बारा उपनिर्वाचन : एमाले र जनमतविरुद्ध आक्रामक उपेन्द्र, स्वतन्त्र पार्टीप्रति मौन

बारा उपनिर्वाचन : एमाले र जनमतविरुद्ध आक्रामक उपेन्द्र, स्वतन्त्र पार्टीप्रति मौन

बारा : वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा–२ का उम्मेदवार एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले र जनमत पार्टीप्रति आक्रमक देखिएका छन्।

बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले दुई–दुई पटक संसद विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि निकै घातक रहेको टिप्पणी गरेका हुन्।

‘आफ्नो नीहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै रहेको छ,’ उनले भने, ‘यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकको अत्यन्तै घातक छन्।’

दुवै दललाई परास्त नगरेसम्म लोकतन्त्र र मुलुक सुरक्षित नहुने भन्दै अध्यक्ष यादव पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि समेत खनिए। दुईपटकसम्म संसदबाट पास भएको नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर भण्डारीले लाखौं युवालाई अवसरबाट बञ्चित गराएको उनको आरोप छ।

एमाले र जनमत पार्टीविरुद्ध आक्रमक देखिएका यादव राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भने मौन देखिए। उनले रास्वपाबाट त्यहाँ उठेका उम्मेदवार रमेश खरेलबारे खासै टिप्पणी गरेनन्।

वैशाख १, २०८० शुक्रबार १७:३६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।