श्रीमती बलात्कार आरोपमा न्यायाधीश गिरी पक्राउ, आजै कपिलवस्तु पठाइयो

श्रीमती बलात्कार आरोपमा न्यायाधीश गिरी पक्राउ, आजै कपिलवस्तु पठाइयो

काठमाडौं : श्रीमती बलात्कारको आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।

‘वैवाहिक बलात्कार’को आरोपमा कान्छी श्रीमतीले गिरीविरुद्ध कपिलवस्तु प्रहरीमा उजुरी दिएपछि मंगलबार दिउँसो काठमाडौंको गोंगबुबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

श्रीमतीले आफूमाथि श्रीमान्बाट वैवाहिक बलात्कार भएको, आफूलाई बन्धक बनाएर कुटपिट, यौन शोषण र हिंसा गरेको आरोप लगाउँदै कपिलवस्तु प्रहरीमा जाहेरी दिएकी थिइन्।

उनलाई आजै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु पठाइएको छ।

उनीविरुद्धको जाहेरी सुरुमा प्रहरीले लिन मानेको थिएन। न्यायाधीशमाथि नै बलात्कार जस्तो संगीन आरोपमा जाहेरी परेपछि केही अघि मात्रै गिरीको न्याय परिषदमा सरुवा भएको थियो।

त्यसपछि जाहेरीको अनुसन्धान अघि बढाउने क्रममा जिल्ला अदालत कपिलवस्तुले चैत २० मा गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा उनी सम्पर्कबिहीन बनेका थिए।

त्यसपछि गिरीको खोजबिनमा कपिलवस्तु प्रहरीले काठमाडौं प्रहरीको सहयोग मागेको थियो। 

चैत २८, २०७९ मंगलबार २०:५९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।