वर्ष समीक्षा : नेपाली फिल्म बजारका लागि आशावादी साल २०७९
काठमाडौं : नेपाली फिल्मका लागि २०७९ साल अन्य वर्षहरुभन्दा आशावादी वर्ष रह्यो।
२०७२ साल वैशाख १२ गतेको भुकम्पपछि नेपाली फिल्ममा खासै काम भएको थिएन। बल्ल माहोल तात्न लाग्दा फेरि कोभिड-१९ को मारमा परेको थियो नेपाली फिल्म बजार। तर यस्ता सबै समस्यालाई भुलेर यो वर्ष भने फिल्मी क्षेत्र चलायमान भयो।
तुलनात्मक रुपमा यो वर्ष नेपालीभन्दा विदेशी फिल्महरु धेरै प्रदर्शनमा आए। यो वर्ष ५२ वटा नेपाली फिल्महरु प्रदर्शन हुँदा ८३ वटा विदेशी फिल्महरु हलमा लागेका थिए।
यही वर्षबाटै दक्षिण भारतीय डब फिल्महरु पनि नेपाल छिरे र हल कब्जा गरे। रातभर फिल्म प्रर्दशन हुनेदेखि, हाउसफुल हुने फिल्महरु यो वर्ष नेपालका हलमा लागे।
करोड कमाएका फिल्महरु
कबड्डी ४
‘कबड्डी ४’ अघिल्ला कबड्डी श्रृंखलाहरुकै प्रस्तुतीकरणमा भनिएको दृष्यकथा हो। एक अधबैंसे युवाको असफल प्रेम र गाउँमा छाएको राजनीतिलाई रमाइलो ढंगले फिल्ममा देखाइएको छ। फिल्मले चलाखीपूर्ण तवरले पहिलो कबड्डीदेखि अहिलेसम्मको कबड्डीलाई जोडेको छ। समयसँगै आएको परिवर्तन र प्रविधिले ल्याएको परिवर्तनले गाउँघरमा पारेको प्रभावलाई फिल्ममा देखाइएको छ।
यो फिल्म हालसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म पनि हो। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार कबड्डी ४ ले करिब २१ करोड ३८ लाख रुपैयाँ कमाएको छ।
छक्का पन्जा ४
कुनै गम्भीर विषयलाई लिएर हास्यव्यंग्य शैलीमा कथा भन्दै आएको ‘छक्का पन्जा ४’, पुरानै प्रस्तुतीकरणको नयाँ कथा हो।यो चौथो श्रृंखलामा पनि छक्का पन्जा ४ ले पुरानै शैलीलाई पछ्याउँदै कथा भनेको छ। एउटा व्यक्ति कसरी सोसल मिडियाको भरमा चर्चित हुन्छ र सबै मानिसको आइडल बन्छ भन्ने विषयलाई फिल्ममा रोचक तरिकाले प्रस्तुत गरिएको छ।
यो वर्ष सर्वाधिक कमाई गर्ने फिल्मको दोस्रो नम्बरमा छ, छक्का पन्जा ४। अघिल्लो वर्ष यसैको तेस्रो श्रृंखलाले हालसम्मकै धेरै पैसा कमाउने फिल्मको रेकर्ड राखेको थियो। यो फिल्म अझै हलमा लागिरहेको छ। २०७९ सालभरीमा भने छक्का पन्जा ४ ले करिब १६ करोड ९४ लाख कमाई गरेको छ।
प्रेमगीत ३
‘प्रेमगीत ३’ यो वर्ष सबैभन्दा चर्चित फिल्म बन्न पुग्यो। कारण थियो, हिन्दी डब। भारतका चर्चित डबिङ आर्टिष्टहरुले फिल्ममा आवाज दिए। भारतका ठूला शहरहरुमा यो फिल्म आफ्नो होडिङ बोर्ड लगाउन सफल भयो। यसलाई नेपालको पहिलो इन्डो-नेपाली फिल्म समेत भनियो।
फिल्ममा एक राजकुमारले राज्य छाडेर प्रेम पाउन गरेको संघर्षलाई देखाइएको छ। नेपालमा यो फिल्म हिन्दी डब भर्जन र नेपाली भर्जन दुवैमा प्रदर्शन भयो। दुवै भर्जनको कमाई जोड्दा करिब १० करोड कमाई भएको बताइएको छ। यो २०७९ सालमा धेरै पैसा कमाउने फिल्ममध्ये तेस्रो स्थानमा छ।
