कांग्रेस कार्यकर्तालाई खाँणको निर्देशन : उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्नुस्

कांग्रेस कार्यकर्तालाई खाँणको निर्देशन : उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्नुस्

बारा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले बारा–२ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरमा शुक्रबार स्थापना गरिएको संयुक्त चुनावी सम्पर्क कार्यालयको उद्घघाटन कार्यक्रममा बोल्दै खाँणले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनको प्रतिनिधित्व गरिरहेको कारण उनी नेपाली कांग्रेस समेतको उम्मेदवार भएको बताए।

उनले कांग्रेस बाराका नेता र कार्यकर्ताहरूलाई खुलेर यादवलाई जिताउन चुनावी अभियानलाई अझ तीव्र र आक्रमक बनाउन निर्देशन दिए।

‘उपेन्द्रजी जसपा पार्टीको मात्र उम्मेदवार हुनुहुन्न। उहाँलाई पाँच दलीय गठबन्धनले उठाएको हो, उहाँ जति जसपाको उम्मेदवार हुनुहुन्छ उतिकै कांग्रेसको पनि उम्मेदवार हुनहुन्छ,’ उनले भने, ‘उहाँलाई जिताउने सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरूको कर्तव्य हो। कांग्रेसका सम्पूर्ण साथीहरूसँग म उपेन्द्रजीलाई जिताउन खुलेर लाग्न आग्रह गर्दछु।’

कार्यक्रममा बोल्दै बारा–२ का उम्मेदवार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले बारा जिल्ला र समग्र मधेशको विकास र समृद्धि आफ्नो मूल चुनावी एजेण्डा भएको बताए। उनले निर्वाचनमा उम्मेदवारको पृष्ठभूमि र उसले गरेको कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे।

भ्रम फिजाएर मधेसका जनताबीच द्वन्द्व सृजना गर्नेबाट सावधान रहन आग्रह गर्दै उनले भने, ‘जातीयता, बाहिरिया भित्रिया जस्तो द्वन्द्व सृजना गर्ने बिषयको उठान गर्नेहरुसँग सावधान रहन आवश्य छ।

लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले पनि उपेन्द्र यादव जस्तो नेता संसद् बाहिर रहनु संघीयताको लागि घातक भएको बताए। पछिल्लो समय संघीयतालाई कमजोर पार्ने शक्तिहरू सक्रिय भइरहँदा यसको संरक्षणका लागि आवाज उठाउन पनि यादवजस्तो नेताको संसदमा उपस्थिति अपरिहार्य रहेको उनले बताए।

बारा २ मा निर्वाचन परिचालनका लागि संयुक्त चुनावी सम्पर्क कार्यालयको जसपाका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र लोसपाको तर्फबाट चुनावी कमाण्ड सम्हालेका पूर्वमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

वैशाख १, २०८० शुक्रबार १५:२४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।