एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना, एसीसी प्रिमियर कप जित्ने तयारी
काठमाडौं : भारत र पाकिस्तानसँग म्याच खेल्ने सपना नेपाली क्रिकेट टिमले सधैं देख्ने गरेको छ। यो पटक यो सपना पुरा हुनसक्छ, यदि नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्यो भने।
आगामी मंगलबारदेखि नेपालमा नै एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। यो प्रतियोगिता नेपाललाई भारत र पाकिस्तानसँगको खेलसम्म पुराउने सुवर्ण अवसर हो।
एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
नेपालले यो उपाधि जितेमा पहिलो पटक एसिया कपमा छनोट हुने इतिहास पनि बनाउनेछ।
उता आईसीसीको एशोसिएट राष्ट्रले भारत र पाकिस्तान जस्तो टेष्ट मान्यता प्राप्त टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटका लागि आफैंमा ठूलो उपलब्धि समेत हो।
यस्तो छ प्रिमियर कपको संरचना
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा १० टिम सहभागी छन्। यी १० टिमलाई दुई समूहमा बाँडिएको छ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।
जसअनुसार समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह बी मा भने यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
खेल कीर्तिपुरस्थित टियू मैदान र मुलपानीमा हुनेछ। मंगलबार हुने नेपाल र मलेसियाको खेलबाट प्रतियोगिता सुरु हुँदैछ।
नेपालका लागि सुवर्ण मौका
भारत र पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमसँग खेल्ने सपना पुरा गर्न यो पटक नेपाललाई सुवर्ण मौका छ। घरेलु मैदान र घरेलु समर्थकको साथको फाइदा उठाउँदै प्रिमियर कपको उपाधि जित्न सके नेपालले पहिलो पटक एसिया कप पनि खेल्ने छ।
नेपाल यो प्रतियोगिताको उपाधिका लागि प्रबल दाबेदार टोली हो। तर नेपाल बाहेकका अन्य कुनै पनि टिम कमजोर भने छैनन्। विशेषगरी ओमान, यूएई, हङकङ जस्ता टिमले उपाधिका लागि नेपाललाई चुनौती दिनेछन्।
हाल नेपाली क्रिकेट उच्च लयमा छ। गत महिना आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सानदार प्रदर्शन गर्दै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको थियो।
उक्त लिगमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल एकदिवसीय क्रिकेटमा घरेलु मैदानमा १० खेलको विजयी यात्रामा छ। यसै लयलाई कायमै राख्दै प्रिमियर कपको उपाधि जित्ने लक्ष्य नेपालले लिएको छ।
नयाँ प्रशिक्षक मोन्टी देशाई आएपछि नेपालको प्रदर्शन तारिफ योग्य बनेको थियो। उनकै प्रशिक्षणमा नेपाली टिममा २० खेलाडी अहिले बन्द प्रशिक्षणमा रहेका छन्।
प्रतियोगिताका लागि यी खेलाडि मध्येबाट अन्तिम टिमको घोषणा हुनेछ।
एसिया कप
एसिया कप यसै वर्ष सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ। एसिया कपको यो १६ औं संस्करण एकदिवसीय फर्म्याट (५० ओभर) मा खेलाइँदैछ।
कुल ६ टिमको सहभागिता रहने प्रतियोगितामा एसियाबाट पाँच टेष्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै छनोट भइसकेका छन्। अब यस एसीसी प्रिमियर कपबाट विजेता एक टिम एसिया कपमा छनोट हुनेछ।
एसिया कपका लागि यी टिमलाई दुई समूहमा बाँडिएको छ। समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्। समूह बी मा भने भारत र पाकिस्तान छन्। अब छनोट भएर जाने एक टिमले यसै समूहमा भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्ने छ।
यस बाहेक एसीसी प्रिमियर कपका शिर्ष तीन टिमले यसै वर्ष हुने एसीसी इमर्जिङ टिम एसिया कपमा पनि प्रवेश पाउनेछन्। यस प्रतियोगतामा भने एसियाका पाँच टेष्ट खेल्ने राष्ट्रका ए टिमले खेल्नेछन्।
चैत ३०, २०७९ बिहीबार ०९:५८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।