कृषि र पशुपालनबाटै लखपति बनेकी विना कुमारी

कृषि र पशुपालनबाटै लखपति बनेकी विना कुमारी

बुटवल : मेहनत, धैर्यता र आत्मबल भए कृषि र पशुपालनबाट नै लाखौं आम्दानी गर्न सकिन्छ भन्ने प्रमाणित गरेकी छन् विना कुमारी पुनले।

रुपन्देही तिलोत्तमा नगरपालिका-११ भु.पु सैनिक टोलकी विनाले विशाल पशुपक्षी तथा कृषि फार्म स्थापना गरी कृषि र पशुपालनबाटै घरमै बसेर वार्षिक लाखौं रुपैयाँ कमाइरहेकी छन्।

विनाले प्राप्त गरेको यो सफलता यतिकै प्राप्त भएको भने होइन। कडा मेहनत, लामो समयसम्मको धैर्यता र बलियो आत्मबलले मात्र उनी सफल भएकी हुन्।

उनको संघर्ष ०५६ सालदेखि भएको हो। बिहे भएर कर्मघर पुगेकी विनाले त्यो बेला नै जीविकोपार्जनका लागि बंगुर पालन गरिन्। तर पनि दैनिक गुजारा चलाउन अप्ठ्यारो भयो।

बंगुर जिविका चलाउनका लागि पालिरहे। पछि तालिम प्राप्त गरेपछि च्याउ खेती गर्न थालेको हुँ। सबैभन्दा सन्तुष्टि मलाई च्याउ खेतीबाटै भएको छ।

यसपछि उनले १० वर्ष सम्म त घरेलु रक्सी बनाएर बिक्री पनि गरिन्। दैनिक गुजारा चल्न थालेपछि भने विनालाई बंगुर पालनलाई अब व्यवसायीक बनाउनुपर्छ भन्ने लाग्यो। त्यसपछि उनले क्रमशः खोरमा बंगुरको संख्या बढाउन थालिन्।

वि.स. २०७० सालमा विशाल पशुपक्षी तथा कृषि फार्म दर्ता गरी उनी व्यवसायीक कृषि र पशुपालनमा होमिइन्।

अहिले विनाको फार्ममा कुखुरा, च्याउ र बंगुर छन्। च्याउ उनले सिजनल खेती गर्छिन्। वार्षिक ५ हजारभन्दा बढी कुखुरा उत्पादन गर्ने उनले वार्षिक ६ क्विन्टल च्याउ उत्पादन गर्छिन्। बंगुर अहिले २१ वटा भन्दा बढि रहेका छन्।

तालिमबाट उनले च्याउ उत्पादन गर्न सिकेपछि उनको व्यवसायीकताले छलाङ मारेको हो। १० वर्ष पहिले एक संस्थाले आईपीएम तालिम दिएपछि उनी नियमित रुपमा च्याउ खेती गर्न सक्ने गरी परिपक्व भएकी थिइन्।

एक सिजनमा ६ क्विन्टलसम्म च्याउ उत्पादन हुन्छ। तीन महिनापछि फेरि कुखुरा राख्छु। कुखुरा पनि वार्षिक ५ हजार उत्पादन हुन्छन्।

‘बंगुर जिविका चलाउनका लागि पालिरहे। पछि तालिम प्राप्त गरेपछि च्याउ खेती गर्न थालेको हुँ। सबैभन्दा सन्तुष्टि मलाई च्याउ खेतीबाटै भएको छ,’ उनले भनिन्।

तालिमबाट सिकेको सीपले उनलाई अहिले उद्यमी बनाएको छ। जाडोको सिजनमा उनले कुखुरा पालन गर्न निर्माण गरिएको फार्ममा च्याउ खेती गर्छिन् भने गर्मी समय लागेपछि कुखुरा पालन गर्दै आएकी छिन्। एउटै फार्मलाई उनले सिजनल रुपमा प्रयोग गर्दै आएकी हुन्।

‘एक सिजनमा ६ क्विन्टलसम्म च्याउ उत्पादन हुन्छ। तीन महिनापछि फेरि कुखुरा राख्छु। कुखुरा पनि वार्षिक ५ हजार उत्पादन हुन्छन्,’ उनले भनिन्।