महापुरुष
‘महापुरुष’ले एकल पुरुषले भोग्नुपरेको एक्लोपनाको कथा भनेको छ। समाजमा एकल महिलाका कथाहरु धेरै आए। धेरै भनिए। तर यो फिल्मले एकल पुरुषको समस्या उजागर गरेको छ। यो फिल्मले सबैभन्दा धेरै दिनसम्म हलमा प्रदर्शन भएको फिल्मको रेकर्ड राख्नुका साथै यो सर्वाधिक कमाइ गर्ने मध्ये चौथों स्थानमा परेको छ। यसले ७ करोड ३८ लाख हाराहारीमा कमाई गरेको थियो।
यीसँगै वन्यजन्तु चोरी सिकारीबारे बनेको फिल्म ‘२ नम्बरी’, छोराछोरीको व्यस्त दैनिकीबीच बाबुआमाले भोग्नुपरेको अपहेलनाबारे बनेको फिल्म ‘फूलबारी’, दुई दाजुभाइबीच बिहे गरेपछि फाटो ल्याउन कसरी दुई महिलाले भुमिका खेले भन्नेबारे बनेको फिल्म ‘झिंगेदाउ’ र वियोगान्त प्रेमकथा भनेको ‘ए मेरो हजुर ४’ को कमाई उस्तै हाराहारीमा छ। यी ४ फिल्मले करिब ३ करोड ५० लाख हाराहारीमा कमाई गरेका छन्।
यो बाहेक, काठमाडौंमा घरको लडाइँमा लागेकाहरुको कथा, ‘के घर के डेरा’ले २ करोड ६५ लाख कमाएको छ। ‘प्रकाश’को पनि १ करोड ७५ लाखको टिकट बिक्री भएको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार टिकट बिक्रीबाट माथिका फिल्महरुले करोड कमाएका हुन्। यो बाहेक अन्तराष्ट्रिय बजारमा फिल्म देखाएर कमाएको पैसा, डिजिटल राइट्स्, स्पोन्सर्डहरुले फिल्म बनाउन दिएको रकम लगायत अन्य कमाई यहाँ जोडिएको छैन।
तरङ्ग फैलाएका फिल्महरु
यो वर्ष समीक्षकको नजरमा र फिल्मलाई क्रिटिकल्ली हेर्ने दर्शकहरुमा छाप छाड्न सक्ने फिल्महरु पनि प्रदर्शन भए। जसमा प्रकाश, चिसो मान्छे, दोख, पानी फोटो, द सेक्रेस्ट अफ राधा र ऐना झ्यालको पुतली छन्।
ऐना झ्यालको पुतली
छायांकनको लामो समयपछि प्रदर्शन गर्ने आँट गरेको फिल्म हो ‘ऐना झ्यालको पुतली’। साना बाल कलाकारहरु ठूला भइसकेपछि बल्ल फिल्म दर्शकसम्म आइपुग्यो। लामो समय बिताएको प्रतिफल भने यो फिल्मले अहिलेसम्म लिइरहेको छ।
दर्शकले मन पराएकै कारण, सानो बजेटमा बनेको यो फिल्म २०७९ सालका लागि नेपालको तर्फबाट ओस्करका लागि समेत नोमिनेसनमा पर्यो। अभिनयमा कुनै दखल नभएका, बालकलाकारहरुले अब्बल काम गरेका छन् यो फिल्ममा। यो फिल्मले उडान भर्न चाहेकी एक किशोरीको कथालाई कलात्मक तरिकाले दृष्यमा उतारेको छ।
प्रकाश
टिकट बिक्रीको हिसाबले १ करोड ७५ लाख कमाइ गरेको फिल्म हो ‘प्रकाश’। फिचर फिल्म भएपनि करोडको टिकट बिक्री भएको यो फिल्ममा एक दुर्गम ठाउँको गरिब परिवारको युवाले सरकारी शिक्षक बन्न गरेको संघर्ष प्रस्तुत गरिएको छ।
पोलिटिकल्ली इरर र कोटा सिस्टम काम छैन भन्ने खालका गलत व्याख्या भएपनि यो फिल्मले कसरी कलात्मक तरिकाले दृष्यमा कथा भन्न सकिन्छ, भन्ने तथ्यलाई प्रमाणित गरेको छ। फिल्मका विभिन्न आयामहरु निखार्न र त्यसलाई छलफलमा ल्याउन यो फिल्मले ठूलो भुमिका खेलेको छ। हरेक सट, एङ्गल र फ्रेममा गहन रुपमा छलफल गर्न यो फिल्म सफल भयो।
