आक्रमक बन्दै म्यानमारी सेना : शव संकलन गरिरहेको स्थानमा हवाई आक्रमण, १ सय जनाको मृत्यु

आक्रमक बन्दै म्यानमारी सेना : शव संकलन गरिरहेको स्थानमा हवाई आक्रमण, १ सय जनाको मृत्यु

एजेन्सी : म्यानमारको सेनाले गरेको हवाई हमलामा एक सयभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ। यो देशमा जारी गृहयुद्धको सबैभन्दा घातक सैन्य आक्रमण मानिन्छ।

आक्रमणमा बाँचेकाहरूले बीबीसीलाई बताएअनुसार अहिलेसम्म कम्तीमा ८० जनाको शव निकालिएको छ भने संख्या अझै बढ्ने अनुमान छ।

संयुक्त राष्ट्र संघले यस आक्रमणको निन्दा गरेको छ। म्यानमारको सेनाले उत्तर–पश्चिममा अवस्थित सागिङ क्षेत्रमा आक्रमण गरेको हो।

सन् २०२१ को फेब्रुअरीमा कूपछि सत्तामा आएको सेनाले आफ्ना विपक्षीहरूको आवाज दबाउन लगातार हवाई आक्रमण गरिरहेको छ।

‘हो, हामीले हवाई आक्रमण सुरु गरेका छौं,’ सैन्य सरकारका प्रवक्ता जनरल जाव मिन टुनले सरकारी टेलिभिजनमा भने।

पा जि गाई गाउँमा बसोबास गर्दै आएका जनताले सैनिक शासनविरुद्धको आन्दोलन शुरु गरेपछि आक्रमण गरिएको उनले बताए।

विद्रोही समूह पिपुल्स डिफेन्स फोर्स वा पीडीएसले म्यानमारका विभिन्न भागमा सेनाविरुद्ध सशस्त्र अभियान शुरू गरेको छ। धेरै सडकमा एम्बुस थापिएको छ। यस्तो अवस्थामा सेनाले विपक्षी आवाजलाई निशाना बनाउन हवाई हमला गरिरहेको छ।

एक गाउँलेले बीबीसीलाई बताएअनुसार सेनाको विमान स्थानीय समय अनुसार बिहान ७ बजेतिर गएको थियो र केही समुदायका नेताहरू बैठकका लागि भेला भएका हलमा सिधै बम खसालेको थियो।

‘२० मिनेटपछि, सेनाले गाउँमा अर्को आक्रमण सुरु गर्यो,’ प्रत्यक्षदर्शीले भनेका छन्, ‘विमान फेरि फर्कियो र शव सङ्कलन गरिरहेका मानिसहरूलाई आक्रमण गर्यो।’

चैत २९, २०७९ बुधबार १७:०३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।