वीर अस्पतालमा दुई दिनमा दुई कोरोना संक्रमितको मृत्यु, अन्य सरकारी अस्पतालका पनि आईसीयू र भेन्टिलेटर भरिँदै
काठमाडौं : वीर अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण मंगलबार एक वृद्ध र बुधबार एक युवती गरी दुई जनाको मृत्यु भयो।
अस्पतालका कोभिड—१९ फोकल पर्सन डा. अच्युतराज कार्कीका अनुसार मंगलबार मृत्यु हुने ७८ वर्षीय वृद्ध हुन्। ती वृद्धले कोरोना भाइरसविरुद्धको फाइजर र मोर्डनासमेत गरी चार वटा खोप लगाइसकेका थिए।
कोरोना सक्रमित वृद्धमा सुगरको समस्या थियो भने कोरोना संक्रमणकै कारण निमोनिया भएको थियो।
‘उहाँलाई सुगर र कोभिड निमोनिया थियो’, डा. कार्कीले भने।
त्यसैगरी वीर अस्पतालमा नै बुधबार क्यान्सर भएकी करिब २१ वर्षकी कोरोना संक्रमित युवतीको मृत्यु भयो। अस्पतालको आईसीयूमा भर्ना हुने संक्रमित बिरामीको संख्या र भर्नादर पनि बढिरहेको छ।
बिहीबार १३ जना संक्रमित उपचाररत रहेको डा. कार्कीले बताए। जसमध्ये आईसीयूमा तीन र एचडीयूमा १० जना उपचाररत छन्। बुधबार नौ जना भर्ना हुँदा बिहीबार यो संख्या बढेर १३ पुगेको हो।
अस्पताल भर्ना हुनेमध्ये करिब ९० प्रतिशत संक्रमितमा कुनै न कुनै किसिमको दीर्घरोगको समस्या देखिने गरेको डा. कार्कीले सुनाए। अधिकांश ४० देखि ६० वर्षका बिरामी अस्पतालमा संक्रमित भएर भर्ना हुने गरेको उनले जानकारी दिए।
वीर अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसमेत संक्रमित हुने दर बढिरहेको अस्पतालले जनाएको छ। गत दुई हप्तादेखि अस्पतालमा पुग्ने कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गइरहेको डा. कार्कीले जानकारी दिए।
‘ह्वात्तै बढ्न थालेको तीन दिन भयो’, उनले भने।
ज्वरो आएर अस्पताल पुग्नेमध्ये अधिकांशमा कोरोना परीक्षण गरिँदैन। तर, परीक्षण गराएकामध्ये करिब ८० प्रतिशतमा संक्रमण पुष्टि भएको डा. कार्कीले जानकारी दिए।
‘धेरै लक्षण मिलेको खण्डमा कोभिड परीक्षण गरायौं भने कोभिड पोजेटिभ आउँछ’, उनले थपे।
टेकुमा पनि भर्ना
उता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोना संक्रमित बिरामी बढ्न थालेका छन्।
पछिल्लो समय दैनिक ४/५ जना कोरोना संक्रमित बिरामी आईसीयूमा भर्ना हुने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले जानकारी दिए।
‘हिजो चार जर्ना आईसीयूमा भर्ना हुनुहुन्थ्यो,’ डा. चालीसेले भने, ‘आज (बिहीबार) तीन जना हुनुहुन्छ।’
भर्ना भएको तीन जनामध्ये एक जना भेन्टिलेटरमा रहेको उनले बताए। अस्पताल भर्ना हुनेमध्ये अधिकांश पाको उमेर र दीर्घरोगको समस्या भएका संक्रमित व्यक्ति हुने गरेको डा. चालिसेले बताए।
तर, धेरै व्यक्तिले खोप लगाएको र प्राकृतिक रूपमा नै धेरै व्यक्ति संक्रमित भएको हुनसक्ने देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकै चिकित्सक डा. शेर बहादुर पुन बताउँछन्। जसले गर्दा व्यक्ति कोरोना संक्रमित भए पनि कमैमा लक्षण देखिएको हुनसक्ने उनको अनुमान छ।
तर, गाह्रो भएपछि मात्रै अस्पतालमा भर्ना हुने गरेको र कोरोना संक्रमित भए पनि गाह्रो नभएका बिरामी भने घरै जाने गरेको डा. चालिसेले सुनाए।
शिक्षण अस्पतालमा संक्रमितको चाप
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित भएर पुग्ने बिरामीको चाप बढिरहेको छ।
शिक्षण अस्पतालका सूचना अधिकारी तथा प्रशासन प्रमुख बैकुण्ठ प्रसाद थपलियाले अस्पतालमा सात जना संक्रमित भर्ना भएर उपचाररत रहेको जानकारी दिए। जसमध्ये दुई जना आईसीयूमा छन्।
