ यो संस्थामा जोडिइन्।
ब्लु डाइमण्ड सोसाइटीले त्यो समयमा निकै महत्वपूर्ण कामहरू गर्यो। राम्रो काम गरेसँगै मिडियामा अन्तवार्ताका लागि पुगिन् पिंकी।
उनले पुरानो दिन सम्झँदै भनिन्, ‘नेपाल टेलिभिजनमा संघर्ष भन्ने कार्यक्रम थियो। त्यहाँ म पूरै खुल्न त सकिनँ, तर स्याडोमा अन्तवार्ता दिएँ।’
त्यो अन्तरवार्ता उनले परिवारको साथमा हेरिन्। अन्तरवार्ता सकिएपछि पिंकीतिर हेर्दै उनको बाबुले भने, ‘यो त तेरै आवाज जस्तो छ नि!’
उनले ‘हैन’ भनेर ढाँटिन्। तर बुवाले पत्याएनन्। त्यसपछि उनले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे लेखिएको पम्पलेटहरू घरमा राखिदिने गर्न थालिन्।
विस्तारै उनले महिलाको हर्मन लिन सुरू गरिन्। हर्मनले दिनदिनै शरीरमा प्रभाव पर्दै लग्यो। परिवर्तन दिनदिनै भए पनि सँगै बसेपछि ख्याल नहुने नै भयो।
एक्कैचोटी ६ महिनापछि उनलाई बुवाले भने, ‘यो त झनै केटी जस्तो बन्दैछ त हँ!’
जवाफमा उनले भनिन्, ‘खै के भएको हो, मन पनि केटीको जस्तै हुँदै गएको छ।’
उनका बुवा चुप भए। बिस्तारै कपाल पाल्न थालिन्। कपडा पनि टम ब्वाइको जस्तो लगाइन्। देख्नेहरूले पछाडि कुरा काटे पनि अगाडि केहि भन्दैनथे।
कपाल लामो हुँदै गएपछि उनले स्टेट गरिन्। फेरि बुवाले आएर भने, ‘कपाल के गरेको त्यस्तो?’
उनले हाँस्दै जवाफ फर्काइन्, ‘स्टेट गरेको।’
विस्तारै उनी केटीको कपडा लगाएर हिँड्न थालिन्। उनको घर नजिकै एक क्याफे थियो, सोल्टिनीको। सोल्टिनीलाई उनको बारेमा सबै थाहा थियो।
घरबाट केटाको कपडा लगाएर निस्किएपछि उनी सरासर सोल्टिनीको क्याफेमा जान्थिन् र केटीको कपडा लगाएर निस्किन्थिन्। केटीको कपडा लगाउँदा उनलाई आफू निकै सुन्दरी भएको महसुस हुन्थ्यो। आनन्दले सास फेर्न सकेजस्तो लाग्थ्यो।
तपाईं धेरै भाग्यमानी हुनुहुन्छ। तपाईंको छोरा छ, छोरी छ, र म जस्तो तेस्रो लिंगी सन्तान पनि छ। चाहनाले छोरा जन्माउन सकिएला, छोरी जन्माउन सकिएला तर म जस्तो सन्तान जन्माउन सकिँदैन।
सधैँ अर्काको घरमा कति कपडा फेर्नु। फेरि सोल्टिनीलाई पनि उनको त्यो तरिकाले अप्ठ्यारो पर्नसक्थ्यो। त्यसपछि उनले घरैबाट आफूलाई तयार गरेर निस्कने अठोट लिइन्।
त्यो दिन उनलाई राम्रोसँग याद छ। हिम्मत जुटाएर केटीको पहिरन लगाइन्। ऐना हेरिन्। आफूलाई आफैँ खुब राम्री लाग्यो। तर कोठाबाट निस्कने हिम्मत अझै जुटिरहेको थिएन।
पाइला धेरैपटक ढोकाबाट भित्र बाहिर गरिरहे। यसरी हुँदैन। उनले भित्र गएको पाइला हिम्मतका साथ बाहिर निकालिन् र हिँडिन्। अहिले नगरे कहिल्यै गर्न सक्दिन भन्ने सोचले उनको हिम्मतलाई साथ दिएको थियो।
घरबाट केटीको कपडा लगाएर निस्केको दिन उनलाई निकै गाह्रो भयो। टन्टलापुर घाम लागे पनि धुम्म भएजस्तो। कस्तो–कस्तो।
भनिन्, ‘त्यो समय अहिलेजस्तो थिइन। हातको नङदेखि कपालको रौं समेत केलाएर हेर्थे मानिसहरूले।’
पधेँरो, चिया पसलका मानिसहरूको आँखा उनकै शरीरमा गाढिएको थियो। मानिसहरू अचम्मै भएर उनलाई हेर्थे। त्यो हेराइको अघि आफ्नो पाइला रोकिनन् उनले। न त बाटो नै फेरिन्। त्यहि बाटो, हाँस्दै हिडिँरहिन्। बिस्तारै सबैले उनलाई सजिलो तरिकाले लिन थाले।
आफन्तहरूले उनको परिवारलाई भन्न आयो, ‘केटा मान्छेले केटीको लुगा लगाएर हिँडे अलच्छिना लाग्छ। आयु घट्छ आदि आदि।’
तर उनका बाबुले एक कानले सुनेर अर्कोले उडाइदिए। तर अर्को कानले उडाउनुअघि उनलाई सोधेका थिए, ‘के हो पारा?’ भनेर।
त्यो समयमा पिंकिले जवाफ दिइन्, ‘तपाईं धेरै भाग्यमानी हुनुहुन्छ। तपाईंको छोरा छ, छोरी छ, र म जस्तो तेस्रो लिंगी सन्तान पनि छ। चाहनाले छोरा जन्माउन सकिएला, छोरी जन्माउन सकिएला तर म जस्तो सन्तान जन्माउन सकिँदैन।’
पिंकीले अझै सम्झाइन्, ‘छोरा बुहारीलाई, छोरी ज्वाँइलाई। म त तपाईंहरूका लागि हो नि!’
उनले अन्त्यमा लामो स्वास फेर्र्दै भनिन्, ‘नेचरले जन्माएको नेचुरल ह्युमन विइङ हौं, त्यहि तरिकाले हामीहरूलाई स्वीकार गरिदिनुहोस्।’
वैशाख १, २०८० शुक्रबार १८:०५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।