एक सिजनमा च्याउ खेती गरेपछि अन्य समयमा यतीकै खाली छोड्नुभन्दा त्यसलाई सफा गरेर उनले कुखुरा पालन गर्दै आएकी हुन्। जसबाट उनलाई राम्रो आम्दानी भएको छ।

गत जाडोको सिजनमा कुल ४ लाख ६५ हजार रुपैयाँ लागतमा च्याउ खेती गरेकी पुन करिब १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएकी थिइन्। त्यस्तै बंगुर र कुखुराबाट मात्र ६ लाख रुपैयाँ आम्दानी भएको उनले बताइन्।

उनले बंगुर फार्म सँगै, कुखुरा फार्म र बाहिर च्याउको टनेल समेत निर्माण गरेकी छन्। फार्मबाट आउने आम्दानीबाट परिवार राम्रोसँग चलेको उनको भनाइ छ। ‘यहीबाट मैले एउटा बाबु र नानीलाई बढाएकी छु। घर पनि बनाएकी छु। खुसी र सुखी छु,’ उनले भनिन्।

हालसम्म फार्मको संरचना निर्माणमा उनले ३५ देखि ४० लाख रुपैयाँ लगानी गरिसकेकी छन्। १८ लाख त उनले बंगुर पालनका लागि खोर निर्माणमा मात्र लगानी गरेकी छन्।

विना आफू जस्तै कृषकहरुलाई सरकारले प्राथमिकतामा राख्ने हो भने विदेशबाट आयात हुने हरेक वस्तुलाई रोक्न सकिने बताउँछिन्। अझै पनि भारतीय खुला सिमानाबाट लुकीछिपी ल्याइने चल्लाका कारणले बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको उनको भनाइ छ।

‘सरकारले चल्ला र दानामा सहुलियत दिनुपर्छ  सस्तो ब्याजमा ऋण दिइएमा पनि धेरै कृषकहरू लाभान्वित हुन्छन्,’ उनले भनिन्। आफूले उत्पादन गरेको कुनै पनि वस्तु बिक्री गर्नका लागि बजारको समस्या नभएको उनी बताउँछिन्।

उनले उत्कृष्ट १० जना उद्यमीहरु मध्येबाट सर्वोत्कृष्ट उद्यमी घोषणा भइ १ लाख नगद पुरस्कार समेत प्राप्त गरेकी छन्।

च्याउ रुपन्देही बाहेक अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लामा जाने गरेको उनको भनाइ छ। त्यस्तै बंगुर र कुखुरा भने रुपन्देहीमै बिक्री हुने गरेको छ।

‘सुरुमा केही भएन भनेर आत्तिने काम गरिनँ। मेहनत गरें। धैर्यता पनि राखें। एक दिन मेहनतको फल प्राप्ति हुन्छ भन्ने लागेको थियो,’ उनले भनिन्। 

उत्कृष्ट उद्यमीको उपाधि

तिलोत्तमा नगरपालिकामा जारी नगर प्रमुख ग्रामीण उद्यम द्रूतीकरण कार्यक्रम अन्तर्गत तेस्रो चरणको उत्कृष्ट उद्यमीमा विना उत्कृष्ट उद्यमी बनेकी छिन्। उनले उत्कृष्ट १० जना उद्यमीहरु मध्येबाट सर्वोत्कृष्ट उद्यमी घोषणा भइ १ लाख नगद पुरस्कार समेत प्राप्त गरेकी छन्।

दायित्व संस्थाको आयोजनामा जारी परियोजनाबाट रूपन्देहीका १० जना उत्कृष्ट उद्यमीलाई छनोट गरिएको थियो।

संस्थाका लुम्बिनी प्रदेश संयोजक कमल थापाका अनुसार १० जनामध्येबाट प्रस्तुतीकरण, विगतको कार्यक्रम र आगामी योजनाको विषयलाई समेत ध्यान दिइ निर्णायकले दिएको नम्बरका आधारमा विनाले उत्कृष्ट उद्यमीको उपाधि जितेकी हुन्।

उत्कृष्ट १० जनामा छनौटमा परेका उद्यमीहरूमा यम कुमारी पौडेल, सरस्वती बन्जाडे, दुर्गा भण्डारी, मिनु थापा, रोहित सिंह आले, चन्दा घिमिरे, भगवती बस्याल, बलराम काफ्ले, राधेश्याम लोध रहेका छन्।

चैत ३०, २०७९ बिहीबार १३:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।