त्यसैगरी नौ जना चिकित्सक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी थपलियाले बताए। बुधबार २३ जनाको परीक्षण गरिएकामा १६ जनामा कारोना संक्रमण पुष्टि भएको थियो।
कान्तिमा छैनन् संक्रमित
उता कान्ति बाल अस्पतालमा भने पछिल्लो समय कोरोना संक्रमित बालबालिका भर्ना नभएको बालरोग विशेषज्ञ डा. रामहरी चापागाइँले जानकारी दिए।
‘कान्ति अस्पतालमा कोरोना भएका बालबालिका भर्ना भएका छैनन्’, उनले भने।
अस्पतालको ओपिडिमा पुग्ने बालबालिकाको कोरोना परीक्षण गर्दासमेत संक्रमण नदेखिएको उनले बताए।
‘ओपिडिमा आएका शंका लागेका बिरामीलाई जाँच गरिएको छ,’ डा. चापागाइँले भने, ‘जाँच गरेकोमा पोजेटिभ आएको छैन।’
तर, सजगता भने अपनाउन उनको सुझाव छ।
मन्त्रालयको आँकडामा संक्रमित बढ्दै
बुधबारसम्मको स्वास्थ्य मन्त्रालको आँकडा हेर्ने हो भने पनि पछिल्लो केही दिनयता कोरोना संक्रमितको चाप ह्वात्तै बढेको देखिन्छ।
बुधबारमात्रै एकै दिन दुई हजार तीन सय ७७ नमुना परीक्षण गरिकोमा १२१ जनामा संक्रमण पुष्टि भयो। एक हप्ताअघि बुधबार एक हजार सात सय ६८ नमुना परीक्षण गरिएकोमध्ये ९८ जनामा संक्रमण पुष्टि भएको थियो।
बुधबार सक्रिय संक्रमितको संख्या ४४५ छ भने एक जनाको मृत्यु भएको छ। गत हप्ता बुधबार सक्रिय संक्रमितको संख्या तीन सय २२ थियो। तीन महिना यता मंगलबार एक जनाको मृत्यु भएको हो।
गत बुधबार काठमाडौं उपत्यकामा चार जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत थिए। बुधबार भने आईसीयूमा उपचाररत संख्या ११ पुगेको छ भने तीन जना भेन्टिलेटरमा छन्।
तर, मन्त्रालयले तयार गरेको तथ्यांक र अस्पतालले दिएको जानकारीको तादम्यता मिलेको भने देखिँदैन। अस्पतालको आईसीयूमा र भेन्टिलेटरमा भर्ना भएका बिरामीको तुलनामा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा भने संख्या कम देखिन्छ।
सजगता अपनाउँ है
कोरोना संक्रमण हुँदा ज्वरो आउने, रुघाखोकी लाग्ने, शरीर दुख्ने, टाउको दुख्ने, खानाको स्वाद तथा गन्ध हराउने र कसै–कसैलाई पखाला लाग्ने जस्ता लक्षण देखिने गरेको वीर अस्पतालका डा. कार्कीले बताए।
त्यसैले भिडभाडबाट जोगिनुका साथै मास्क अनिवार्य लगाएर हिँडडुल गर्न चिकित्सकको सुझाव छ। कोरोनाको लक्षण देखिएका व्यक्तिले अन्य व्यक्तिलाई नसार्नका लागि स्वास्थ्यका मापदण्ड अपनाएर छुट्टै बस्न चिकित्सकले अनुरोध गरेका छन्।
त्यसैगरी खोप नलगाएकाले खोप लगाउन र लगाएकाले पनि बुष्टर मात्रा लगाउन उनीहरूले अनुरोध गरेका छन्। अहिले देखिएको कोरोना पनि ओमिक्रोनकै परिवर्तित स्वरूपको सब भेरियन्ट भएको डा. पुनले बताए।
नेपालमा कोरोनाको पहिलो, दास्रो र तेसो लहर देखिइसकेको छ। जनस्वास्थ्यका मापदण्ड अपनाउने क्रम भङ्ग हुँदै गएको छ। भिडभाडमा हिँडडुल गर्दा समेत मास्क नलगाउने व्यक्तिको संख्या कम छैन।
केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढेकाले चौथो लहरका रूपमा धेरै फैलिने त हैन भन्ने भय उत्पन्न भएको छ।
तर, पहिलो, दोस्रो र तेस्रो लहर जस्तै चौथो लहरको रूपमा कोरोना फैलिएर ठूलो क्षति नगर्लाकी भन्ने डा. पुनको अनुमान छ।
‘पहिलो, दोस्रो र तेस्रो लहर अब दोहोरिने सम्भावना देख्दिनँ,’ डा. पुनले भने, ‘तर, अहिले यसै भनिहाल्ने अवस्था छैन।’
त्यसैले हेलचक्र्याइँ नगरी सजगता अपनाएर जनस्वास्थ्यको मापदण्ड अपनाउन डा. पुनको सुझाव छ।
चैत ३०, २०७९ बिहीबार १५:०७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।