‘जारी’लाई क्यूएफएक्समा मात्र ८२ शो, आक्रामक बुकिङ
काठमाडौं : नयाँ वर्षको अवसरमा शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’लाई देशकै सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्सले ८२ शो दिएको छ।
बिहीबार रातिसम्म क्यूएफएक्सको वेबसाइटमा फिल्मलाई शुक्रबारका लागि ८२ शो दिइएको हो। सबैभन्दा बढि १० शो ललितपुरको लबिम मल र बिर्तामोडको वान स्टप सिनेमामा दिइएको छ।
यस्तै, भक्तपुर, छायाँ सेन्टर र सिभिल मलमा समान नौ शो दिँदा विराटनगर र दमौली सात–सात दरबार सिनेम्याक्समा ६ शो दिइएको छ।
सिनेमाले शो पाएअनुसारको बुकिङ पनि आक्रमक भएको छ। बिर्तामोडमा शुक्रबारका लागि दिइएको १० मध्ये ९ शोको सबै टिकट सोल्डआउट भइसकेको छ। यस्तै शनिबारको पनि १० मध्ये ९ शोको टिकट भटाभट बिक्री भइरहेका छन्।
बिर्तामोडमा मात्र नभएर देशमा अन्य ठाउँमा पनि फिल्मको बुकिङ आक्रामक छ।
शुक्रबारदेखि नै ‘बिहे पास’ र ‘बुलाकी’ पनि प्रदर्शनमा आउँदैछन्। ‘बिहे पास’ले क्यूएफएक्समा ३३ शो पाउँदा ‘बुलाकी’ले मात्र ११ शो पाएको छ। तर यी दुई फिल्मको बुकिङ भने त्यति उत्साहजनक देखिँदैन।
चैत ३०, २०७९ बिहीबार २२:३९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।