ढाकामाथि रास्वपाको कारबाही, अब विन्दबासिनीलाई सांसद बनाउने
काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ।
बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो। यससँगै उनको सांसद पद जाने भएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो।
जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए।
बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रवि लामिछानेले बताए।
उनले अघि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ। सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ।’
पार्टीले उनको स्थानमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा मनोनित गर्ने प्रक्रिया अघि बढाएको छ।
चैत २९, २०७९ बुधबार १९:५७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।