तिलोत्तमा नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा लुम्बिनी प्रदेशमा प्रथम

तिलोत्तमा नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा लुम्बिनी प्रदेशमा प्रथम

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा लुम्बिनी प्रदेशमा प्रथम र मुलुक भरमै चौथो भएको छ।

हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम भएको हो।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समावेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिकाले यो स्थान हात पारेको हो।

यो उपलब्धिले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको र आफ्नो पहिचान बढाउन थप टेवा पुर्याएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाणले बताए।

तिलोत्तमालाई मुलुककै उत्कृष्ट, नमुना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेको पनि उनले उल्लेख गरे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ। गत आर्थिक वर्षमा स्वमूल्यांकन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५.७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको  थियो।

चैत ३०, २०७९ बिहीबार १३:४८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।