उद्योगपति केशव महिन्द्राको ९९ वर्षको उमेरमा निधन
एजेन्सी : महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष तथा अटोमोबाइल उद्योगका दिग्गज उद्योगी केशव महिन्द्राको बुधबार बिहान निधन भएको छ।
उनको ९९ वर्षको उमेरमा मुम्बईस्थित आफ्नै घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले महिन्द्रा समूहको ४८ वर्ष नेतृत्व गरेका थिए।
उनको कार्यकालमा महिन्द्रा समूहले अटो क्षेत्रभन्दा बाहिर आईटी, घर जग्गा, वित्तीय सेवा र आतिथ्य जस्ता व्यवसायहरूमा विस्तार गरेको थियो।
केशव महिन्द्राको पालामा विलीज कर्पोरेशन, मित्सुबिसी, इन्टरनेशनल हार्भेस्टर, युनाइटेड टेक्नोलोजी, ब्रिटिस टेलिकम र अन्य धेरै अन्तर्राष्ट्रिय कम्पनीहरूसँग महिन्द्रा समूहको सम्झौता भएको थियो।
व्हार्टन र युनिभर्सिटी अफ पेन्सिल्भेनियामा अध्ययन गरेका केशव महिन्द्रा सन् १९४७ मा महिन्द्रा एण्ड महिन्द्रामा आवद्ध भए र १९६३ मा अध्यक्ष बने।
सन् २०१२ मा उनले महिन्द्रा ग्रुपको कमाण्ड आफ्ना भतिजा आनन्द महिन्द्रालाई दिएका थिए। तर, उनी कम्पनीको सञ्चालक समितिमा भने रहिरहे।
आनन्द महिन्द्रा त्यतिबेला कम्पनीका उपाध्यक्ष र प्रबन्ध निर्देशक थिए।
चैत २९, २०७९ बुधबार १६:५७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।