सिनोवादी अनि भ्रमवादी पराजित भएको वर्ष बनोस् २०८०

सिनोवादी अनि भ्रमवादी पराजित भएको वर्ष बनोस् २०८०

नयाँ वर्षमा क्यालेन्डर मात्रै फेरिने नियति भोग्दै आएको लामै समय भयो। नयाँ सालमा नयाँ नेपाल निर्माणको जग हाल्न सफल भएनौं हामी। व्यवस्था परिवर्तनका लागि केही वर्षका क्यालेन्डर सफल भए। तर अवस्था बदल्न हाम्रा नयाँ वर्षहरू त्यही रूपमा सफल हुन सकेन। 

प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक प्रणालीमा प्रवेश गरिसक्यौं हामी। यसबीचमा नागरिककै प्रतिनिधिले कस्तो शासन अनि कस्तो प्रशासन भन्ने विधि तय गर्दै संविधान लेखे। जारी गरे।

संविधानमा जुन समाजको परिकल्पना गरियो, जुन शासन र प्रशासनको परिकल्पना गरियो, त्यो कार्यान्वयनमा आउन सकेन। संविधानले परिकल्पना गरेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बलियो बन्दै जानुपर्ने हो नि। तर उल्टो झन् झन् कमजोर हुँदै गए।

जन्मको आधारमा हैन कर्मको आधारमा राष्ट्रप्रमुख चयन सम्भव भयो। तर तीन कार्यकाल बित्दा पनि जन्मको आधारमा राष्ट्रप्रमुख बनेका र कर्मको आधारमा राष्ट्रप्रमुख बनेका बीचको भिन्नता के? आम नागरिकले अनुभव गर्नै पाएका छैनन्। 

हिजो सबै अस्थिरताको भारी राजतन्त्रले बोक्यो। राजतन्त्र विदा भएपछि आउनुपर्ने स्थिरता कता बेपत्ता भयो कता। गणतन्त्र संस्थागत हुँदै त्यसको न्यूनतम् प्रतिफल नागरिकले अनुभव गर्न पाउनुपर्नेमा शासक र प्रशासकले मात्र प्रतिफल पाए।

गणतन्त्र ल्याएर राम्रो गरियो हैन बरु राजतन्त्रै ठीक थियो कि भन्नेमा आम नागरिक पुगिसके। 

‘कमसेकम राजतन्त्रमा राज्य कोष लुट्ने एउटा राजा थिए। अहिले त विकेन्द्रीकरण भएर टोल-टोलमा राजा जन्मिए’ भन्ने भावना नागरिकमा बढ्नु गणतन्त्रको शुभ संकेत होइन।

हिजो राजाले संविधान मिचेको आरोप लाग्थ्यो। अहिले त्यो भुमिका कहिले राष्ट्रपतिले निभाए, कहिले प्रधानमन्त्रीले।

संविधानमाथिको प्रश्नको संख्या घट्दै जानुपर्नेमा बढ्दै गए। न व्यवस्थापिका बदलियो न कार्यपालिका। हुँदा-हुँदा न्यायपालिका समेत शंका र विवादमा घेरियो। 

दलहरू बलिया हुनुपर्नेमा कमजोर बने। नेता बलिया भए। लोकतन्त्रलाई कार्यान्वयनमा ल्याउने दलहरूकै विकल्पको खोजी भयो।

कहिले वामपन्थी र लोकतान्त्रिक धारबीच सहकार्य, कहिले सबै वाम एकै ठाउँको अभ्यास। जनमत सधैं प्रयोगशाला बन्यो। स्थिरता हैन अस्थिरता बढायो। 

दल कमजोर बन्दै गएको मौकामा हामी हौं चमत्कार गर्ने भन्दै लोकप्रियतावादी शक्ति उदाए। ती शक्तिको ध्येय पुराना दलले गरेका गल्ती नदोहोर्याई लोकतन्त्रलाई बलियो बनाउनमा भन्दा दलविरुद्ध जनमत निर्माण गर्दै आफ्नो माहौल बनाउने र दुरुपयोग गर्नेमा देखियो।

कुनै नागरिक हो हैन खुट्याउने नागरिकता अनि राहदानी जस्ता महत्वपूर्ण प्रमाणलाई खोस्टो बनाउन लागे। कोही यही मौकामा राजतन्त्रको सिनोमा प्राण भर्न सकिन्छ कि भनेर प्रतिनिधि सभामा ढ्याङ्ग्रो बजाउँदै धामी बसे। 

समाजको चित्र अनि यही चित्र धमिल्याउन सक्रियहरुको चरित्र दुवैको मझधारमा २०८० उदायो। सिनोवादी अनि भ्रमवादीहरु चिन्न समाज सफल होस्। दलका नेताको बुद्धि फिरोस्। नयाँ वर्ष शुभ होस्।

वैशाख १, २०८० शुक्रबार ०९:३४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।