चिसो मान्छे
विकट ठाउँकी एक विवाहित महिलाको स्वतन्त्र हुने चाहनालाई चिसो समाजले गरेको अवरोधबारे बनेको फिल्म हो ‘चिसो मान्छे’। कोभिड-१९ को समयमा वैदेशिक रोजगारीमा गएको मानिस बाकसमा फर्कंदा र त्यो बाकस गाउँसम्म पुर्याउन खोज्दा गरेको संघर्ष फिल्ममा देखाइएको छ।
काठमाडौंदेखि सुदुरपश्चिमसम्मको गाडीमा गरेको यात्रा नै सम्पूर्ण फिल्म हो। यात्रालाई नै देखाएर पनि गम्भीर विषयमा कथा भन्न सकिन्छ भन्ने यो फिल्मले देखाएको छ। फिल्म चिसो मान्छेले दर्शकको सिने चेतमा नौलोपना थप्ने काम गर्यो। सिनेमा हेर्न सिक्दै गरेका दर्शकहरुमाझ ‘डाँडामा ननाचे पनि’ फिल्म बन्छ भन्ने दृष्टिकोण थपिदियो।
दोख र पानीफोटो
यी दुवै फिल्म एउटै समयको छेको पारेर प्रदर्शन भए। दुवैले माओवादीको सशस्त्र युद्धको समयलाई केन्द्रमा राखेर कथा भनेका छन्। ‘दोख’ बदलाको कथा हो भने, ‘पानीफोटो’ हराएको छोरो खोज्दाको संघर्ष। बाबुलाई मार्नेहरुको प्रतिशोधमा जन्मिएको पात्रले कसरी सशस्त्र युद्धको समयमा व्यक्तिगत दुस्मनी निकाल्यो भन्ने कथा दोखमा हेर्न पाइन्छ। उता सशस्त्र द्वन्द्वको समयमा हराएको छोरो खोज्न आमाबाबुले गरेको दौडधूप पानीफोटोमा देख्न सकिन्छ।
यी दुवै फिल्मले अहिल्यै युद्धका कथा भन्ने बेला भए या भएनन् भन्ने विषयमा छलफल चलायो। त्यस्तै दुवै फिल्मले राज्यपक्ष र विद्रोही पक्षकोबीचमा रहेर कसरी कथा भन्ने लगायतका विषयलाई सफलता पूर्वक देखायो।
द सेक्रेट्स अफ राधा
नेपाली फिल्मका लागि नौलो, श्यामश्वेत रंगमा कथा भनिएको फिल्म हो ‘द सेक्रेट्स अफ राधा’। यो फिल्मका अहिलेसम्म तीनवटा भर्जनहरु आए। हलमा लागेको भर्जन, परिमार्जित भर्जन र फेष्टिभल भर्जन। खिच्ने मात्रै हैन, एडिटिङले कसरी एकै विषयलाई पनि फरक फरक तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्नेमा यो फिल्मले छलफलको बाटो देखायो।
एकै फिल्म तीनपटक हेर्दा, तीनवटै फरक स्वादमा पनि पस्कन सकिन्छ, फिल्म भनेको पर्दामा देखिने मात्रै हैन, पर्दा पछाडिका मानिसको कमाल पनि हो भन्ने यो फिल्म हेरेर थाहा पाउन सकिन्छ। नेपाली फिल्मका दर्शकहरुको स्वाद कस्तो छ, भन्ने थाहा पाउन यो फिल्मले गरेको प्रयोग प्रशंसायोग्य छ।
समग्रमा, यो वर्ष नेपाली फिल्म चलायमान भयो। दर्शकले फरक स्वादका फिल्महरु चाख्न पाए। यो वर्ष दर्शकको मनोविज्ञानलाई ध्यान दिने हो भने, कमेडी जनरामा बनेका फिल्महरुले सर्वाधिक कमाई गरे। ती फिल्महरु आर्थिक रुपमा सफल भए। तर फिचर लेन्थका गम्भीर, सामाजिक विषयवस्तुमा बनेका फिल्महरुले केही दर्शक र समीक्षकको वाहवाही पाए, दर्शकको साथ भने पाएनन्।
वैशाख १, २०८० शुक्रबार ११:०८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।