नगरको विकासको जग्गामा ठडिँदै कांग्रेस नेताको घर, मेयर चौधरीको मौन समर्थन !
दाङ : नेपाली कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेतले सार्वजनिक जग्गा मिचेर घर बनाइरहेको पाइएको छ।
जिल्लाको लमही नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मिचेर बस्नेतले घर बनाइरहेको छन्। समितिको जग्गामा घर बन्दा पनि समितिका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कुनै कारबाहीको प्रकिया अघि बढाएका छैनन्।
कांग्रेसबाटै नगर प्रमुखमा निर्वाचित उनले आफ्नै पार्टीको नेतालाई निर्माण कार्य रोक्न र जग्गा एकीन गरेर मात्र निर्माण गर्न पत्र काट्ने आँट गरेका छैनन्। उनको पनि मौन समर्थन रहेको देखिन्छ।
गएको फागुन १४ गते नै बस्नेतलाई पठाउनको लागि पत्रको ‘ड्राफ्ट’ तयार भए पनि नगर प्रमुख चौधरीले त्यसमा हस्ताक्षर नगरेको स्रोत बताउँछ।
‘मेयरले हाकिम(प्रमुख प्रशासकीय अधिकृत)लाई हस्ताक्षर गराउनुपर्छ भन्छन्, हाकीमले मेयरलाई,’ स्रोतले भन्यो, ‘अहिलेसम्म एकले अर्कालाई देखाएर पन्छिँदै आएका छन्।’
बस्नेतलाई पठाउन तयार पारिएको पत्रको ड्राफ्टमा चैलाही २ च कित्ता नं. ५९७ को जग्गा मिचिएकाले घर निर्माण कार्य रोक्न निर्देशन दिइएको व्यहोरा छ। साथै नापी कार्यालय, लमहीबाट अमिन र नगर विकास समितिको रोहबरमा जग्गा एकीन गरेर मात्रै घर निर्माण अगाडी बढाउन भनिएको छ।
नगर विकास समितिको उत्तरतर्फ लमही नगरपालिका–५ मा भएको ऐलानी जग्गामा नेता बस्नेतले घर बनाइरहेका छन्। घरको पिल्लर समेत राखिसकिएको छ। ऐलानी जग्गासँगैको करिब ७ मिटर सरकारी जग्गा मिचिएको छ।
यस विषयमा नगर प्रमुख चौधरीले भने आफूहरू छलफलमा रहेको र नगर विकास समितिको बैठक बसेर थप निर्णय गर्ने बताए।
‘नगर विकास समितिको बैठक बसेर टुंग्याउने भनेर हस्ताक्षर नगरेको हो’, उनले भने। समितिको बैठक कहिले बस्छ भन्ने प्रश्नमा उनले ठ्याक्कै मिति भने तोक्न सकेनन्। भने, ‘छिट्टै बस्छ।’
पिल्लरसमेत ठडिइसकेको र धमाधम घर बनिरहेको अवस्थामा अझै पनि किन आलटाल गर्नुभएको भन्ने उकेराको अर्को प्रश्नमा उनले थपे, ‘त्यस्तो भएको रहेछ भने समितिबाट मान्छे पठाएर निर्माण रोक्न लगाउँछौं।’
तर उनलाई यस विषयमा फागुनमा नै थाहा भएको पत्रमा हस्ताक्षर गर्न उनले गरेको आनाकानीले नै स्पष्ट पार्छ।
नेता बस्नेतले भने अर्कैबाट त्यो जग्गा आफूले किनेको प्रतिक्रिया दिएका छन्। यद्यपि उनले पनि सँधियार अन्य दुई जनाको सहमति भएपछि आफूले सबै जग्गा लिएको स्वीकार गरेका छन्।
‘मैले रत्न केसी मार्फत जग्गा किनेको हो, त्यही ठाउँमा ओम प्रकाश सुवेदी र घनश्याम खनालको पनि जग्गा थियो’, उनले भने ‘हामी तीनै जनाको सहमति अनुसार त्यो सबै जग्गा मैले लिएको हुँ।’
पहिले गुठीको जग्गा पछि नगर विकास समितिले आफ्नो नाममा लिएको बस्नेतले बताए। २०७४ सालमा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका उनी एमालेका रेवतीरमण शर्मासँग पराजित भएका थिए।
चैत ३०, २०७९ बिहीबार १७:५८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।